जापानमा शिरीषको फूल

निर्माण सञ्चार,

काठमाडौं । नेपाली कथानक चलचित्र शिरीषको फूल रिलिज समारोहमा कलाकारहरु चिनाउँदै मध्य टोकियोको सिबुयास्थित युरो लाइफ हलमा निर्देशक डा.तोशिआकी इतोह ।

दोस्रो विश्वयुद्धको बर्मा मोर्चामा नेपालीले देखाएको बहादुरी र निराश सिपाहीको असफल प्रेमकथा समेटिएको फिल्म ‘शिरीषको फूल’ यही गएको शनिबारदेखि जापानमा भव्यरुपमा रिलिज समारोह भएको छ ।

मध्य टोकियोको शिवुयास्थित युरो लाइफ हलमा केही सातादेखि नियमितरुपमा प्रदर्शन हुनेगरी यस फिल्मको रिलिज गरिएको हो । यो पहिलो पटक हो, जापानको पब्लिक थिएटरमा नेपाली फिल्म रिलिज भएको ।

पारिजातको चर्चित उपन्यासमाथि बनेको यो फिल्म हेर्न पहिलो दिन जापानी दर्शकको भीड थियो। शनिबार बिदाको दिन भएकाले पनि यस फिल्म हेर्नका लागि टिकट नपाएर अर्काे शोका लागि पर्खनुपरेको थियो ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा हामी जुन पीडा भोग्यौं, त्यस्तै पीडा अहिले जापानीहरुले भूकम्पको पीडा भोगिरहेका छन् ।

नेपाली चलचित्र शिरीषको फूलको शोको उद्घाटन गर्दै नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीले भने, ‘यस्तो अवस्थामा यो फिल्म साझा संवेदना साटासाट गर्ने माध्यम पनि बनेको छ।’

हालै जापानको भूकम्प प्रभावित क्षेत्रमा नेपालीहरूको पहलमा सयौं जापानीलाई नेपाली खानेकुरा पुर्‍याएको सन्दर्भ समेत जोड्दै राजभण्डारीले ‘शिरीषको फूल’ ले सांस्कृतिक रूपमा दुई समाजलाई जोड्न सघाउने दाबी गरेका छन् ।

जापानी निर्देशक डा.तोशिआकी इतोहले सन् २०१२ मा यो फिल्म बनाएका थिए। रिलिज समारोहमा निर्देशक डा.तोशिआकीले वर्षौं लगाएर पारिजातको कृति अनुसन्धान गरेपछि मात्रै फिल्म निर्माण गरेको सुनाएका छन्।

जापानको पब्लिक हलमा नेपाली फिल्म रिलिजको परम्परा सुरु गर्न पाउँदा आफूलाई गौरव लागेको बताउँदै निर्देशक तोशिआकीले यसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजारीकरणलाई पनि सघाउने दाबी गरेका छन्।

रिलिज समारोहमा सुयोगवीरको चरित्र गर्ने गणेश लामा, छायांकन निर्देशक गौरीशंकर धुँजु, छायाँकार नारायण जिसी, कलाकार शीतल श्रेष्ठ, नारायण रुपाखेती, मेकअप आर्टिस्ट विश्वराम केसी सहितको टोली नेपाली राष्ट्रिय पोसाक दौरा–सुरुवालमा प्रस्तुत भएको थियो।

नेपाली र जापानी समाज जोड्ने फिल्म निर्माणको परम्परा दुई दशकअघि आफू अभिनीत फिल्म ‘मितेरी गाउँ’ बाट सुरु भएको सन्दर्भ जोड्दै अभिनेता लामाले ‘शिरीषको फूल’ को जापान रिलिजले नयाँ सम्भावनाको ढोका खोलेको दाबी गरेका छन्। जापानी पत्रपत्रिकाहरूले पनि नेपाली फिल्म रिलिजको सन्दर्भलाई महत्त्वका साथ स्थान दिएका छन्।

फिल्म रिलिजको मुख्य संयोजन भने हातेमालो सोसाइटीले गरेको छ। फिल्म प्रदर्शनीको आम्दानी नेपाली भूकम्प पीडितको सहयोगार्थ प्रदान गरिने सोसाइटीका अध्यक्ष सुरज प्रधानले जनाएको छ।

फिल्मका सकम्बरीको चरित्र शर्मिला गुरुङले निर्वाह गरेकी छन् भने बसुन्धरा भुसाल, सौजन्य सुब्बा, जगत राजथला लगायतले पनि अभिनय गरेका छन्। जापानविरुद्ध बर्माको मोर्चामा लडेर आएका दोस्रो विश्वयुद्धको भगौडा सिपाहीको प्रेमकथालाई निर्देशक तोशिआकीले काठमाडौं उपत्यकाको नेवारी सांस्कृतिक पृष्ठभूमि दिएका छन्।

‘कथावस्तुमात्र नभई सांस्कृतिक हिसाबले पनि यो फिल्म सशक्त रहेछ,’ फिल्म हेरिसकेपछि नेपालविज्ञ हाराहितो नोजुले भने, ‘जापानीहरूका लागि यो निकै फरक स्वादको सावित हुनेछ।’ नोजु रिलिज समारोहमा पारिजातले २०४२ मा आफूलाई हस्ताक्षर गरेर दिएको उपन्यास ‘शिरीषको फूल’ को प्रति लिएरै आएका थिए।

प्रकाशितः वैशाख १३, २०७३

प्रतिक्रिया

Related