सहकारीको सहयोगमा : उदायो त्रिभिगना

निर्माण सञ्चार,

काठमाडौं । विगत २५ वर्षदेखि ग्रिल व्यवसाय सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक तौंथलीका हिरालाल श्रेष्ठ अहिले ग्रिल व्यवसायमा मात्रै सीमित छैनन् । व्यवसायिक दृष्टिकोणले हार्डवेयर र ग्रिल व्यवसाय एकआपसमा परिपुरक भएकाले अन्य व्यवसायीबाट ग्रिलका लागि आवश्यक सामग्री ल्याउनुपथ्र्याे । तर, अहिले अवस्था फेरिएको छ । श्रेष्ठ लगायत उनीजस्तै नयाँ सोच भएका व्यवसायी साथीहरु मिली त्रिभिगना हार्डवेयर सञ्चालनमा ल्याए । उक्त हार्डवेयरका श्रेष्ठ अध्यक्ष समेत हुन् । अध्यक्ष श्रेष्ठसँग निर्माण सञ्चारले उक्त त्रिभिगना हार्डवेयरका सन्दर्भमा गरेको विशेष कुराकानीको सम्पादित अंश :

त्रिभिगना हार्डवेयरको अवधारणा कसरी आयो ?

हामी ग्रील व्यवसायी साथीहरु एक आपसमा आफ्नो आफ्नो सामान्य ग्रील व्यवसाय गरी रहेका थियौं । तिनै व्यवसायी साथीहरु मिली २०७० सालमा त्रिभिगना हार्डवेयर सञ्चालनमा ल्यायौं । ४२ शेयर सदस्य रहेको हाम्रो टिमलाई सहकारीले ठूलो सहयोग गर्यो ।

त्रिभिगना बचत तथा ऋण सहकारी संस्था, देवी दर्शन बचत तथा ऋण सहकारी तथा रुपिज बचत तथा ऋण सहकारी संस्थाले हाम्रो व्यवसाय स्थापना गर्न ठूलो गुण लगाए । त्यसमा व्यवसायीको सहयोगलाई भूल्न सकिँदैन ।

त्रिभिगना हार्डवेयर स्थापना भएपछि व्यवसायीले कस्ता सेवा सुविधा पाए ?

व्यवसायीकै हक र हितका लागि संगठित हुँदै त्रिभिगना स्थापना गर्यौं । आफ्नै संस्था स्थापना भएपछि व्यवसायीहरु ठगिने, महँगो रेट तिर्नुपर्ने, टाढा–टाढाबाट ग्रीलका लागि आवश्यक सामाग्री ल्याउनुपर्ने झन्झटबाट मुक्त भए ।

हामीले व्यवसायलाई चुस्त दुरुस्त एवं पारदर्शी ढंगले काम गरेको हुँदा सफल पनि भयौं । अझै ठूलो सफलता त त्रिभिगना उद्घाटन भएकै दिन हार्डवेयर बजारमा प्रतिकिलो दुई रुपैयाँले फलामको मूल्य घटेको थियो । घट्नुको कारण जस्तो भएपनि यसलाई हामीले सफलताकै रुपमा लियौं ।

हाम्रो हार्डवेयर स्थापनाले बजारमा रहेको एकाधिकारलाई तोड्न सहयोग पनि गर्यो । व्यवसायीले जुनसुकै ठाउँबाट पनि बजार भाउ बुझी रेटमा निर्धक्क भई ग्रील सामाग्रीका लागि आवश्यक सामाग्री लिन सक्छन् ।

तीन वर्षे व्यापारिक यात्रा कस्तो रह्यो ?

कम्तीमा आफ्नो खुट्टामा त्रिभिगना हार्डवेयर उभिएको छ । व्यवसायिक घाटा वा नाफा त आ–आफ्नो ठाउँमा छ । व्यवसायमा संलग्न साथीहरुको बलियो सहयोगले हामी आत्म निर्भर बन्दै गएका छौं । सुख–दुःख बुझ्ने मौका पनि पायौं ।

ग्रील व्यवसायीले हामीबाट सेवा नलिएपनि दर–रेटका बारे जानकारी पाउने हुँदा ठगिनबाट जोगायौं । ‘जे होस् गरे सफल भइन्छ’ भन्ने उदाहरण तीन वर्षे यात्रा अवधिमा हामीले महसुस गर्यौं ।

व्यवसाय सञ्चालन गर्दै गर्दा कस्ता कस्ता समस्या एवं चुनौती पार गर्नुभयो ?

हरेक व्यवसायमा समस्या त रहन्छ नै । हार्डवेयर आफैमा गह्रुँगो हुने भएकाले लोड अनलोडका लागि समस्या रहन्छ । काम गर्ने ज्यामी भनेको बेला पाइँदैन । बजारमा उधारो फस्ने अर्को समस्या हो । त्यसको व्यवस्थापन बलियो भयो भने सहज ढङ्गले यस्ता आन्तरिक समस्या समाधान गर्न सकिन्छ ।

तर देशमा हुने बन्द हड्ताल तथा राजनीतिक अवस्थाले पार्ने समस्या भने गम्भीर हो । केही गर्छुु भन्ने हामी जस्ता व्यवसायीलाई मर्नु न बाँच्नु बनाउँछ । गुणस्तरीय सेवा दिन त्रिभिगना हार्डवेयर कतिको सक्षम छ ? सर्वप्रथम हामी डिलर हौं, हामीलाई कम्पनीले जस्तो सामान दिन्छ, त्यस्तै बेच्ने हो ।

बजारमा चलेका ब्रान्डेड कम्पनीहरु नै उपभोक्ताका रोजाइँमा पर्छन् । गुणस्तरका बारेमा हामीले जाने–बुझेका उपभोक्तालाई सम्झाउँछौं । उपभोक्ता आफैं पनि सचेत रहनुपर्छ । हामी सेवा र गुणस्तरमा कुनै सम्झौता गर्दैनौँ ।

टिमवर्कमा काम गर्दा सफल हुनुभएको छ । यस पेशा अँगाल्न चाहनेलाई कस्तो सल्लाह सुझाव दिन चाहनुहुन्छ ?

हो, हामी सफल छौं, पारदर्शी छौं, एकआपसमा सहकार्य गर्छाैं, खासमा सहकार्य भनेकै भित्री कुरा देखाउने हो, हामी त्यसमा सफल भयौं ।

जुनसुकै पेशा गर्न पनि हरेक व्यक्ति स्वतन्त्र हुन्छ, तर उसमा धैर्यता, निरन्तरता एवं मेहनत त चाहिन्छ नै । आफ्नो पुँजी अनुसार लगानी गरी यस पेशा अँगाल्ने हो भने सफल अवश्य भइन्छ ।

प्रस्तुति : ऋषि खतिवडा

प्रकाशित : २२ वैशाख, ०७३

प्रतिक्रिया

Related