बाढी पीडितको लागि धुर्मुस सुन्तलीले बनाउँदै अर्काे नयाँ ‘सन्तपुर बस्ती’, ६ करोड लाग्ने अनुमान

चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर बस्ती’ निर्माण गर्ने घोषणा
निर्माण सञ्चार, काठमाडौं । भूकम्पपछि एकीकृत बस्ती बनाउँदै आएको कलाकार जोडी धुर्मुस सुन्तली फाउन्डेसनले तराईका बाढी पीडितका लागि अर्काे नयाँ बस्ती बनाउने घोषणा गरेको छ ।

तराईमा सफलतापूर्वक मुसहर बस्ती बनाइसकेको फाउन्डेसनले बाढी पछि फेरि तराईमै नयाँ बस्ती बनाउने संकल्प लिएको हो । फाउन्डेसनको आधिकारिक साइटमा सोबारे समाचार राख्दै फाउन्डेसनले सहयोगका लागि समेत अपिल गरेको छ ।

कुन ठाउँमा ?

स्थालगत अध्ययन र अवलोकन पछि फाउन्डेसनले रौतहट जिल्ला, चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुर दलित बस्तीमा ‘एकीकृत नमूना सन्तपुर बस्ती’ निर्माण गर्ने घोषणा गरेको हो ।

सीताराम कट्टेल उर्फ धुर्मुसले बाढी पिडितका लागि उद्धार तथा राहत वितरणमा सक्रिय भइरहँदा तराईको समस्यालाई नजिकबाट नियालेको अनुभव पछि रौतहटमा बाढी पीडितका लागि एकीकृत नमूना बस्ती बनाउने निधोमा पुगेका हुन् ।

कति जनाका लागि ?

सोही अवधिमा उनले बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेका थिए । सन्तपुर दलित बस्तीमा अहिले ४५ परिवारका २८० जनाको संख्यामा मानिसहरु बसोवास गरिरहेका छन्, बाढीका कारण यतिबेला जुन बस्ती बस्तीविहीन सरह बनेको छ ।

जहाँ, माझी, दुसाद, लोहार, मुसहर र हजाम जातिका जनताहरुको बसोवास छ ।

कस्तो छ अवस्था ?

यहाँ वर्षौंदेखि गरिबीमा बस्न बाध्य नेपालीहरु छन् । जहाँ सरकारी विकासे कार्यक्रमहरु पुग्ने गरेका छैनन् । आफ्नो आधिकारिक साइटमा लेख्तै फाउन्डेसनले भनेको छ, ‘बस्तीका अधिंकाश बालबालिकाहरुलाई स्कुल नपठाउने उनिहरु लगभग सबै जसो अशिक्षित र बेरोजगार छन् ।

त्यतिमात्रै होइन् बस्तीमा न कसैको बस्न योग्य घर छ न खाने टुङ्गो नै । गरिबीको चपेटा, त्यसमाथि झनै बाढीले भएको घर पनि भत्किएपछि अहिले उनीहरु झनै ठुलो पीडाको स्थितिमा पुगेका छन् ।’

कस्तो बन्ने छ बस्ती ?

फाउन्डेसनले उक्त क्षेत्रको अध्ययन र त्यहाँ बसोवास गर्ने मानिसहरुको अवस्थालाई देखेपछि त्यही बस्ती निर्माण गर्ने योजना बनाएको हो ।

उक्त एकीकृत नमुना सन्तपुर बस्तीमा सुरक्षित, आधुनिक, भूकम्प प्रतिरोधी र नेपाल सरकारको मापदण्ड अनुसार २ तलाको ४ वटा कोठा हुने गरी १ शौचालय, धारा र बगैंचा समेत निर्माण गर्ने जनाएको छ ।

बस्तीमा आकर्षक गेट बन्नेछ भने पर्खालले घेरिनेछ ।

बस्ती भित्र ४५ वटा आवासिय घर, १ मन्दिर, सार्बजनिक धारा र शौचालयहरु, सामुदायिक भवन, पाहुना घर र पुरै बस्ती अवलोकन गर्ने भ्यु–टावरको समेतको आकर्षक र सुविधासम्पन्न बस्ती निर्माण हुनेछ ।

लागत कति ?

फाउन्डेसनका परियोजना व्यवस्थापक अर्जुन न्यौपानेले बस्ती अनुमानित ५ करोड ७५ लाखको लागतमा निर्माण हुने बताएका छन् ।

यस्तो छ भिडियो—

 

...

शुक्रबार, ३० भदौ, ०७४

 

 

 

प्रतिक्रिया

Related