आयल निगमका प्रमुख खड्का बर्खास्त, चार दशक लामो सरकारी जागिर समाप्त

सडक विभागमा कार्यरत छँदै अनियमितताका विभिन्न काण्डमा मुछिएका
निर्माण सञ्चार, काठमाडौं | सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेको छ ।

पेट्रोलियम भण्डारणका लागि निगमले ४ स्थानमा खरिद गरेको जग्गामा चलखेल भएको बताउँदै चौतर्फी आलोचना भएपछि सरकारले उनलाई बर्खास्त गरेको हो ।

त्यसका लागि आपूर्तिमन्त्री शिवकुमार मण्डलले ‘क्याबिनेट’ मा प्रस्ताव लगेको थिए ।

पाँच वटा संसदीय समितिको निष्कर्ष

पेट्रोलियम भण्डारणका लागि निगमले खरिद गरिएको जग्गामा अनियमितता भएको समाचार सार्वजनिक भएको २ महिनापछि मात्रै सरकारले बर्खास्तको निर्णय लिएको हो ।

यसबारेका समाचार गत साउन पहिलो साता सार्वजनिक भएका थिए । संसदका ५ वटा समितिले निगमले जग्गा खरिद गर्दा कराडौंको चलखेल भएको निष्कर्ष निकालेका थिए ।

यता लेखा समितिले जग्गा खरिदमा सीधै घोटाला भएको दावी गर्दै अख्तियारलाई छानविनको जिम्मा दिएको थियो ।

यसैगरी उद्योग वाणिज्य समितिले जग्गा खरिद गरिएका स्थानको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।

उक्त समितिले निगमले चलनचल्तीको मूल्यभन्दा ४ गुणसम्म बढी मूल्य तिरेर भ्रष्टचार गरिएको दावी गरेको छ ।

त्यस्तै सुशासन समितिले खड्कालाई तत्काल निलम्बन गर्न पत्राचारै गरेको थियो भने विधायन समितिले जग्गा खरिदमा गम्भीर कानूनी त्रुटी औंल्याएको थियो ।

सामाप्त भयो चार दशक लामो सरकारी जागिर

बर्खास्त भएसँगै खड्काको भण्डै ४ दशक लामो सरकारी जागिर पनि समाप्त भएको छ । खड्का साउन ०३६ सालमा ओभरसियरका रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए ।

त्यसैगरी २०५१ सालमा स्थानीय विकास मन्त्रालयमा इन्जिनियर, ०५२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष प्रहरी हुँदै खड्का ०६१ मा सडक विभागमा सिनियर डिभिजनल इन्जिनियर बनेका थिए ।

जब उनी सडक विभागमा आए त्यसपछि उनीको भ्रष्ट प्रवृत्तिले उचाइ पायो ।

०६७ सालमा खड्का डिभिजन सडक काठमाडौंको प्रमुख बनेका थिए । लगभग ३५ वर्ष सरकारी कर्मचारी रहेका खड्कालाई १४ माघ ०७१ मा सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

उनले तत्कालीन वाणिज्य तथा आपूर्ति मन्त्री सुनीलबहादुर थापाको प्रस्तावमा नियुक्ती पाएका थिए ।

सडक विभागमा कार्यरत छँदै अनियमितताका विभिन्न काण्डमा मुछिएका खड्का आयल निगमको प्रमुख भएपछि आफ्नो कार्यशैली र अनियमितताका विभिन्न काण्डमा सधैंजसो चर्चामा परिरहे ।

चलखेल नै चलखेल

खड्का निगम प्रमुखको पद सम्हालेसँगै विभिन्न अनियमिततामा मुछिन थालेका हुन् ।

उनीमाथि नाकाबन्दीको समयमा कालोबजारी गरेर तेल बिक्री गरेको, नयाँ पेट्रोल पम्प खोल्न गैरकानूनी अनुमति दिएको, नयाँ ग्यास बुलेट सञ्चालनको अनुमति दिँदा घोटाला गरेको, पेट्रोलियम ट्यांकर खरिद अनुमति दिँदा अनियमितता गरेकोलगायत आरोप लाग्दै आएको छ ।

यी सबै प्रकरणमा उनीमाथि कारवाही हुन सकेको छैन ।

त्यस्तै नाकाबन्दीको समयमा दुई वर्षअघि तत्कालिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले इन्धन तस्करीमा संलग्न रहेको बताउँदै मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो ।

तर, स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिले खड्कालाई १९ मंसिर ०७२ मा कारवाही सिफारिस गरेको थियो ।

अख्तियारले उनीसँग त्यसबेला बयान नलिएको पनि होइन । अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीले भने खड्कालाई जोगाएका थिए ।

अख्तियारले झापा, सर्लाही, चितवन र भैरहवामा निगमले खरिद गरिएको जग्गामा अनियमितता भएको बताउँदै हाल छानविन गरिरहेको छ ।

यो पनि पढौं,
गोपाल खड्काः अनियमितताका पर्याय

...

सोमबार, २ असोज, ०७४ 

प्रतिक्रिया

Related