एनआरएनए महासचिवमा अर्जुनकुमार श्रेष्ठको उम्मेदवारी घोषणा !

नयाँ अठोटका साथ विश्वसञ्जालमा नेपाललाई उठाउने यस्तो छ प्रण
निर्माण सञ्चार, प्रवास । गैरआवासीय नेपाली संघका लागि नयाँ नेतृत्व छान्नेबारे चर्चा चुलिदै गर्दा महासचिव पदमा अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

हाल संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् सचिवका रुपमा कार्यरत श्रेष्ठ आफूले सो पदको जिम्मेवारी पाएमा विश्व बजार सञ्जालमा नेपाललाई नयाँ ढंगले जोड्ने योजना रहेको समेत दाबी गरेका छन् ।

१८ सेप्टेम्बर, २०१७ गते प्रेस विज्ञप्ति नै जारी गर्दै श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनएमा संलग्न अघिल्लो पुस्ता, आफ्नो समकालीन तथा आफ्नो दोस्रो पुस्ताका दाजु भाइ दिदी बहिनीका नाउँमा सम्बोधन गर्दै सचिव श्रेष्ठले आफूले किन महासचिव पदको दाबी गरेको खुलासा गरेका छन् ।

यस्तो छ उनको प्रेस विज्ञप्ति

गैरआवासीय नेपाली संघका अग्रज, गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना भएको डेढ दशक पुग्न लागेको छ ।

विदेशिएका नेपालीलाई संगठित गर्दै अभियानकोरुपमा स्थापित भएको एनआरएनएले हाल ७७ देशमा सांगठनिक उपस्थिति जनाएको छ ।

आठौं अधिवेशनको संघारमा रहँदै गर्दा म गैरआवासीय नेपाली अभियानका अभियन्ताहरुलाई स्मरण गर्न चाहन्छु । उहाँहरुको सृजनशील प्रयासले एनआरएनए अभियान मातृभूमि नेपालको सामाजिक अंग बनेको छ ।

नेपालमा लगानीहरु थप्दै जाने, परोपकारी कार्य गर्ने, विदेशमा सिकेको ज्ञान, सीप र धनलाई मातृभूमिमा खर्च गर्न एनआरएनए एउटा फोरमको स्थापित भएको छ ।

डेढ दशक लामो अभियानले आरोह अवरोह पार गरेको छ । तर, अझै पनि एनआरएनए अभियानका आशालाई पूरा गर्न धेरै कार्यभार र जिम्मेवारी हामीसँग रहेका छन् ।

गैरआवासीय नेपाली दिदीबहिनी दाजुभाइ तथा पत्रकार मित्रहरु, स्वदेश तथा विदेशमा रहेका आम नेपालीको आशा र भरोसाको केन्द्र रहेको एनआरएनएलाई अझै उचाईमा पुर्‍याउन धेरै काम गर्न सम्भव छ र सकिन्छ पनि ।

एनआरएनएको संस्थागत विकास, सांगठनिक सुधारमा मेरो अनुभव र सिपलाई उपयोग गर्न काठमाडौंमा १४–१७ अक्टूबर मा हुने आठौं अन्तर्राष्ट्रिय सम्मेलनमा महासचिव पदमा उम्मेद्वारी दिएको छु ।

संस्थागत सुधार र एनआरएनलाई साँच्चिकै एनआरएन बनाउने अभियानमा तपाईंहरुको साथ सहयोग र सदीक्षा रहने अपेक्षा गर्दछु ।

अर्जुनकुमार श्रेष्ठ

महासचिव पदको उम्मेदवार

हाल: सचिव

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्

मिति: १८ सेप्टेम्बर, २०१७

 

 

...

मंगलबार, ३ असोज, २०७४

 

प्रतिक्रिया

Related