अब पोखराबासी खतरामुक्तः पोखरा महानगरपालिकाद्वारा दशैं अगाडि नै खाल्डो पुरिसक्ने अभियान सुरु

कहिंकतै खाल्डाखुल्डी भएर खतरा उत्पन्न भएमा तुरुन्तै महानगरपालिकालाई खबर गर्न आग्रह
निर्माण सञ्चार, काठमाडौं | पोखरा लेखनाथ महानगरपालिकाले पोखरा सहराका मूख्य मूख्य सडकमा दशैं अगाडि नै खाल्डो पुरिसक्ने अभियान सञ्चालन गरिरहेको छ ।

अब खाल्डोकै कारण दुर्घटनामा पर्नसक्ने खतरा समाधान हुनेभएको छ ।

खाल्डो पुर्न परेमा वडा कार्यालयमार्फत् महानगरपालिकालाई निवेदन दिनुपर्ने हुन्छ ।

महानगरपालिकाका योजना महाशाखा प्रमुख तथा बरिष्ठ इञ्जिनियर शारदामोहन काफ्लेका अनुसार मौखिक रुपमा आएको खबरलाई पनि सम्बोधन गर्ने गरिएको भएपनि लिखित निवेदन आउँदा काम गर्न सजिलो र छिटो हुन्छ ।

पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीको निर्देशनमा दशैंको समयमा कसैले पनि खाल्डोका कारण दुर्घटनामा पर्न नपरोस भनि सो अभियान सुरु गरिएको हो ।

चुनावी घोषणा पत्रमा मेयर जिसीले महानगरका सडक भत्किएको खबर आएको २४ घण्टाभित्र खाल्डो पुरिसक्ने उल्लेख गरेका थिए ।

इन्जिनियर काफ्लेका अनुसार पहिलो चरणमा महानगरका मूख्य क्षेत्र महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, विरौटा, राष्ट्र वैंकचोक, लेकसाइड, सृजनाचोक, सिमलचौर, मालेपाटन, सिद्धार्थचोक, प्रस्याङ, भीमसेनटोल, विन्ध्याबासिनी, हरिचोक, बगर, नदीपुर, पालिखेचोक, रानीपौवा, हस्पिटलचोक, अमरसिंहचोक, रामबजारलगायतका ठाउँहरुका अधिकांश खाल्डाखुल्डी पुर्न थालिएको छ ।

त्यसैगरी लेखनाथको बुढीबजार, अघौंचोक, तालचोक, भण्डारढीक, सिसुवा, बेगनासलगायतका ठाउँहरुमा पनि खाल्डो पुर्ने काम भइरहेको काफ्लले जानकारी दिए ।

प्रायजसो ठाउँहरुमा खाल्डाखुल्डी पुरिसकिएको छ भने बाँकी भएका ठाउँमा पुरिने काम भइरहेको काफ्लेले बताए ।

महानगरपालिकाले भने कहिंकतै खाल्डाखुल्डी भई समस्या वा खतरा उत्पन्न भएमा तुरुन्तै महानगरपालिकालाई खबर गर्न आग्रह गरेको छ ।

जोखिमपूर्ण खल्डाखुल्डीलाइ पहिलो प्राथमिकतामा राखि जतिसक्दो चाँडो पुर्ने काम भइरहेको काफ्लेले जानकारी दिए ।

स्थानअनुसार फरक–फरक तरिकाले खाल्डो पुर्ने काम भइरहेको छ । समथर पिचमा परेको खाल्डोमा गिट्टी बालुवा हाल्नुका साथै अलकत्र प्रयोग गरेर पुनः पिच गरिन्छ भने केही भिरालो ठाउँहरुमा जहाँ बारम्बार पानीले भत्काउने ठाउँमा रड तथा सिमेन्ट प्रयोग गरेर ढलान गरिएको छ ।

महानगरले पुरिसकेका सडकका खाल्डो खानेपानी संस्थानले भने सोही ठाउँमा खाल्डो खनेर त्यत्किकै छाडेको भेटिएको छ ।

यसकारण स्थानिय र सो बाटो भएर आवतजावत गर्ने हजारौं सवारीचालक तथा यात्रुले खतरा बेहोर्नपरेको छ ।

यसअघि पनि खानेपानि संस्थानले बनाइसकेका सडक खनेर खानेपानीको पाइप मर्मत गर्ने तर खाल्डो नपुरि अलपत्र छाडेको छ ।

यता महानगरपालिकाले भने पुरिसकेका खाल्डो भत्काउनेलाई सडक मर्मतसम्भारका लागि आवश्यक खर्च तिराउने भएको छ ।

इन्जिनियर काफ्लेका अनुसार मेयर जिसीको निर्देशनमा भत्काइएको सडकमा लाग्ने आवश्यक खर्च महानगरपालिकामा असुल गर्ने व्यवस्था लागू गर्न लागिएको छ ।

त्यस्तै महानगरपालिकाले मेयर जिसीको घोषणअनुरुप ‘र्यापिड रेस्पोन्स टीम’ नै बनाउने तयारी पनि तिव्र पारेको छ ।

जसअन्तर्गत ओभरसियरको कमाण्डमा २ जना सुपरभाइजर र २ जना फिल्डमा खटिने कर्मचारी राखेर २४ घण्टाभित्रै खाल्डो पुर्ने र पिच गर्नेगरी ‘र्‍यापिड रेस्पोन्स टीम’ बनाउने तयारी अन्तिम चरणमा पुगेको काफ्लेले बताए ।

यसका लागी बजेटसमेत बिनियोजन भइसकेको छ ।

उनले भने,‘र्‍यापिड रेस्पोन्स टीम’का लागि महानगरपालिकाको रातो किताबमै बजेट बिनियोजन भइसकेको छ, रातो किताब छापाखानामा छाप्ने काम भइरहेकाले यो आउने वित्तिकै काम सुरु हुन्छ ।’

काफ्लेका अनुसार रातो किताबमा खाल्डो पुर्नका लागि आवश्यक खर्च गर्न सकिने उल्लेख भएको छ ।

...

मंगलबार, ३ असोज, ०७४

प्रतिक्रिया

Related