मासु कसरी बनाउने स्वास्थ्य वर्धक र स्वादिलो ?

यसरी पकाउनुस् दसैंमा मासु-मासुका स्वादिला परिकारका लागि रेसिपी
निर्माण सञ्चार, काठमाडौं । नेपालीको रमाइलो पर्व दशैं घर घरमा छिरिसकेको छ । दशैं नवदुर्गाको पूजा गर्ने मात्र नभई यसका अनेक सांस्कृतिक अनि सामाजिक महत्व पनि छन्।

काम व्यवसायले टाढा रहेका सदस्य घर फिर्ने पर्व पनि हो दसैं ।

यो ठूलाबडाबाट टीका आशिर्वाद थाप्ने पर्व पनि हो । नजिकदेखि टाढाका आफन्त भेटघाट गरी रमाइलो गर्ने अवसर पनि दसैं हो ।

यत्ति मात्र नभई नयाँ लगाउने र मीठो खाने पर्वको रुपमा समेत परिचित छ दसैं। दसैंका बेला सबै परिवार आफन्त जम्मा भई मिठा खानेकुरा खाने त चलन नै स्थापित ।

दसैंमा देवीको बलिपूजा समेत हुने भएकोले दसैंको खानामा मासु अनिवार्यजस्तै समावेश हुन्छ । दसैंमा एकै तरिकाले बनाइएको मासु खानुभन्दा मासुको फरक फरक परिकार बनाएर खाएमा दसैं अझ स्वादिलो हुनेछ ।

सेफ प्रेम लीलाले घरमा नै सजिलै बनाउन सकिने केही मासुका स्वादिला परिकारका लागि रेसिपी बनाएका छन् ।

चिकेन बटर मसलाका लागि चाहिने सामग्री

मासु – चिकेन ब्रेस्ट ४ वटा

म्यारिनेड – एकरएक चम्चा अदुवा अनि लसुनको पेस्ट, सुकेका मेथीको पात, नून, गरम मसला मिलाइएको

ग्रेभी – २/२ चम्चा बटर, तेल, लसुनअदुवाको पेस्ट, खुर्सानीको धुलो र फ्रेस क्रिम, ४ चम्चा काजु, १/१ चम्चा गरम मसला, नुन र तन्दुरी मसला, ५ देखि ६ वटा काटिएको टमेटो ।

बनाउने विधि

मासुलाई धोएर पानी तर्काउने । अघि तयार पारिएको म्यारिनेड हालेर मोल्ने अनि २० मिनेट छोडिदिने । त्यसपछि केहीबेर चिकेनलाई केही बेर बेक गर्ने । चिकेनलाई टुक्रा पारेर राख्ने ।

प्यानमा बटर र तेल तताएर अदुवा लसुनको पेस्ट फुराउने । काटिएको गोलभेंडा र खुर्सानीको धुलो हालेर बाक्लो ग्रेभी नबनेसम्म पकाउने । पिँधेर राखिएको मरमसला हालेर मध्यम तापक्रममा केहीबेर पकाउने ।

त्यसपछि रस बनाउन एक कप पानी थप्ने ।

काटेर राखिएको चिकेन र नूनलाई ग्रेभीमा हालेर मज्जाले चलाउने । केहीबेर छोपेर पकाउने । फ्रेस क्रिम र गरम मसला हालेर चलाउने ।

फ्रेस क्रिम र धनियाको पातले सजाएर सर्भ गर्न सकिन्छ ।

मटन छोइला बनाउन चाहिने सामग्री

खसीको मासु – ३०० ग्राम, गोलभेंडा – १०० ग्रा., टुक्रा काटिएको लसुन – १० ग्रा., टुक्रा काटिएको अदुवा – १० ग्रा., काटिएको हरियो खुर्सानी – १० ग्रा.,सुकेको रातो खुर्सानी – ४–५ वटा,

भुटेको जिराको धुलो – ५ ग्रा., बेसार – ५ ग्रा।, धनियाँको पात – ५ ग्रा., कागतीको रस –१० ग्रा., हरियो लसुनको पात – ५ ग्रा. र तोरीको तेल – १० मिलि.

बनाउने विधि

मासुलाई नून राखेर पानीमा उमाल्ने । काटेर राखिएको गोलभेंडा र खुर्सानीलाई थोरै तेलमा भुट्ने । रातो खुर्सानीको धुलो मिलाएर पेस्ट बनाउने ।

उसिनेको मासुलाई ठीक्कको टुक्रामा काट्ने र ग्रिल वा प्यानमा रोस्ट गर्ने । ग्रिल गरिएको मासुमा अघि बनाइएको पेस्ट मिसाउने ।

काटिएको हरियो खुर्सानी, गोलभेंडा, हरियो धनियाँको टुक्रा, जिराको धुलो, लसुनको पात हालेर मिसाउने । स्वाद अनुुसार नुन राखेर राम्रोसँग चलाउने ।

अर्को प्यानमा तोरीको तेल तताउने । तेल राम्रोसँग तातिसकेपछि आगो निभाउने । तेलमा मासु हाल्ने, त्यसपछि बेसार र कागतीको रस हालेर राम्रोसँग मिक्स गरेपछि मटन छोइला तयार हुन्छ ।

तयार भएको छोइलालाई अदुवा र हरियो लसुनको टुक्राले गार्निस गरेर सर्भ गर्ने । यो चार जनाका लागि पुग्छ ।

मटन रोगन जोस बनाउन चाहिने सामग्री

तेल – ५ चम्चा, दही – १ कप, प्याज काटिएका – २ वटा, अदुवाको पेस्ट – २ चम्चा, लसुनको पेस्ट – २ चम्चा, कस्मिरी रातो खुर्सानीको धुलो – १/५ चम्चा, गरम मसला पाउडर – १ चम्चा, अदुवा पाउडर – १ चम्चा

धनियाँ पाउडर – २ चम्चा, बेसार – आधा चम्चा, जिरा पाउडर – १ चम्चा, मरिच – १ चम्चा, अलैंची – ८ वटा, दालचिनी – ५ स्टिक, केही टुक्रा जाइपत्री, ह्वाइट क्रिम – २ चम्चा, नुन, सजाउन धनियाँको पात ।

बनाउने विधि

मटनलाई दहीमा अलिकति नुन मोलेर राख्ने । प्यानमा तेल तताएर होल गरम मसला हाल्ने । केहीबेर गरममसला फुराएपछि टुक्रा काटिएको प्याज हालेर खैरी हुन्जेल फ्राइ गर्ने ।

अदुवा लसुनको पेस्ट हालेर २ मिनेट जति फ्राई गर्ने।

सबै मसला पाउडरहरु हालेर तेल माथि ननिस्किएसम्म फ्राई गर्ने । अब मटन र म्यारिनेड पेस्ट हालेर चलाउने र सानो आगो बनाएर दुई मिनेट जति फ्राई गर्ने ।

केही पानी र नुन हालेर बढी तापक्रममा छोपेर पकाउने । मासु नरम भएर बाक्लो ग्रेभी बनेपछि क्रिम हालेर राम्रोसँग चलाउने ।

त्यसपछि ५ मिनेट पकाएपछि रोगन जोस तयार हुन्छ । यसरी तयार भएको डिसलाई काटिएको धनियाँको पातले गार्निस गरेर भात, पुलाव वा रोटीसँग ५ जनालाई खान पुग्छ ।

मटन करी बनाउन चाहिने सामग्री

मटन – ७०० ग्रा.,सोंफ – ५ ग्रा., तेल – १५ मिलि, रातो खुर्सानी – ५ ग्रा., रेड ग्रेभी – ४०० मिलि, स्वाद अनुसार नुन, तेजपात – ४ वटा, ।

गरम मसला – १५ ग्रा, स्टक (हड्डीको सुप) दही – १५ ग्रा., मेथीको पातको धुलो – २ चिम्टी

बनाउने विधि

बाक्लो भाँडोमा तेल तताएर गरम मसला र तेजपात फ्राइ गर्ने । रातो खुर्सानीको धुलो, मासु, दही हालेर राम्रोसँग चलाउने । स्टक हालेर उमाल्ने ।

अर्काे प्यानमा तेल तताएर सौंफ फुराउने र त्यसमा मटन हालेर केही मिनेट फ्राइ गर्ने र रेड ग्रेभी हालेर केही मिनेट पकाउने । नुन र मेथी पातको धुलो हालेर मज्जाले चलाउने । धनियाँको पातले सजाएर खान सकिन्छ ।

यसरी तयार पारेरको मटन करी ४ जनालाई खान पुग्छ ।

मटन करीका लागि चाहिने रेड ग्रेभी बनाउने तरिका

सस प्यानमा तेल तताएर गरम मसला र तेजपात फुराउने । काटिएको प्याज हालेर खैरो नहुन्जेल फ्राइ गर्ने । अदुवा लसुनको पेस्ट हालेर काँचो बास्ना निस्कन बन्द नहुन्जेल पकाउने ।

जिरा, धनियाँ, खुर्सानी, गरम मसलाका पाउडर हालेर चलाउने । काजु वा बदामको पेस्ट हालेर मधुरो आगोमा तेल नतैरिन्जेल पकाउने । मेथीको पातको धुलो र मह हालेपछि रेड ग्रेभी तयार हुन्छ ।

खसीको लेदोबेदो बनाउन चाहिने सामग्री

खसीको मासु – ४०० ग्राम, तेल – १० मिलि, गरम मसला – ४ पिस, तेजपात – ३ पिस, प्याज – २०० ग्राम, अदुवा लसुनको पेस्ट – १५ ग्राम, सिसिसि पाउडर – १० ग्राम, बेसार पाउडर – आधा चम्चा, गरम मसला पाउडर – १० ग्राम, गोलभेंडा – १०० ग्राम, स्वादअनुसार नुन, एक चिम्टी जाइफल पाउडर, स्टक – आवश्यकताअनुसार, धनियाँको पात ।

बनाउने विधि

मन पर्ने आकारमा मासुलाई टुक्रा पार्ने । प्रेसर कुकरमा तेल तताउने अनि तेजपात र गरम मसला फुराउने । काटेर राखिएको प्याज हालेर खैरो रङ नआउन्जेल फ्राइ गर्ने ।

काटेर राखिएको मटन हालेर केही बेर भुट्ने । अदुवा र लसुनको पेस्ट हालेर चलाउने । सिसिसि पाउडर, बेसार र गरम मसला पाउडर हाल्ने । जाइफलको पाउडर हालेर राम्रोसँग चलाउने ।

पढौं यो पनि

काटेर राखिएको गोलभेंडा हालेर चलाउने । अलिकति नुन र तयार पारेर राखिएको स्टक हालेर प्रेसर कुकरको बिर्को लगाउने । पाकेपछि धनियाँको पातले गार्निस गरे भातसँग खान सकिन्छ ।

चिकेन करी बनाउन चाहिने सामग्री

चिकेन – ८०० ग्राम, प्याज – २०० ग्राम, – गोलभेंडा – २०० ग्राम, नुन – १५ ग्राम, जिरा – १५ ग्राम, गरम मसला – १५ ग्राम, बेसार – ५ ग्राम, रातो खुसानी – १० ग्राम, मिट मसला – ग्राम, तेजपात – १५ ग्राम, तेल, ४० मिलि, धनियाँ पाउडर – १५ ग्राम, धनिया – १५ ग्राम, पानी – १००० मिलि ।

बनाउने विधि

कराईमा तेल तताउने । तेजपात र प्याज हालेर फ्राई गर्ने । बेसार चिकेन हालेर चलाउने । मसलाहरु हालेर एक मिनेट पकाउने । गोलभेंडा हालेर २ मिनेट पकाउने ।

पानी हालेर ठीक्को तापक्रममा १० मिनेट पकाउने । चिकेन करी तयार हुन्छ ।

चिकेन चिली बनाउन चाहिने सामग्री

बोनलेस चिकेन – ३०० ग्राम, काटिएको प्याज – ८० ग्राम, डाइस्ड क्याप्सिकम – ८० ग्राम, गोलभेंडा – ५० ग्राम, लसुन – १५ ग्राम, लामो हरियो खुर्सानी – २० ग्राम, स्प्रिङ अनियन – ३० ग्राम, हट सस – ५० मिलि, टमेटो केचप – ३० मिलि, सोय सस – ५ मिलि, नुन मरिच – स्वादअनुसार, सजावटका लागि धनियाँ, सिजन्ड फ्लोर – २० ग्राम, हरियो सलाद – १०० ग्राम ।

बनाउने विधि

चिकेनलाई एकै किसिमको टुक्रामा काट्ने । सिजन्ड फ्लोरले कोट गरिदिने । प्यानमा तालिएको तेलमा डिप फ्राइ गर्ने । प्यानमा भेजिटेबललाई भुट्ने ।

त्यसैमा फ्राइ गरिएको चिकेन र सस हालेर मिक्स गर्ने । सलाद र गार्निसिङसहित तीन जनालाई सर्भ गर्न पुग्छ।

 

...

बिहिबार, १२ असोज २०७४

 

प्रतिक्रिया

Related