नेपाल दक्षिण एसियामा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थानमा कायमै

वृहत् आर्थिक वातावरण भएको मूलुकको सूचीमा नेपाल ३१ औं नम्बरमा, विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सूचीमा ८८ औं नम्बरमा
निर्माण सञ्चार, काठमाडौं | नेपाल दक्षिण एसियामा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थानमा कायमै रहेको छ ।

नेपालमा राजनीतिक अस्थिरता, असक्षभ कर्मचारीतन्त्र, पूर्वाधारको अभाव, नीतिगत अस्थिरता तथा भ्रष्टाचारका कारण व्यवसाय गर्ने वातावरण नसुध्रेकाले नै नेपाल दक्षिण एसियामा चौथो प्रतिस्पर्धी अर्थतन्त्रको स्थानमा कायमै रहेको हो ।

नेपाल गत वर्षभन्दा सूचकांकमा १० तह माथि उक्लेर ८८ औं नम्बरमा परे पनि दक्षिण एसियामा भने चौथो स्थानमा नै रहेको वल्र्ड इकोनोमिक फोरमद्वारा हालै सार्वजनिक विश्वको प्रतिस्पर्धी क्षमता २०१७ मा उल्लेख गरिएको छ ।

नेपाल विश्वको प्रतिस्पर्धी क्षमता २०१५ मा दक्षिण एसियामा तेस्रो प्रतिस्पर्धी अर्थतन्त्र रहेको थियो ।

विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सूचीमा नेपाल ८८ औं नम्बरमा परेको विश्व आर्थिक मञ्चद्वारा १ सय ३७ देशमा गरेको अध्ययनले पुष्टि गरेको छ ।

तर, दक्षिण एसियाली मुलुकमा भने नेपाल चौंथो नम्बरमा छ । दक्षिण एसियाका ६ मुलुकलाई समावेश गरिएकामा नेपाल बंगलादेश र पाकिस्तानभन्दा अगाडि रहेको अध्ययन प्रतिवेदनमा छ ।

जसअनुसार भारत ४०, भुटान ८२ र श्रीलंका ८५ औं नम्बरमा छन् ।

नेपाललाई प्रतिस्पर्धी क्षमतामा उल्लेख्य सुधारका लागि राजनीतिक र नीतिगत स्थिरता, प्रशासनिक कार्यक्षमता, भ्रष्टाचार न्युनिकरण र वित्तिय पहुँच बढाउन आवश्यक रहेको मञ्चका नेपाल संयोजक प्रा.डा. रमेशचन्द्र चित्रकारले बताए ।

यसैगरी विश्वव्यापी प्रतिस्पर्धी सूचकले नेपालको प्रतिस्पर्धी क्षमता बढेको देखाउनुमा नेपालले ७ पूर्णांकमा ४ अंक ल्याउनु प्रमुख कारण रहेको छ । किनकी सो अंक गत वर्षको भन्दा ०.१ ले बढी हो ।

त्यस्तै, पूर्वाधार र प्राविधिक तयारीमा कमजोर देखिएको नेपाल वृहत् आर्थिक वातावरण भएको मूलुकको सूचीमा ३१ औं नम्बरमा परेको छ ।

वृृहत् आर्थिक वातावरण सूचकमा नेपालले ५.६ अकं ल्याएको छ भने शिक्षा र स्वास्थ्य सूचकमा ५.७ अंक ल्याएको छ ।

मंगलबार अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्व आर्थिकमञ्चका नेपाल संयोजक चित्रकारले इनोभेसन र पूर्वाधारमा सुधारको आवश्यकता रहेको बताएका थिए ।

पूर्वाधार, आर्थिक वातावरण, बजारको आकार, वित्तीय बजार विकास, श्रम बजारको क्षमता, प्राथमिक शिक्षा र स्वास्थ्य लगाएतका १ सय ४ वटा सूचकलाई आधार मानेर मञ्चले गरेको अध्ययनले नेपालको प्रतिस्पर्धी क्षमताको सूचकमा भने गत वर्षभन्दा बढेको देखाएको हो ।

यता स्वीजरल्याण्ड भने यो वर्ष पनि पहिलो नम्बरमै कायम छ भने अमेरिका तेस्रो नम्बरबाट दोस्रो नम्बरमा उक्लन सफल भएको मञ्चको विश्वव्यापी प्रतिवेदनले देखाएको छ । अमेरिकाले आफ्ना आर्थिक अवस्थामा सुधार गरेपछी सिंगापुर भने तेस्रो नम्बरमा झरेको छ ।

तर, नेदरल्याण्ड र जर्मनी भने पछिल्लो वर्ष जस्तै क्रमशः चौंथो र पाँचौं नम्बरमै छन् ।

नेपालको प्रतिस्पर्धी क्षमतामा ह्रास आउनुमा निरन्तरको राजनीतिक संक्रमण तथा औद्योगिक असुरक्षाजस्ता कारण मात्र नभएर पछिल्ला सरकारहरु आर्थिक मुद्दामा भन्दा राजनीतिक मुद्दामा बढी केन्द्रित हुनु नै मुख्य कारण हो ।

त्यस्तै, संविधानसभाबाट संविधान जारी भएपछि आर्थिक क्रान्तिको पालो भनिएता पनि झनै राजनीतिक संक्रमणकाल लम्बिनु तथा आर्थिक सुधारका दोस्रो चरणले अपेक्षा गरेअनुरुप गति लिन नसक्नुले समेत नेपालको प्रतिस्पर्धी क्षमता घटेको हो ।

साथै पछिल्ला वर्षहरुमा नेपालले संविधानको मर्म अनुरुप चुनावमा बढी ध्यान केन्द्रित हुनु र यसैको आडमा राजनीतिक दलको समर्थनमा खुला बजारको नाममा ‘क्रोनी क्यापिटालिज्म’ फष्टाउनु पनि नेपालको प्रतिस्पर्धी क्षमतामा ह्रास आउनुको प्रमुख कारण हो ।

प्रतिवेदनकाअनुसार अर्थतन्त्र प्रतिस्पर्धी भएपछि विदेशी लगानीकर्ताको आकर्षण बढ्नुका साथै देशको आर्थिकस्तर पनि बढ्छ ।

तर, यति हुँदाहुँदै पनि नेपाल दक्षिण एसियामै सबैभन्दा राम्रो बुहत आर्थिक वातावरण भएको देशमा पर्छ । त्यस्तै, स्वास्थ्य तथा प्राथमिक शिक्षामा पनि नेपाल दोस्रो उत्कृष्ट रहेको छ ।

आधारभूत आवश्यता, सक्षमता अभिवृद्धि तथा नवीन खोज र विकास जस्ता ३ प्रमुख सूचकका आधारमा प्रत्येक वर्ष वल्र्ड इकोनोमिक फोरमद्वारा सार्वजनिक गरिने विश्वको प्रतिस्पर्धी सूचकांक तयार गरिन्छ ।

र, यी ३ सूचकअन्तर्गत पनि विश्वको प्रतिस्पर्धी क्षमता सूचकांकले १२ वटा आधारशीलताका आधारमा प्रत्येक देशको प्रतिस्पर्धी क्षमता मापन गर्छ ।

जसअन्तर्गत संस्था, पूर्वाधार, बृहत् आर्थिक वातावरण तथा, स्वास्थ्य तथा प्राथमिक शिक्षा पर्छन् ।

त्यस्तै, सक्षमता अभिवृद्धि सूचकअन्तर्गत उच्च शिक्षा एवं तालिम, वस्तु बजारको क्षमता, श्रम बजारको क्षमता, वित्त बजार विकास, प्राविधिक रुपमा तयारी र बजारको आकारका आधारमा कुनै पनि देशको अर्थतन्त्रको प्रतिस्पर्धी क्षमता मापन गरिन्छ ।

यी सबै आधारमध्ये उक्त सूचकअन्तर्गत वित्त बजार विकासबाहेक अन्य उच्च शिक्षा तथा तालिम, वस्तु बजारको क्षमता, श्रम बजारको क्षमता, प्राविधिक रुपमा तयारी तथा बजारको आकारमा नेपालको अवस्था खासै राम्रो छैन ।

तेस्रो नवीन खोज र विकास सूचकले कुनै पनि देश विकासको क्रममा अगाडि बढेपछि मात्र महत्व राख्दछ ।

यो सूचकको नेपालजस्ता अर्थतन्त्रको लागि त्यत्ति महत्व छैन किनकी अर्थतन्त्र सबल हुदै जाँदामात्र नवीन खोज अनुसन्धान तथा विकासको अर्थ रहने गर्दछ ।

 

...

बुधबार, १८ असोज ०७४

प्रतिक्रिया

Related