प्राधिकरणले तोड्यो चिनियाँ कम्पनीसँग ढल्केबर सबस्टेसनको सम्झौता

पटक–पटक आग्रह गर्दा पनि काम गर्न अटेर,आगामी सुख्खायाममा भारतबाट २ सय मेगावाटसम्म विद्युत् आयात गर्ने योजना अलपत्र
निर्माण सञ्चार, काठमाडौं | नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबरमा निर्माणधीन सबस्टेसनको ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) सँग सम्झौता तोडेको छ ।

कम्पनीले कामको गति बढाउन चासो नदिएको भन्दै प्राधिकरणले २ सय २० केभीको सबस्टेसनको ठेक्का तोडेको हो ।

सो कम्पनीलाई काम अघि बढाउन पटक–पटक आग्रह गर्दापनि विभिन्न बहना झिक्दै काम गर्न अटेर गरेपछि ठेक्का तोडिएको ढल्केबर सबस्टेसन निर्माण आयोजनाका प्रमुख राधेशरण महतोले जानकारी दिए ।

महतोकाअनुसार ठेक्का तोडिएसँगै कम्पनीको झन्डै ३० करोड रुपियाँ बराबरको धरौटी समेत जफत गरिएको छ ।

सीसीपीजीले ढल्केबरबाहेक अन्य दुई स्थानका सबस्टेसन निर्माणको कामबाट पनि हात झिक्न खोजेको महतोले बताए ।

यस कम्पनीले अन्य सबस्टेसन आयोजनामा पनि हालसालै आफैसँग सम्झौता गर्नुपर्ने सर्त अघि सारेको थियो ।

यसैगरी ढल्केबर सबस्टेशनमा नयाँ रेट कायम गर्न समेत कम्पनीले प्राधिकरणलाई दबाव दिंदै आइरहेको थियो ।

उसले आफ्ना सर्तअनुसार भए मात्रै काम अघि बढाउने अडान राखेपछि ठेक्का तोडिएको हो ।

‘ठेक्का सम्झौता बाहिर गएर कुनै सम्झौता गर्न सकेनौँ’ प्रमुख महतोले भने,‘ किनकि यो राष्ट्रहित विपरीत थियो ।

त्यसैले काम गर्न अटेरी गर्ने यस कम्पनीसँग ठेक्का नै तोड्ने निर्णयमा पुगेको महतोले बताए । उक्त सम्झौताअनुसार सीसीपीजीले ढल्केबरसँगै इनरुवा र हेटौंडाको पनि सबस्टेसन निर्माण गर्नुपर्ने थियो ।

हाल ढल्केबर सबस्टेशनको लगभग ९० प्रतिशत मात्रै काम सकिएको महतोले जानकारी दिए । यता इनरुवामा भने कम्पनीले काम नै सुरु गरेको छैन ।

ठेकेदार कम्पनी र प्राधिकरणको उच्च नेतृत्वको लापरवाहीका कारण ०७२ सालमै सम्पन्न गर्नुपर्ने यी सवस्टेशन तोकिएको समयमा पुरा हुन सकेको थिएन ।

तत्कालीन उर्जामन्त्री जनार्दन शर्मासहितको टोलीले गत भदौमा चार महिनाभित्र सवस्टेसनको काम पुरा नगरे ठेकेदारलाई कालो सूचीमा राखेर कारबाही गर्ने चेतावनी समेत दिएका थिए ।

त्यसपछि ठेकेदार सीसीपीजीले तुरुन्तै काम सुरु गरेपनि पछिल्लो समयमा पुन काममा वेवास्ता गर्न सुरु गरेको थियो ।

ऊर्जा मन्त्रालयबाट शर्माको अनुगमनपछि सीसीपीजी र प्राधिकरणको सम्बन्ध विग्रदै गएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि कम्पनीले टेर्नै छाडेको थियो ।

जसकारण सीसीपीजीले पटक–पटक काम रोक्दै रोक्दै आएको थियो ।

त्यस्तै, हालका उर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि निर्माण स्थलमै पुगेर निर्माणकार्यमा तीव्रता दिन निर्देशन दिएका थिए ।

पछिल्लो समय भने कम्पनीले ३ वटा सर्त राख्दै काम रोक्दै आएको थियो । यस कम्पनीलाई प्राधिकरणले १ अर्ब ४२ करोडमा सामानको रकम र जडान चार्जस्वरुप ६० करोड तिर्ने सम्झौता गरेको थियो ।

महत्वपूर्ण आयोजना अलपत्र

सो सबस्टेसनमार्फत् आगामी सुख्खायाममा भारतबाट २ सय मेगावाटसम्म विजुली आयात गर्ने विद्युत् प्राधिकरणको योजना रहेको छ ।

तर, यस सबस्टेसनको निर्माण कार्य रोकिएपछि आउँदो हिउँदमा थप विद्युत् ल्याउने योजना अलपत्र परेको छ । आयोजनाले भने अहिले के कसरी निर्माणकार्य अघि बढाउने भनेर छलफल सुरु गरेको छ ।

यसअघि प्राधिकरणले उक्त सबस्टेसन अगष्टसम्ममा सम्पन्न गर्ने उद्देश्य लिएको थियो ।

तोकिएको मितिसम्ममा काम सम्पन्न नगरेको भन्दै प्राधिकरणले यसअघि पनि सीसीपीजीसँग २२० केभीको भरतपुर–बर्दघाट प्रसारणलाइन निर्माणको जिम्मा तोडेको थियो ।

यो ठेक्का तोडेसँगै कम्पनीले अन्य स्थानको काम पनि रोक्दै आएको थियो । यस कम्पनीले जफत भएको ३० करोड फिर्ता नगरेसम्म कामै नगर्ने धम्की समेत दिएको प्रमुख महतोले बताए ।

...

बुधबार, १८ असोज ०७४

 

प्रतिक्रिया

Related