बुटवल–तानसेन सडक फेरि अवरुद्ध, ५ किलोमिटर क्षेत्र जोखिमपूर्ण

सयौं सवारी साधन र हजारौँ यात्रु अलपत्र, पहिरो हटाउन ढिलाई गरेको भन्दै यात्रु आक्रोसित
निर्माण सञ्चार, काठमाडौं | सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक फेरि अवरुद्ध भएको छ ।

बुधबार दिउँसो सडक बन्द गरेर पहिरो हटाइएपछि सुचारु भएको सडक केही घण्टापछि नै फेरि अवरुद्ध भएको हो ।

पहिरो गएराति नै खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

रातिको समयमा सडकमा यात्रा गर्दा जोखिम हुने भन्दै प्रहरीले राति ८ बजेदेखि बिहान ६ बजेसम्म यातायात आवागमन रोकेको थियो ।

बिहानैदेखि सडक अवरुद्ध भएपछि सयौं सवारी साधन र हजारौँ यात्रु अलपत्र परेका छन्।

दुई सातादेखि निरन्तर पहिरो खसिरहेकाले यात्रुले हैरानी बेहोर्दै आएका छन् । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार निरन्तर ढुंगा बगिरहेकाले पहिरो हटाउन समस्या भएको छ ।

उक्त पहिरोमा हिजो सडक पार गर्नेक्रममा खसेको ढुंगाले लाग्दा रुपन्देहीको सैनामैना नगरपालिका रामापुरका दिलीपकुमार न्यौपाने घाइते भएका थिए ।

न्यौपाने लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा श्रीमती र डेढ वर्षको छोरीसहित पाल्पाको पूर्वखोला जांदै गरेका थिए । पहिरोसंगै झरेको ढुंगाले लाग्दा न्यौपानेको खुट्टामा गहिरो चोट लागेको छ ।

केही दिन अघि मात्रै सोही स्थानमा कार र ट्रक च्यापिदा ३ जनाको ज्यान गएको थियो ।

गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङजा लगायतका जिल्लाबाट बुटवल आउने एक मात्रै नाका बन्द भएपछि दसैंमा घर गएका यात्रु समेत मारमा परेका छन् ।

पहिरो हटाउन ढिलाई गरेको भन्दै यात्रु आक्रोसित बनेका छन् ।

यस सिद्धबाबा सडकखण्डको ५ किलोमिटर क्षेत्र जोखिमपूर्ण रहेको छ । सोही सडकमा वर्षेनी गाडीहरु पुरिदै आएका छन् ।

...

बिहीबार, १९ असोज ०७४ 

प्रतिक्रिया

Related