आधुनिक प्रविधिको फायर हाइड्रेन्टः उपत्यकाका तीन सय स्थानमा जोडिने

मेलम्ची आयोजनाद्वारा नै जडान ! दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिको
निर्माण सञ्चार, काठमाडौं | काठमाडौँ उपत्यकाका तीन सय स्थानमा फायर हाइड्रेन्ट जोडिने भएको छ ।

मेलम्ची आयोजनाबाट पानी वितरण सुरु भएपछि काठमाडौं उपत्यकामा आगलागी नियन्त्रण प्रभावकारी बनाउन मेलम्ची आयोजनाले नै यो व्यवस्था गरेको हो ।

आयोजनाले काठमाडौंभित्रै विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रन्ट’ राख्ने तयारी गरेको छ ।

उपत्यकाका तीन सयभन्दा बढी स्थानमा दमकलले पानी भर्न सक्ने गरी फायर हाइड्रेन्ट जडानको तयारी गरिएको मेलम्ची आयोजना कार्यान्वयन एकाइका प्रमुख तिरेश खत्रीले जानकारी दिए ।

हाइड्रेन्ट जडानले आगलागी नियन्त्रणका लागि पानी भर्न दमकललाई चक्रपथबाहिरका विभिन्न स्रोतसम्म पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

उच्च प्रविधिका हाइड्रेन्ट शहरी क्षेत्रमा निकै आवश्यक प्रविधि मानिन्छ । यस्तो प्रविधिको अभ्यास अन्तराष्ट्रियस्तरका सबैजसा शहरी भागमा रहेको छ ।

हाइड्रेन्ट काठमाडौंको मेलम्चीको पाइपलाइन विछ्याउने क्रममै जोड्न थालिएको हो । प्रमुख खत्रीका अनुसार शहरका आवासीय तथा कोर एरिया, मुख्य व्यापारिक क्षेत्रहरुमा फरक–फरक प्रविधिका हाइड्रेन्ट जोड्न लागिएको छ ।

‘निश्चित दूरीहरुमा यस्ता हाइड्रेन्ट राखेर शहरहरुलाई सुरक्षित राख्ने प्रयत्न हो’, उनले भने,‘ आगलागी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका खेल्ने हाइड्रेन्ट जडान आगलागीजस्तो भयानक विपत्तिको पूर्वतयारी पनि हो ।

आयोजनाले पाइप विछ्याउने क्रममै फायर हाइड्रेन्ट रहने स्थानको पहिचान गरिसकेको थियो । त्यसअनुसार नै सडक किनारामा पोइन्टहरु राखिएका छन् ।

अब यसको माथिल्लो भाग जडानको काम बाँकी छ । हाइड्रेन्टहरुमा सय मिलिमिटरका भल्भ हुनेछन् । खत्रीले यसरी जोडिने हाइड्रेन्टहरु विपद व्यवस्थापनका लागि मात्रै उपयोग गरिने बताए ।

काठमाडौं र ललितपुरका जनप्रतिनिधिले भने सडक सफा गर्न पनि यसको प्रयोग गर्न चाहेको बताएका छन् । तर, त्यसबारे अहिलेसम्म कुनै छलफल नभएको एकाइका प्रमुख खत्रीले जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि हाइड्रेन्ट प्रयोग गरेको दिनमा स्थानीय क्षेत्रमा पानी वितरणको तालिकामा असर पर्न सक्ने बताइएको छ । तर, पनि यसको प्रयोग महत्वपूर्ण हुने प्रमुख खत्री बताउँछन् ।

अहिले ठूला आगलागीका घटनामा दमकललाई पानी भर्न कहाँ पुग्ने भन्ने समस्या हुने गरेको छ । रिंगरोडभित्र छिटो पानी भर्ने स्रोत छैनन् ।

यसकारण अब विपदका समयमा हाइड्रेन्टहरु निकै उपयोगी हुने अपेक्षा गरिएको खत्रीले जानकारी दिए ।

...

शुक्रबार, २० असोज ०७४

प्रतिक्रिया

Related