एक दशकमा चार ‘स्मार्ट सिटी’–डीपीआरका लागि कम्पनी छनोट हुँदै

निर्माणको लागत करिब ५ खर्ब रुपियाँ अनुमान, योजनाअनुसार काम भए अबको १० वर्षमा सबै शहर तयार
निर्माण सञ्चार, काठमाडौं | काठमाडौंमा बन्ने नयाँ चार आधुनिक शहर (स्मार्ट सिटी) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्ने कम्पनी छनोटको प्रक्रिया सरकारले अन्तिम चरणमा पुर्याएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले स्मार्ट सिटी निर्माणका लागि डीपीआर बनाउन टेन्डर गरेको थियो ।

प्रस्तावितमध्ये सबैभन्दा ठूला शहर ‘इशान’ को डीपीआरका लागि छनोट भएका ५ कम्पनीको ‘सर्ट लिस्ट’ गरिएको छ ।

प्राधिकरणका प्रमुख भाइकाजी तिवारीका अनुसार ती कम्पनीसँग आर्थिक तथा प्राविधिक प्रस्ताव माग गरिएको छ ।

यसबाहेकका अन्य तीन साना शहरका लागि डीपीआर बनाउन गरिएको टेन्डर प्रक्रियाबाट योग्य कम्पनी सर्ट लिस्ट गर्ने काम सोमबार सकिने तिवारीले जानकारी दिए ।

प्राविधिक तथा आर्थिक प्रस्तावका आधारमा डीपीआर निर्माणको जिम्मा योग्य कम्पनीले पाउँनेछन् ।

उनीहरुले सम्झौतालगत्तै डीपीआर तयार गर्न सुरु गर्नेछन् । सोही डीपीआरकै आधारमा शहरहरुमा बन्ने पूर्वाधार के–कस्तो बन्ने भन्ने टुंगो लाग्नेछ ।

उपत्यकाभित्रै करिब १ लाख ३० हजार रोपनी जग्गामा सरकारले चार नयाँ सहर बसाल्दैछ ।

यसकारण सरकारले ४ वटै शहर निर्माण हुने क्षेत्रलाई समेटेर स्थानीय जग्गाको कित्ताकाटमा रोक लगाएको छ ।

कहाँ–कहाँ बन्दैछ ‘स्मार्ट सिटी’ ?

उपत्यकामा सबैभन्दा ठूलो आधुनिक शहरका रुपमा सरकारले ‘इशान’ लाई तयार गर्नेछ । काठमाडौंको पूर्वोत्तर क्षेत्रमा पर्ने यस शहर लगभग एक लाख रोपनीमा फैलिनेछ ।

भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ ।

उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म रहने यो शहर भक्तपुरको पुरानो बाटो, सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकीककरण आयोजनासहितको क्षेत्रमा फैलिनेछ ।

अर्को ‘आग्नेय शहर’ १० हजार रोपनिको हुनेछ ।

यो शहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्नेछ ।

पश्चिममा खहरे खोला, बालकोट–बिरुवा सडक, पानी ट्यांकी, बालकोट, अमरनगर, थिमी हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ ।

उत्तरको सीमा भने अरनिको राजमार्ग हुनेछ । दक्षिणतर्फ सिलामखाल, रानीकोट जंगलछेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार–बिरुवा हुँदै खहरेसम्म यो शहरको सीमा तोकिएको छ ।

तेस्रो ‘नैऋत्य शहर’ पनि १० हजार रोपनीको हुने प्रस्ताव गरिएको छ । ललितपुरको पूर्वतर्फ खोकना १ देखि ८ वडा हुँदै बुङमति १ भएर छम्पी जाने बाटो तथा वडा नम्बर २ देखि ६ सम्म फैलिनेछ ।

पश्चिम र दक्षिणतर्फ वागमती नदीको सीमा तोकिएको छ । उत्तरमा साविकको सैँबु गाविसको सीमासम्म शहर फैलने प्रस्ताव गरिएको छ ।

चौथो शहर ‘उत्तर’ १० हजार रोपनीमा फैलिनेछ । पूर्वमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा तोकिएको छ । पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म उत्तर शहरले ओगट्नेछ ।

उत्तरमा सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म फैलिनेछ । दक्षिणमा ग्रिनल्यान्ड चोकदेखि महादेवखोला काभ्रेस्थली मूल सडकलाई छुने गरी प्रस्ताव गरिएको छ ।

कस्तो बन्छ शहर ?

सरकारले नयाँ शहरलाई काठमाडौंमै पहिलोपटक व्यवस्थित शहरीकरणको नयाँ अभ्यासका रुपमा अगाडि बढाइने बताएको छ । यी शहरमा जथाभावी घडेरी बनाएर बेच्ने परम्परा हुने छैन ।

त्यस्तै, प्रशस्त खुला क्षेत्रहरु सिर्जना गरिनेछन् । साइलक ट्रयाकसहितको सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिइनेछ । साथै खेल मैदान, पार्कलगायत आधारभूत शहरी पूर्वाधार रहने प्रमुख तिवारीले जानकारी दिए ।

उनले भने, ‘ हामीले इशान शहरमा एउटा तलाउ पनि बनाउनसक्ने देखेका छौं’ । एउटा व्यवस्थित शहरमा हुनुपर्ने खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत सबै पूर्वाधार तयार हुने तिवारीको भनाइ छ ।’

सरकारले यी शहरमा आवासीय, व्यापारिक र औद्योगिक क्षेत्रलाई छुट्याएर राख्नेछ । जसमा निजी क्षेत्रबाट सम्भाव्यताका आधारमा लगानी हुन सक्ने तिवारीले दावी गरे ।

त्यसैगरी शहरलाई कुरुप हुन नदिन तारलाई अन्डरग्राउन्ड गर्ने, फोहोरमैला व्यवस्थापनको विशेष योजना बनाइने प्राधिकरणले बताएको छ । यी शहरमा ५ लाख मानिस बस्न सक्ने छन् ।

निर्माणको लागत करिब ५ खर्ब रुपियाँ अनुमान गरिएको छ भने योजनाअनुसार काम भए अबको १० वर्षमा सबै शहरमा तयार भइसक्ने प्रमुख तिवारीले बताए ।

...

शुक्रबार, २० असोज ०७४ 

प्रतिक्रिया

Related