लालबहादुर खत्रीको ‘सौंराई लागी राइसुवाकी’– पश्चिमेली लयको सशक्त हस्तक्षेप

लालबहादुर खत्री दाहालको ‘सौंराई लागी राइसुवाकी’ बारे सचित्र चर्चा
निर्माण सञ्चार, पुस्तक चर्चा । पुस्तकको आवरणमै जोडी सुगा बसेको फाँटिलो तर केही उछाइलो प्रकृति देखिन्छ जसले दैलेखी भूपरिवेशलाई चित्रित गरेको छ ।

‘परपरल कलर’ लाई पृष्ठभूमि पारेर सेता ठूला अक्षरमा लेखिएको ‘सौंराई लागी राइसुवाकी’ लालबहादुर खत्री दाहालको कृतिलाई दुनियाँका नजरमा ल्याउँदा प्रज्ञा प्रतिष्ठानको कक्षमा आफ्नो ‘भेकको माटो बोलेको कृति’का रुपमा चर्चा चल्यो ।

सरकारी सेवामा रहेका खत्री दाहाल साहित्यका विद्यार्थी हुन् भने सुदूर सभ्यताको ऐतिहासिकता बोकेको सिल्क रोड, चीनले विश्व स्तब्ध पार्ने गरी ल्याएको प्रस्ताव ‘ओबर’ सडकमाथि अनुसन्धानको सँघारमा रहेको शोधार्थी पनि हुन् ।

देशको कथित केन्द्र अर्थमन्त्रालयमा बसेर अवसर र वितरणबाट विकट बनाइएको कर्णालीलाई ‘नोस्टाल्जिया’ बनाउँदै मनका तन्तु तन्तुमा उनिएका दुल्ली दैलेखी भाकाले नेपाली साहित्यमा रहँदै आएको भाषिक सांस्कृतिक ‘केनोनिजम’ माथि गतिलो धावा बोलेको महसुस हुन्छ ।

बुद्धि सागर चपाईले ‘कर्णाली ब्लुज’ बाट सशक्त धावा दिएको कर्णालीको उच्च स्वरमाथि अर्काे विकुल ध्वनि थप्ने काम गरेका छन् देउडा सर्जक खत्री दाहालले ।

देउडा भिडियो 

सुदूर पश्चिम भुगोलको अवस्थिति मात्र होइन, विकास र अवसरको वितरणका दृष्टिले पनि हो । पछिल्ला दिनमा ‘सेतो पोथी’ जस्ता डकुमेन्ट्री फिल्मले दुई बाल कलाकारलाई ‘केननिस्ट’ काठमाडौंमा अवतरित गराउँदा मानिसहरुले सोचे पश्चिम नेपालमा साँच्चिकै प्रतिभा पनि रहेछ ।

‘ब्रोइलर’ जस्ता काठमाडौंका बालबच्चा एडिबीले लादेका कोर्सबुकहरुलाई पिठ्यूँमा बोकाएर प्रफुल्ल बनिरहेका राजधानीबासीका बाबु–आमाहरुका मुटुमा आफ्ना सन्तान भन्दा कयौं गुना ‘अर्गानिक’ पुस्ता त पश्चिम–सुदूरपश्चिमले जन्माइरहेको भान भएको थियो ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले प्रकाशन गरेको यस कीर्तिलाई लोकार्पण गर्दा मध्यपश्चिमकै देउडा गायिका चाँदनी मल्लले लेखकले लेखे भन्दा जीवन्त तुल्याएकी थिइन् ।

‘कीर्तिर्यस्य स जीवति’ भन्ने संस्कृति लोकोक्ति जोड्दै प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती र समालोचक तथा सर्जक प्राध्यापक जगत्प्रसाद उपाध्याय प्रेक्षितले लोक भाका सर्जक–संकलक खत्री दाहाललाई निराश हुनबाट जोगाइरहेका थिए, ‘सिर्जना बाँच्ने तर सर्जक चाहिँ मरिहाल्ने’ पश्चिमा आलोचकीय ‘थेउरी’लाई चिर्दै ।

न्याउल्या काव्यका रुपमा संरचित ३१२ पृष्ठको ‘डिमाइ’ आकारको यो ग्रन्थ तीन खण्डमा विन्यस्त छ— विपना, भावना, सपना, विवेक खण्डका नाउँले ।

कृतिमा प्राडा जीवेन्द्र देव गिरी, कवि श्यामल, डा मधुसूदन गिरीले समीक्षा दिएका छन् । लोकार्पणका बेला प्रा प्रेक्षितले भने यस पुस्तक तथा कृतिकारबारे भित्री कुराहरु समेत खोतलेर प्रकाश पारिदिएपछि कृतिको महत्त्व कीर्तिका रुपमा प्रकाशित भएको थियो ।

दिइएका यी नाम पदहरु विवेक बाहेक तीनओटै स्त्रीलिङ्गी शब्दहरु हुन् । ती सबै खण्डमा न्यायल्याकी लडाइँदेखि हुम्ला, जुम्ला, कालिकोट, अर्थात् सिंगो मध्पश्चिम बोलेको छ ।

उठेको छ, जागेको छ, जहाँ एउटा सुदूर सभ्याता, इतिहासको जगबाट वर्तमानमा बोल्दै भविष्य प्रति चिन्ता व्यक्त गरेको छ । यो पुस्तकले वदेका ऋचालाई सम्झाउँछ ।

११ औं शताब्दीको कर्णालीको सिञ्जाबाट उठेको भनिएको आजको भाषाको हिजोलाई सम्झाउँछ ।

ग्रन्थले यो पनि सम्झाउँछ, पश्चिम बंगाल सरकारी मुख्य मन्त्री ममता बेनर्जीले दार्जिलिङबासी विरुद्ध लादेको भाषिक दमनलाई यो पुस्तक एकाकार गरेर मूल्याङ्कन गर्ने हो भने, सोधौं  कि भाषा, लोकभाका, संस्कृतिको महिमा कति महान् हुँदो रहेछ ?

कुनै पनि जातिलाई सिद्ध्याउनु छ भने, सबैभन्दा पहिले त्यो जातिको भाषामाथि नै प्रहार गरिन्छ । दार्जिलिङबासीमाथि नभई भारत सरकारको यो नियोजित रुपमा नेपाली भाषिमाथिको प्रहार हो, जुन सूर्य विक्रम ज्ञवाली भन्दा अघिदेखि लैनसिंह बांग्देल, अम्बर गुरुङसम्मका भाका, भोक र भावी पुस्ताहरुको भविष्य यतिबेला एकाएक दार्जिलिङ बोलेजस्तै सौराई लागी राइसुवाकीले सम्झाएको छ ।

आजको एकेडेमी अझै पनि हिजोको प्रतिगामी भासबाट उठ्न सकेको छैन ।

सर्वांगीण रुपले नेपाली भाषाभाषि, सभ्यता अध्ययनको केन्द्र बन्नु पर्ने एकेडेमी कतिसम्म निर्लज्जहरुको पञ्जामा पर्न गयो भने, स्कुले विद्यार्थीले बुझेनन् रे भन्दैमा ‘विद्यालयलाई विद्यालय’ भन्ने कथित भाषा सुधार र सरलीकरणको अराजक खेतीमा झन्डै झन्डै फसेको थियो ।

कमर्स पढेकाहरुले नेपाली पढाएझैं शिक्षा, भाषा, चेतना र सभ्यतालाई नै जागिरे जिन्दगीमा सीमित बनाइएको आजका नेपाल र नेपाली बौद्धिक पंक्तिको बुझाइमा बुझो लागेको अवस्था हेमाङ्गाराज बुझाइले अभिव्यक्त गर्दछ ।

भलै जतिसुकै राम्रोकरण गर्न खोजेको संज्ञा किन नदिइयोस्, भाषा, संस्कृति र सभ्यताको नाभी, उपल्लो धर्ती संस्कृत र वैदिक जगभित्र पस्नै नदिने पश्चिमा षडयन्त्रको गन्ध बाहिर आउँदा समेत बामपन्थी भनिएका विद्वान्हरु सुगारटाइकै पक्षमा वकालत गर्न पछि परेका थिएनन् ।

सौंराई लागी राइसुवाकीमा अभिव्यक्त भाषा पनि सरलीकृत गर्ने हो डा हेमांगराज महाराज ?

त्यसैले उत्तरऔपनिवेशिक यस दुनियाँमा आफ्नोपनको नाउँमा एकातिर पहिचानको आन्दोलन पनि उराल्ने अर्काेतिर सरलीकृतका नाउँमा पहिचानै सिद्ध्याउनेहरुको आक्रमणमा परेको नेपाल र नेपाली सभ्यतालाई जगैदेखि बलियो बनाउने काव्यका रुपमा उपस्थित सौंराई लागी राइसुवाकीलाई सलाम छ ।

बुज्रुक भनिने हेमाङ्गराजहरुलाई चेतना भया भन्ने अविबोध बोकेको यस काव्यको समालोचना अझै व्यपक रुपमा हुँदै जानु आवश्यक छ ।

एकेडेमीले नेपालका सबै भाषा र भाषिका अध्ययन तथा अनुसन्धानका लागि आजैदेखि विभिन्न बेन्चहरु स्थापना गरोस् । नकि विद्यालय बनाउने हल्यन्त्यम् जस्तो तुकै नभएको आन्दोलनको प्रभावमा बहकियोस् ।

 

...

शुक्रबार, २० साउन, ०७४

 

प्रतिक्रिया

Related