बाढी पीडित राहत कोषमा सहयोग गर्न नेपाल इन्जिनियर्स एसोसिएसनको अपिल

५० हजार १ सय ५१ एनइएबाट जम्मा, ५–५ हजार कार्यसमिति सदस्यबाट जम्मा गरिने
निर्माण सञ्चार, काठमाडौं । आफ्नो बैंक खाता नम्बर समेत सार्वजनिक गर्दै नेपाल इन्जिनियर्स एसोसिएसनले बाढी पीडितका लागि ‘विपद् राहत कोष’ मा आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

आइतबार साँझ बसेको एनइएको आकस्मिक वैठकले चार दिनदेखिको अविरल वर्षाबाट मुलुकको पूर्वीदेखि पश्चिम तराईसम्मका विभिन्न भूभागमा पुराएको क्षतिबाट प्रत्यक्ष पीडित बनेका नेपाली जनताका लागि सहयोग गर्न अपिल गरेको हो ।

५० हजार एक सय एकाउन्न रुपियाँ एसोसिएसनका तर्फबाट जम्मा गर्दै उसले आफ्ना कार्यसमिति सदस्यबाट जनही ५/५ हजार जम्मा गर्ने निर्णय समेत गरेको एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिए ।

एसोसिएसनले सहयोग दिनका लागि नेपाल बैंक लिमिटेडको खाता नम्बर– ००२००१००५०५१०२०००००१ मा रकम जम्मा गर्न सकिने जानकारी दिएको हो ।

आजै मात्र एसोसिएसनले घोषणा गरेको राहत कोषमा डेढ लाख रकम जम्मा भइसकेको छ ।

अहिलेसम्म बाढी तथा पहिरोबाट ५२ को मृत्यु भइसकेको छ, भने ३७ जना अझै बेपत्ता रहेको गृहमन्त्रालयले जनाएको छ ।

बाढी र पहिरोबाट सयौं घाइते भएका छन् भने तराईका मुख्य गरी १८ जिल्लामा हजारौं मानिस प्रत्यक्ष रुपमा पीडित बनेका छन् ।

विज्ञहरुका अनुसार ६० लाख मानिस यसपालिको बाढी र पहिरोबाट प्रभावित भएका छन् ।

२०५० यताकै ‘क्लाउड ब्रस्ट’ शैलीमा पानी परेको विज्ञहरु बताउँछन् । बाढी प्रभावित क्षेत्रमा महामारी फैलने चिकित्सकहरुले चेतावनी दिएका छन् ।

विपद्का घडीमा सम्पूर्ण इन्जिनियर तथा आम जनसमुदायलाई तराईका जनतालाई आर्थिक सहयोग गर्न आह्वान गरेको हो ।

दैवी प्रकोप जति बेला जहाँ पनि हुन सक्ने भन्दै एसोसिएसनले एकअर्कोमा नेपाली बन्धुहरुको पीडामा मल्हम लगाउन पेसागत इन्जिनियरहरुलाई अपिल गरेको हो ।

जम्मा गर्न इच्छुक जोकोही महानुभावका लागि ढोका खुल्ला राखिएको बताउँदै एसोसिएसनले चन्दा दाताहरुको रकम र नाम समेत पछि सार्वजनिक गर्ने जनाएको छ ।

जम्मा हुने रकम एसोसिएसनको विपद् राहत कोषमा जम्मा हुनेछ र एक मुष्ठ रुपमा पीडितलाई एसोसिएसनले हस्तान्तरण गर्ने समेत अध्यक्ष श्रेष्ठले बताए ।

 

एसोसिएसनको विज्ञप्ति

 

 

...

आइतबार, २९ साउन, ०७४

 

प्रतिक्रिया

Related