सवारीमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान सुरु, सरकारी सवारीलाई अनिवार्य

‘इम्बोस्ड नम्बर प्लेट’को आयु १० वर्ष हुने
निर्माण सञ्चार, काठमाडौँ | आज भदौं ५ बाट सरकारले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान कार्य सुरु गरेको छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ सरकारी सवारीलाई अनिवार्य गरिएको छ भने निजी सवारीलाई अनिवार्य गरिसकेको छैन ।

यातायात व्यवस्था विभागका अनुसार पहिलो चरणमा सरकारी र कूटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान सुरु गरेको हो ।

त्यस्तै बाग्मती अञ्चलमा दर्ता भएका निजी सवारीधनीले पनि आफ्नो सवारिमा स्वेच्छिक रुपमा इम्बोस्ड जोड्न पाउनेछन् ।

केही समयभित्रमा भने क्यालेण्डर बनाएर इम्बोस्ड प्लेटलाई सबै सवारीमा अनिवार्य रुपमा लागू गर्दै लैजाने तयारी भइरहेको विभागका प्रवक्ता डा. टोकराज पाण्डेले बताए ।

यसैक्रममा काठमाडौंका निजीसहित सरकारी–संस्थान र कूटनीतिक नियोगका सवारीका नम्बर प्लेटहरुलाई इम्बोस्ड प्रविधिमा रुपान्तरण गर्ने तयारी भएको पाण्डेले जानकारी दिए ।

त्यसपश्चात् जतिसक्दो छिटो बाग्मती बाहिर वितरण गर्ने विभागको योजना रहेको छ ।

यता इम्बोस्ट नम्बर प्लेट लागू गर्ने जिम्मा पाएको बंगलादेशी र अमेरिकी संयूक्त कम्पनी डेकाटुर टाइगर आइटीले भने इम्बोस्ड नम्बर प्लेट छाप्न सबै तयारी सकाएको छ ।

मिनभवनस्थित विभागको भवनमा मेसिन र उपकरण जोडेर छाप्ने कामको समेत सबै तयारी गरिएको छ ।

टाइगर डेकाटुरले यो प्लेट लागू गर्न भ्याटबाहेक ३८.७५० मिलियन अमेरिकन डलर अर्थात् ४ अर्ब ५ करोड रुपियाँ ठेक्का पाएको हो ।

गत असोजबाटै इम्बोस्ड लागू गर्ने भनिएको थियो । अब सो कम्पनीले ५ वर्षभित्र २५ लाख सवारीको इम्बोस्ड प्लेट छापेर सरकारलाई दिनेछ ।

अबको ५ वर्षभित्र देशभरका सबै सवारीमा इम्बोस्ड प्लेट जोडिसक्ने लक्ष्य रहेको छ ।

 

इम्बोस्ड प्लेट आफ्नो सवारीमा जोड्न चहानेले यातायात कार्यालयमा गएर आफ्नो सवारीको विवरण भर्नुपनेछ ।

हालको नम्बर प्लेट झिकेर इम्बोस्ड प्लेट राख्न छु्ट्टै दस्तुर तिर्नुपर्ने छ ।

यसैगरी मन्त्रिपरिषदेले गरेको निणर्यअनुसार दुईपांग्रे मोटरसाइकल तथा स्कुटर धनीले इम्बोस्ड जडान गर्दा २ हजार ५ सय रुपियाँ खर्च गर्नु पर्नेछ ।

यता टेम्पो लगायत तीन पांग्रे साना सवारीमा भने सो प्लेट जोड्न २ हजार ९ रुपियाँ राजस्व लाग्ने भएको छ ।

त्यस्तै इम्बोस्ड नम्बर जडान गर्दा कार, जीप,भ्यान तथा ट्र्याक्टरले ३ हजार २ सय र यसबाहेकका सबै प्रकारका ट्रक, बस लगायत ठूला सवारी साधनले ३ हजार ६ सय रुपियाँ शुल्क तिर्नुपर्नेछ ।

उक्त इम्बोस्ड नम्बर प्लेटको आयु भने १० वर्षको हुने विभागले जनाएको छ ।

...

सोमबार, ५ भदौ , ०७४

प्रतिक्रिया

Related