आंशिक प्राध्यापकले थुने त्रिविका भिसी, रेक्टर र रजिस्ट्रारलाई

विश्वविद्यालयहरुका सेवामा प्रवेशको अवसर लगभग सिन्डिकेट जस्तै बन्दै आएको आंशिक आन्दोलनकर्ताहरुको भनाइ
निर्माण सञ्चार, काठमाडौं । विगत लामो समयदेखि आन्दोलनरत आंशिक प्राध्यापकहरुले त्रिभुवन विश्वविद्यालयका भिसी, रेक्टर, र रजिस्ट्रारलाई कार्यकक्षमै थुनेका छन् ।

विश्वविद्यालयहरुका सेवामा प्रवेशको अवसर लगभग सिन्डिकेट जस्तै बन्दै आएको आंशिक आन्दोलनकर्ताहरुको भनाइ छ । आफूहरुले राखेको माग उपर कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले पदाधिकारीलाई कार्यकक्षमै थुनेका हुन् ।

उनीहरुले जनप्रशासन क्याम्पस बल्खु परिसरभित्र साढे चार बजेदेखि थुनेर राखेका छन् ।

विश्वविद्यालयहरुमा आंशिकका नाउँमा सेवारत व्यक्ति बुढो हुँदासम्म कुनै ग्यारेन्टी नहुनु संविधानले प्रदान गरेको रोजगारीको हक विरुद्ध रहेको उनीहरुको आवाज छ ।

आंशिक सेवालाई खारेज गर्न र करार सेवामा नियुक्त गर्न माग गर्दै प्राध्यापकहरु गत वैशाख १ गतेदेखि चरणवद्ध आन्दोलनमा छन् ।

आंशिक प्राध्यापक संघ संघर्ष समितिका सदस्य ठमिन्द्र खतिवडाले आफूहरु जिन्दगीका सबै कुराहरु दाउमा राखेर कुनै पनि मूल्यमा आन्दोलन सफल गराउन होमिएका बताए ।

उनले भने, ‘जबसम्म हाम्रा माग पूरा हुँदैनन् तबसम्म कार्यकक्षबाट पदाधिकारीलाई कतै पनि जान दिदैनौं ।’

यसअघि त्रिविको मुख्य गेटमा अनसन बसेका प्राध्यापकहरुले केही दिनयता प्रधानमन्त्री निवास बालुवटारमा धर्ना दिँदै आएका छन् ।

आज पनि धर्नाको कार्यक्रम सकेर बल्खु पुगेका उनीहरुले भिसी, रेक्टर, र रजिस्ट्रारलाई थुनेका हुन् ।

कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आंशिक प्राध्यापकहरुको माग सम्बोधनका लागि सकारात्मक भए पनि त्रिवि पदाधिकारीले चासो नदिएको उनीहरुको आरोप छ ।

संघर्ष समितिका खतिवडाले भने, ‘कुलपति लगायत सबैजना हाम्रो माग प्रति सकारात्मक छन्, तर त्रिविका पदाधिकारीहरुले कानमा तेल हालेर बस्नाले समस्या सुल्झिएको छैन ।’

आंशिक आन्दोलनकारीहरुले आफ्नो माग सम्बोधन गराउन भन्दै सरकारलाई दबाव दिइरहेका छन् ।

गत साउन २६ गते त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा तालाबन्दी सहित उनीहरु आन्दोलनमा उत्रिएका छन् ।

 

...

सोमबार, ५ भदौ, ०७४

 

प्रतिक्रिया

Related