फर्निचर एक्स्पो– नेपाली ब्रान्ड हुँदै छ स्थापित, अघिल्लो वर्ष भन्दा भिजिटर बढ्दो

हरेक वर्ष नयाँ नयाँ फर्निचर, उपभोक्ताका लागि सस्तो र सुलभ
निर्माण सञ्चार, काठमाडौं । विगत पाँच वर्षदेखि नेपाली ब्रान्ड स्थापित गर्ने उद्देश्यले प्रदर्शनी हुँदै आएको नेपाली ब्रान्डका फर्निचरहरु यस पटक पनि प्रदर्शनीमा चम्किएका छन् ।

नेपालीहरु बिच लोकप्रिय बन्दै र ह्याबिटकै रुपमा विकास हुँदै गएका नेपाली ब्रान्डका फर्निचरहरुको एक्स्पो गराउनुको उद्देश्य नेपालीहरुमा नेपालकै फर्निचरहरु सस्तो र गुणस्तरीय रहेको पुष्टि गर्नु रहेको आयोजक फर्निचर एन्ड फर्निसिङ संघ काठमाडौँले निर्माण सञ्चारलाई बतायो ।

यतिबेला भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ चलिरहेको छ ।

पाचौँ फर्निचर तथा फर्निसिङको सो मेलामा विभिन्न थरीका फर्निचरका सामानहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएका छन् । एक्सपोमा घरायसी तथा व्यवसायिक प्रयोजनका लागि प्रयोग हुने अत्याधुनिक डिजाइनका काठ तथा प्लास्टिकका फर्निचरहरु राखिएका छन् ।

फर्निचर तथा फर्निसिङ्ग मेलाका टाइटल स्पोन्सरको रुपमा ‘जेम होम कलेक्सन प्रा.ली’ रहको छ भने प्रमुख स्पोन्सरका रुपमा ‘यती फ्लोरिङ, एम डी फर्निचर र हेरिटेज रहेको आयोजकले बतायो ।

मेलामा व्यवसायीहरुले ४७ वटा ठूला र १९ वटा साना स्टल राखेका छन् ।

एक्स्पोमा राखिएको सामान खरिदमा मेला अविधिभर ३० प्रतिशतसम्मको छुट दिइएको छ । भदौ ४ बाट सुरु भएको यस मेला भदौ ८ गतेसम्म रहने छ ।

१० बजेदेखि ६ बजेसम्म खुल्ला रहँदै आएको सो मेला मंगलबार बाट भने १ घन्टा समय बढाइएको छ । मेलामा भएका स्टलमा २० हजारदेखि ७० हजार रुपियाँ बराबरका वार्डड्रब राखिएका छन् ।

जसमा एक वर्षसम्मको वारेन्टी रहेको छ । साथै एकै स्थानमा विभिन्न कम्पिनका उत्पादनहरु छानीछानी हेर्न र सबैतिरको भाउ बुझेर किन्न पाउने हुँदा उपभोक्ताको आर्कषण समेत बढेको छ ।

आयोजक संघका काठमाडौंका अध्यक्ष राजेश अग्रवालले मेलामा ५० हजारसम्म आगन्तुक भित्राउने योजना रहेको बताए । मङ्गलबारसम्म करिब २५ हजार आगन्तुकले भ्रमण गरिसकेका छन् ।

सामान बिक्रीका लागि भन्दा पनि नेपाली ब्रान्ड कस्तो छ भनेर आमउपभोक्तालाई बुझाउन र नेपाली उत्पादनको विस्तारमा वृद्धि गर्नु संघको मुख्य उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

नेपालमा आम मानिसले बढी विदेशी सामान खरिद गर्ने तर नेपाली उत्पादनको बारेमा थाहा नहुनाले पनि यो मेलाले आमउपभोक्तालाई नेपाली गुणस्तरीय उत्पादबारे जानकारी दिनु पनि संघको उद्देश्य रहेको अध्यक्ष अग्रवालको भनाइ छ ।

 

...

मंगलबार, ६ भदौ, ०७४

 

प्रतिक्रिया

Related