मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति र रजिस्ट्ररले नै दिए फर्जी सम्बन्धन

‘नेपाल इन्जिनियरिङ कलेज प्राली’ का नाउँमा यस्तो छ शैक्षिक माफियागिरी, सम्बन्धन लिन एनजिओलाई फर्जी प्रालि बनाइयो
निर्माण सञ्चार, काठमाडौं । सामाजिक संस्थाका रुपमा कार्यरत एनजिओबाट फर्जी प्रालि बनाएर नेपाल इन्जिनियरिङ कलेजलाई निजीकरण गरेका सञ्चालकहरुले मध्यपश्चिम विश्वविद्यालयबाट सम्बन्धन लिएका छन् ।

विश्वविद्यालयको सम्भाव्यता अध्ययन कार्यदललाई मिचेर विश्वविद्यालयका उपकुलपति र जिस्ट्रार नै फर्जी कम्पनीलाई सम्बन्धन दिन सञ्चालकहरु सँग मिलेमतो गरेको खुलासा भएको हो ।

यो घटनाले शैक्षिक संस्थाका जिम्मेवार पदाधिकारी नै कसरी ‘माफियागिरी’मा संलग्न हुन्छन् भन्ने घटिया चरित्रलाई समेत उजागर गरेको छ ।

सञ्चालकहरुले सामाजिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजलाई गत वैशाख २५ गते नेपाल इन्जिनियरिङ कलेज प्रालि नामक फर्जी कम्पनी बनाएका थिए ।

उक्त संस्थाले सबैभन्दा पहिले पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएको थियो । आफूले चाहेको विषयमा मध्यपश्चिमबाट सम्बन्धन लिनका लागि नक्कली कम्पनी खडा गरेको खुलेको हो ।

जसलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्बन्धन दिएको छ ।

विश्वविद्यालयका पदाधिकारीद्वयले इन्जिनियरिङ संकायका डिनको असहमतिकै बीच साउन २९ गते बसेको एमयू कार्यकारी परिषद् बैठकले नेपाल इन्जिनियरिङ कलेज प्रालिलाई सम्बन्धन दिने निर्णय गराएको खुलेको छ ।

डिन यमबहादुर कार्कीले ‘विवादास्पद’ कम्पनीबाट सञ्चालित हुने कलेजलाई सम्बन्धन दिन नहुने धारणा उक्त परिषद् वैठकमा राखेका थिए ।

डिन कार्कीलाई पदाधिकारीले सुन्दै नसुनेको गुनासो राखेका छन् ।

अचम्म लाग्दो कुरा के छ भने, विश्वविद्यालयका उपकुलपति प्राडा उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार महेन्द्रकुमार मल्लले सम्भाव्यता अध्ययन कार्यदलको सुझाव समेत अटेर गर्दै आफैले प्रतिवेदन तयार पारेको पाइएको छ ।

इन्जिनियरिङ संकायका डिन ललितविक्रम राणा पनि एमयुबाट यस्ता नक्कली कम्पनीलाई सम्बन्धन दिन नहुने अडानमा सुरुदेखि नै थिए ।

उनले भौतिक पूर्वाधार अवलोकन पछि वैधानिक संस्था हो कि होइन र कागजात पनि छ या छैन भन्ने पनि नहेरीकनै सम्बन्धन दिएको बताएका छन् । स्रोत अनुसार उपकुलपतिको ‘पर्सनल इन्ट्रेस्टका कारण सम्बन्धन दिइएको खुलेको हो । 

किन भयो यस्तो ? यसबारे जिज्ञासा राख्दा सामाजिक संस्थाको सम्पत्ति निजीकरण गर्न नपाइने हुँदा कलेज सञ्चालकले मिल्दोजुल्दो नाम राखेर फर्जी कम्पनी दर्ता गरेको पाइएको हो ।

यता डा गोविन्द केसी जस्ता व्यक्तिहरु भने मध्यपश्चिम क्षेत्रमा सामुदायिक कलेजलाई सम्बन्धन दिनु पर्ने तर राजधानीका ‘विवादास्पद’ कलेजलाई सम्बन्धन दिन नहुने आन्दोलनमा छन् ।

शिक्षा ऐन समेत तयार पार्नमा रातारात मिलेमतो गर्दै आएको माफिया समूहले जताततै यस्तै कामहरु गरिरहेका छन् ।

डा केसीको आन्दोलनकै बेला त्रिवीका उपकुलपति तीर्थ खनियाले पनि नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएका छन् । जुन कलेका सबै कागजात फर्जी रहेको खुलेको छ ।

केन्द्रीय क्याम्पस पूर्वाधार सम्पन्न र सञ्चालित कार्यक्रमको पाठ्यक्रम नबन्दै राजधानीका निजी कलेजलाई सम्बन्धन दिएकोमा असन्तुष्टि बढिरहेका बेला मध्यपश्चिम विविले भने यस्तो फर्जी कम्पनीलाई सम्बन्धन दिएर अर्काे माफियागिरी गरेको हो ।

स्मरणरहोस्, एमयूले स्थापनाको ८ वर्षसम्म एउटा पनि आंगिक क्याम्पस सञ्चालन गर्न सकेको छैन । केन्द्रीय क्याम्पसमै इन्जिनियरिङ संकायले स्नातकोत्तरका कार्यक्रम चलाउन सकेको छैन ।

मानविकी संकायमा स्नातक पढेकाहरू स्नातकोत्तरका लागि राजधानी जानुपर्ने बाध्यता छ ।

योसँगै एमयूले नेपाल इन्जिनियरिङ कलेज प्रालिसँगै राजधानीका ग्लोबल इन्टरनेसनल कलेज अफ म्यानेजमेन्ट र प्रेसिडेन्सियल बिजनेस ग्रुपलाई पनि सम्बन्धन दिने निर्णय गरेको छ ।

 

...

सोमबार, १२ भदौ, २०७४

 

प्रतिक्रिया

Related