उत्तर कोरियाले हान्यो जापानी आकाशमा क्षेप्यास्त्र, जापानभर आतंक

निर्माण सञ्चार, एजेन्सी । गएराति सबेरै बिहान उत्तर कोरियाले जापानी आकाशमा फेरि पनि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापानभर आतंक फैलिएको छ ।

क्षेप्यास्त्र जापानको उत्तरी होकाइदो टापुको करिब ३ हजार किलोमिटरसम्म पुगेर समुद्रमा खसेको थियो । जापान सरकारले आफ्ना नागरिकहरुलाई सुरक्षित र सतर्क रहन यतिबेला अपिल गरिरहेको छ ।

उत्तर कोरियाले एकाबिहानै फालेको क्षेप्यास्त्र जापानी आकाश पार हुँदै समुद्रमा खसेको थियो ।

जापानको आकाशमा भने उत्तर कोरियाली क्षेप्यास्त्र आइपुगेको यो पहिलो घटना रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् ।

उत्तर कोरियाली क्षेप्यास्त्र जापानी आकाशमा पुगेपछि त्यहाँ सजग गराउने साइरन बजेको थियो । सरकारले मानिसहरुलाई भुइँतला वा पक्की घरमा लुक्न आग्रह गरेको थियो ।

सतर्क रहन मोबाइलमा म्यासेज समेत गरेको थियो । जापानी सरकारी समाचार संस्था एनएचकेका अनुसार उक्त मिसाइल समुद्रमा खस्नु अघि नै आकाशमा तीन टुक्रा भएको थियो ।

यद्यपि त्यसले क्षति पुर्‍याए-नपुर्‍याएकोबारे केही खुलेको छैन ।

उत्तर कोरियाले यसअघि अमेरिकाको गुआम टापुमा आक्रमणको धम्की दिएको थियो । गुआम दक्षिण पूर्वी जापानबाट २ हजार किलोमिटरको दूरीमा पर्दछ ।

योसँगै अमेरिका उत्तरकोरिया बिच समेत द्वन्द्व पैदा भएको थियो ।

उत्तर कोरियाले गत शुक्रबार र शनिबार पनि सानो दूरीका तीनवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । जापानी प्रधानमन्त्री शिन्जो आबेले उत्तर कोरियाले प्रहार गरेको यो क्षेप्यास्त्र परीक्षण गम्भीर र देशका लागि खतरा भएको प्रतिक्रिया दिएका छन् ।

उनले जापानी नागरिक र जापानमा बस्दै आएका विदेशी नागरिकहरुको सुरक्षाका लागि सरकारले भरमग्दुर प्रयास गरिरहेको बताएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आए पनि गत आठ वर्षभित्र जापानी आकाशसम्म पुगेको यो पहिलो घटना भएको अधिकारीहरुको जिकिर छ ।

तनाव बढ्ने अनुमान

उत्तर कोरियाको यो क्षेप्यास्त्र परीक्षणपछि जापान र उत्तर कोरियाबीच तनाव बढ्न सक्ने अनुमान गरिएको छ । जापान सरकारका मुख्यसचिव योशिहिदे सुगाले उत्तर कोरियाली परीक्षणको जवाफस्वरुप उपयुक्त कदम चाल्ने बताएको बीबीसीले लेखेको छ ।

मंगलबार बिहान परीक्षण गरिएको उत्तर कोरियाको मिसाइललाई ध्वस्त पार्न जापान सरकारबाट कुनै प्रयास समेत नभएको समाचारमा जनाइएको छ ।

 

 

...

मंगलबार, १३ भदौ, २०७४

 

प्रतिक्रिया

Related