किन अंग्रेजीमै इम्बोस्ड नम्बर प्लेट ? प्रदेश सभाको निर्वाचन अघि नै किन गरियो वितरण ?

निर्माण सञ्चार,काठमाडौं | यतायात व्यवस्था विभागले भदौ ५ गते सवारी साधानमा इम्बोस्ड नम्बर प्लेट सुरु गर्यो ।

उच्च प्रविधिमा आधारित तथा सवारी ट्रयाकिङ पनि गर्न सक्ने नम्बर प्लेटको जडान सुरुवातमै भने सकारत्मक चर्चाको विषय बन्यो ।

तर नम्बर प्लेटका डिजाइन सार्वजनिकपछि भने इम्बोस्ड नम्बर प्लेटको विवाद उत्पन्न भएको छ ।

हामीले नम्बर प्लेटमा प्रयोग गर्न छोडेको प्रशासनिक इकाई–अञ्चल प्रयोग गरियो ।

पहिलो सार्वजनिक इम्बोस्ड नम्बर प्लेटमा बाग्मती अञ्चल लेखिएको थियो, अंग्रेजी अक्षरमा !

यसै विषयमा प्रश्न खडा भयो– नेपाली अक्षर खोइ ? संघीयतामा गएपछि पनि किन अञ्चल ? उच्च प्रविधिको इम्बोस्ड नम्बर प्लेट जडान शुरु गरिएको समय झनै अनुपयुक्त देखियो ।

सवारी साधनको नम्बर प्रदेशको निर्वाचन भएपछि प्रादेशिक पहिचान सहित वितरण हुनेछन् ।

यस प्रदेश सभाको निर्वाचन हुनु केही महिना पहिले किन इम्बोस्ड नम्बर प्लेट शरु गरियो ? हाल परिवर्तन गरिएको नम्बर प्लेट पुन पैसा खर्च गरेर केही महिना पछि नै किन परिवर्तन गर्ने ? सवारी साधन धनीलाई दोहोरो झन्झट भएन ?

इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कम्पनीसँगको टेण्डरमा रहेको सम्झौता अनुसार जरीवाना तिर्नबाट बच्न सो प्लेट सुरुवात गरिएको व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।

‘यस प्लेटको सुरुवात गर्न ढिला भइसकेको थियो, भदौबाट भने बल्ल सुरु भयो, भट्टराईले भने,‘ यस भन्दा ढिला गरेको भए हामीले जरीवाना तिर्नुपथ्र्यो ।

हाल नम्बर प्लेट परिवर्तन गरेको व्यक्तिलाई भने पछि निःशुल्क परिवर्तन गरिदिने व्यवस्था मिलाउने यातायात व्यवस्था विभागका निर्देशक समेत रहेका प्रवक्ता टेकराज पाण्डेले दावी गरे ।

पहिलो चरणको कार्यान्वयन पछि मात्र कसरी अगाडि बढ्ने भन्ने तय गर्ने प्रवक्ता पाण्डेले जानकारी दिए ।

बाग्मति अञ्चल उल्लेख गरिएको कुरामा पाण्डेले भने प्रदेश नभए पनि अहिले जिल्लाले नागरिकता दिएको छ, त्यस्तै नै हो ।

तर सवारी साधनको नम्बर नागरिकता जस्तो जग्गा पास गर्न, खाता खोल्न वा अन्य कुनै कामका लागि बाध्यकारी छैन ।

प्रदेश गठन हुन ढिलो हुने भएपछि हाल नै अञ्चलको नाम लेखेर हतारमा सो प्लेट वितरण शुरु गर्नुपर्ने जरुरी भने थिएन ।

प्रदेश सरकारले पछि आफ्नो नाम राख्न सक्ने गरी सफ्टवेयर डिजाइन गरिएको उनले बताए ।

प्रदेशको पहिचान राख्न नम्बर प्लेटमा स्पेस छ, पछि राख्न सकिन्छ भन्दै पाण्डेले अहिले अञ्चल कार्यालय भएकै कारण बाग्मती उल्लेख गरेको बताए ।

यता यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने अन्तर्राष्ट्रिय स्तरको बनाउनकै लागि अंग्रेजी राख्ने निर्णय गरिएको दावी गरे ।

‘यसअघिको टेण्डर गर्दा नै अन्तराष्ट्रियस्तर र अंग्रेजीको निर्णय भएको रहेछ,’ भट्टराईले भने, ‘पासपोर्ट पनि त अंग्रेजीमा हुन्छ ।’

अहिलेसम्म नेपालमा नेपाली भाषामै नम्बर प्लेट राख्ने प्रचलन छ। कुनै सवारीले सवारी दुर्घटना गराएर फरार भएको अवस्थामा अंग्रेजी नबुझ्ने सर्वसाधारण भने यस्तोमा मर्कामा पर्नेछन् ।

उनले अन्तर्राष्ट्रिय प्रचलन भने पनि जापान, चीनलगायतका मुलुकमा सोही देशकै भाषाका नम्बर प्लेट प्रयोग हुने बताए र अंग्रेजीमा नंम्बर प्लेट राखिनुको मुख्य कारण अर्कै छ।

नेपाली भाषाको देवनागरिक लिपी इम्बोस्ड नम्बर प्लेट डिजाइन गर्ने सफ्टवेयरमा नभएका कारण अंग्रेजीमा नंम्बर प्लेट राखिएको हो।

‘अब नेपाली राख्ने हो भने सफ्टवेयर परिवर्तन गर्नुपर्छ,’ भट्टराईले भने। नेपालले इम्बोस्ड नंम्बर प्लेट राख्ने विषयमा २ वर्ष अघि टेण्डर गरेको थियो।

टेण्डर हात पारेको थियो अमेरिकी ज्वाइन्ट भेञ्चर रहेको बंगलादेशी कम्पनी डेकाटोर(टाइगरले)। डेकाटोर टाइगरसँगको सम्झौता अनुसार नेपालले वैशाखबाट इम्बोस्ड नम्बर प्लेट राख्नुपर्थ्यो।

डेकाटोर(टाइगर) र नेपालबीच पाँच वर्षमा सबै नंम्बर प्लेट इम्बोस्ड गरिसक्ने सम्झौता छ। उक्त कम्पनीले झण्डै ४ अर्ब रुपैयाँमा इम्बोस्ड नम्बर प्लेट राख्ने ठेक्का पाएको हो।

इम्बोस्ड नम्बर प्लेट जडान भए पनि यसको उपयोग भने तत्काल हुनेछैन।

सवारी कर तिरे नतिरेको जाँच, सवारी साधनको ट्र्याकिङ गर्न, रेडियो फ्रिक्वेन्सी जाँचका लागि आवश्यक गेट निर्माणको अझै सुरुवात भएको छैन।

राजधानी छिर्ने ५ नाकामा गेट निर्माण गर्ने योजना विभागले बनाए पनि जग्गा समेत छनोट गर्न सकेको छैन।

यातायात विभागले टेण्डर सम्झौता गरेको कम्पनीसँग जरीवाना तिर्नबाट बच्न इम्बोस्ड नम्बर प्लेट शुरु गरे पनि अहिले नै नम्बर प्लेट परिवर्तनको कुनै दबाब सर्वसाधारणलाई छैन।

प्रदेशको नामाकरण पछि पुन परिवर्तनको झन्झटबाट बच्ने हो भने सवारी धनीले इम्बोस्ट नम्बर प्लेट अहिले नफेरेकै राम्रो । 

...

शुक्रबार, १६ भदौ, ०७४

प्रतिक्रिया

Related