भक्तपुर इँटा उद्योगी व्यवसायी संघको २६ औं साधारण सभा सम्पन्न

धुँवा होइन बाफ मात्रै उडाउन व्यवसायीलाई अनुरोध
निर्माण सञ्चार, भक्तपूर | भक्तपूर इँटा उद्योगी व्यवसायी संघको २६ औ साधारण सभा तथा १५ औं जिल्ला अधिवेशन शुक्रबार भक्तपूरमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल किसान मजदूर पार्टीका अध्यक्ष नारायणमान विजुक्छे रहेका थिए ।

साथै भक्तपुर जिल्लाका जिल्ला अधिकारी, नेपाल प्रहरीका एस पी किरन राना तथा नेपाल इँटा उद्योगी व्यवसायी महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्रकार लगायत इँटा उत्पादक तथा व्यवसायीको बाक्लै उपस्थिति रहेको आयोजकले निर्माण सञ्चारलाई बतायो ।

अधिवेशनमा निर्माण क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने इँटा उत्पादनका क्रममा व्यवसायीले झेल्नुपरेका समस्याका विषयमा समेत चर्चा भएको थियो ।

अधिवेशनमा प्रमुख अतिथि विजुक्छेले इँटा उत्पादन र यसको गुणस्तरीयताका बारेमा व्यवसायीले ध्यान दिनु पर्ने बताए ।

उनले इँटा उत्पादनका क्रममा अत्यधिक मात्रामा धुँवा निस्कने र यसले वातावरण र मानव स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने हुँदा सबै व्यवसायीले परम्परागत प्रविधिलाई त्यागेर नयाँ प्रविधिको प्रयोग गर्न समेत सुझाव दिए ।

त्यस्तै कार्यक्रममा इँटा उत्पादक व्यवसायी महासंघका अध्यक्ष चित्रकारले इँटा उत्पादक व्यवसायीलाई इँटाको गुणस्तर कायम गर्नका लागि आवश्यक माटो तथा जनशक्तिको अभाव हुँदै गएकाले पनि काम गर्नमा कठिनाइ सिर्जना भएको बताए ।

भूकम्पपछि निर्माणको कार्य बढेसँगै इँटाको मागमा पनि वृद्धि आएको छ तर भूकम्पको समयमा क्षति पुगेका सबै भट्टाहरु सञ्चालनमा नआइसकेको हुँदा माग भए अनुसारको इँटा उत्पादन गर्न नसकिएको चित्रकारले बताए ।

कार्यक्रमका सभापति तथा भक्तपुर इँटा उत्पादक संघका अध्यक्ष नातिभाइ हयोम्बाले भक्तपुरमा नयाँ बनेका नगरपालिकाले एक इँटा भट्टा बराबर वार्षिक ३ लाख रुपैयाँ कर तिर्नुपर्ने निर्णय गरेका छन् ।

‘जुन निर्णय सरकारले एकपक्षीय रुपमा गरेको भन्दै व्यवसायीले विरोध समेत गरेका छन्,’ उनले भने,‘सरकारको यही निर्णयलाई कायम राख्ने हो भने हामी इँटाको भाउ बढाउन बाध्य हुन्छौं ।’

यसले गर्दा आम उपभोक्ताले अहिलेको भन्दा बढी मूल्य तिर्नुपर्ने हुन्छ ।

जबकि यस अघि जिल्ला विकास समितिले वार्षिक रु ७५००० कर उठाउँदै आएको थियो, चित्रकारले निर्माण सञ्चारलाई जानकारी दिए ।

सरकारले इँटा भट्टा र बस्ती विकासका लागि आवश्यक कुनै नीति नल्याएका कारण भक्तपुरमा केही वर्ष अगाडि खुलेका भट्टा नजिकै बस्ती विकास भएको छ ।

यसले व्यवसायी तथा स्थानीय वासीलाई पनि समस्या पर्दै आएको व्यवसायी राजाराम न्हिसुतुले निर्माण सञ्चारलाई बताए ।

...

आइतबार, २५ भदौ, ०७४ 

प्रतिक्रिया

Related