कृषिमा बैंकको लगानी बढ्दै, यस्तो छ आँकडा

निर्माण सञ्चार, काठमाडौं | कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी एक खर्ब नजिक पुगेको छ ।

वैंकिङ क्षेत्रले कृषिमा गरेको कर्जा प्रवाह पछिल्लो एक वर्षमा १४ प्रतिशतले वृद्धि भइ ९० अर्ब ४ करोड १२ लाख पुगेको हो ।

आर्थिक वर्ष ०७१–७२ मा कृषि क्षेत्रमा ७८ अर्ब ७९ करोड ऋण प्रवाह भएकोमा गत वर्ष ११ अर्ब २४ करोड रकम थप लगानी भएको राष्ट्र बैंकको तथ्यांक छ ।

सरकारले कृषि ऋणलाई प्रोत्साहन गरेपछि यसको परिमाण निरन्तर बढेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारको नीतिअनुसार लक्ष्य नपुगे पनि कृषि क्षेत्रको कर्जा प्रवाह भने बर्सेनि बढ्दो छ ।

राष्ट्र बैंकका अनुसार तीन वर्ष अघिसम्म आव ०७१–७२ सम्म यस क्षेत्रमा ६५ अर्ब लगानी थियो ।

पछिल्लो ६ वर्षमा कृषि क्षेत्रको कर्जा प्रवाह तीन गुणाभन्दा बढीले वृद्धि भएको छ ।

तथ्यांकअनुसार आव ०६८–६९ मा २८ अर्ब ७९ प्रतिशत कर्जा प्रवाह भएकोमा आव ०६९–७० मा १० अर्ब थपिँदै ३९ अर्ब ७८ करोड पुगेको थियो । त्यसपछिका वर्षमा पनि कृषि कर्जाको वृद्धिदर बढ्दो क्रममा छ ।

जसअनुसार आव ०७०–७१ मा ५० अर्ब ९१ करोड रहेकोमा आव ७१–७२ मा ६५ अर्ब १५ करोड पुगेको थियो । सरकारले ५ प्रतिशत सहुलियत व्याजदरमा कृषिकर्जाको व्यवस्था गरेको छ ।

वाणिज्य बैंकहरूले कुल लगानीको २० प्रतिशत कृषि, पर्यटन, ऊर्जा, घरेलु तथा साना उद्योग लगायतका उत्पादनमूलक क्षेत्रमा लगाउनुपर्ने सरकारी नीति छ ।

अघिल्लो आवमा कृषि र ऊर्जामा १२ प्रतिशत मात्र लगानी व्यवस्था रहेकोमा गत आवमा थप ३ प्रतिशत लगानी गर्नुपर्ने निर्देशन राष्ट्र बैंकको छ ।

सरकारी नीतिअनुसार लगानी बढाउन नसकेकोमा भने बर्सेनि बैंकिङ क्षेत्रको आलोचना हुने गरेको छ ।

लगानी वृद्धिको सकारात्मक तथ्यांकसँगै दुर्गमका कृषकसम्म बैंकिङ पहुँच पुर्याउनु पर्ने कृषि क्षेत्रका सरोकारवालाहरूको जोड छ ।

राष्ट्र बैंकका अनुसार कृषिमा सबैभन्दा बढी पशुपालनको क्षेत्रमा लगानी निरन्तर बढ्दो क्रममा छ ।

पशुपालनको क्षेत्रमा बैंकको लगानी अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले बढेर ३२ अर्ब ३२ करोड ४९ लाख पुगेको छ ।

पशुपालनपछि सबैभन्दा धेरै लगानी व्यावसायिक खेतीमा ११ अर्ब ४४ करोड ३९ लाख रकम लगानी भएको छ ।

गत वर्षसम्म यो लगानी अघिल्लो वर्षको तुलनामा १० प्रतिशत बढी हो ।

चिया उद्योगको लगानी भने १३.५ प्रतिशतले र वन, मत्स्य तथा बधशालाको लगानी पनि ९ प्रतिशतले घटेको छ ।

यद्यपि कृषिका अन्य क्षेत्रको लगानी भने २१ प्रतिशतले बढेर ७ अर्ब २३ करोड ६२ लाख पुगेको छ ।

...

सोमबार, २६ भदौ, २०७४ 

प्रतिक्रिया

Related