निर्माण व्यवसायी महासंघले मनायो २५औं रजत महोत्सव

निर्माण सञ्चार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले निर्माण व्यवसायीहरुलाई समयमै गुणस्तरीय निर्माण कार्य पुरा गर्न निर्देशन दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको स्थापनाको रजत जयन्ती समापन समारोह लाई सम्बोधन गर्दै मन्त्री लेखकले राज्यले राम्रो काम गर्ने व्यवसायीलाई सम्मान गर्ने र नराम्रो काम गर्ने व्यवसायीलाई कानूनी दायरामा ल्याउने बताएका हुन् ।

नेपाली व्यवसायीहरुले अब विश्व बजारमा प्रतिस्पर्धा गर्ने समय आएको मन्त्री लेखकले बताए । नेपालमा नै अब ठूलो निर्माण कार्य सुरु हुने भन्दै उहाँले त्यसका लागि नेपाली व्यवसायी पनि सक्षम हुनुपर्ने बताए ।

सोही अवसरमा नेपालको निर्माण क्षेत्रको विगत, वर्तमान र भविष्य समेटिएको विशेष स्मारिका निर्माण दर्पणको लोकार्पण गरिएको थियो ।

साथै निर्माण जगतमा योगदान गर्ने विभिन्न महानुभावलाई समेत सो अवसरमा सम्मान गरिएको थियो । महासंघका अध्यक्ष शरद्कुमार गौचनले व्यवसायी मैत्री ऐन कानुन तथा अन्य स्रोत साधन भएमा नेपाली व्यवसायीहरुले पनि विश्वको कुनै पनि कुनामा उत्कृष्ट काम गर्न सक्ने बताउनुभयो ।

 

............

२३ मंसिर, ०७३

प्रतिक्रिया

Related