आदिवासी जनजाति महासंघको अध्यक्षका लागि मेरो उमेद्वारी किन ?

छिन्नभिन्न जनजाति बिचको एकता गर्दै सरकारसँग हामीबिच भएका सबै सम्झौता पालना गराउनु मेरो पहिलो दायित्व हुने छ— भुजेल
सूचीकृत ५९ जाति रहेको आदिवासी जनजातिहरु कुल जनसंख्याको ३७ प्रतिशत रहेका छन् । यो समुदायमा आधारित भई राज्यको मूलधारमा पहिचानको खोज गरिरहेको आन्दोलन हो । यस समूहको नेता हुन भुजेल अल्पसंख्यक लोपोन्मुख जनजाति साथीहरुदेखि महासंघमा आब सबै मित्रहरुको आशा र भरोसाका एक मात्र व्यक्तित्व आफू रहेको दाबी गरिरहेका छन् ।

हाल १३ जनाको सचिवालय रहेको र आगामी दिनमा १९ जनासम्मको बनाउने चर्चा चलिरहेको महासंघमा एक जाति समुदाय बराबर २ जना प्रतिनिधि रहने व्यवस्था छ । एक जाति एक मत र एक उमेद्वारको ढाँचामा नेतृत्व अभ्यास गराइने यो आन्दोलनका अगुवाहरु स्थापना पछिको २४ वर्षीय यात्रामा यतिबेला मधेसवादी नेताहरुबाट धोखा खाएको बताउँदै आएका छन् ।

आदिवासी जनजातिका मागहरु आफूसँग भएको भन्दै आदिवासी जनजातिको हित विरुद्धको नारा ‘एक मधेस एक प्रदेश’को निहँुमा आदिवासी जनजाति आन्दोलन तुहाइदिएको समेत आरोप लगाइरहेका छन् यतिबेला । यो समुदायमा आधारित आन्दोलनका अगुवाहरुका भनाइमा मधेस भुगोल हो, त्यहाँ पनि जातीय समुदाय उत्पीडनमा छ, तिनका लागि मधेस छुट्टै प्रदेश नभई हिमाल, पाहाड र तराई नै जोडिएका तर जातीय पहिचान सहितको प्रदेशका पक्षमा यो आन्दोलन उभिएको बताउँछन् अध्यक्षका प्रत्यासी भुजेल । उनले आफूलाई अध्यक्षका दाबेदार बताइरहँदा के छन् त उनका मुद्दा र प्राथमिकता ? भन्नेबार निर्माण सञ्चारसँगको कुराकानी सारसंक्षेप—

कस्तो छ तपाई उभिनु भएको समुदायको अहिलेको आन्दोलनको अवस्था ?

मधेसवादी दलहरुलाई विश्वास गर्दा हाम्रो मुद्दा र आन्दोलनमा धोखा भएको हो कि भन्ने धेरै साथीहरुको गुनासो छ । संविधान निर्माणसँगै हामीले हाम्रो सरोकारको विषयलाई सशक्त उठाउन जरुरी थियो तर आफ्नो देशको भन्दा पनि कसैको एजेन्डाको घोडा चढेर मधेस आन्दोलनका नाउँमा हिडेका साथीहरुले वास्तविक उत्पीडत जाति र समुदायको आन्दोलनलाई नै धकेल्ने काम गरेका छन् ।

त्यसैले यतिबेला नयाँ नेतृत्व त्यस्तो आओस्, जसले विगतमा सरकारसँग भएका सम्भौता कार्यान्वयन गराउन पनि आन्दोलन उठाउन जरुरी, त्यसको नेतृत्व गर्न सक्ने इमानदार नेताको खाँचो महसुस भइरहेको अवस्था छ ।

अर्काेतिर, आदिवासी जनजाति साथीहरुका मनमा लागेको पीडा, अधिकार र कर्तव्यका सवालमा नयाँ शिराबाट आन्दोनल उठाउनु आवश्यक छ ।

तपाईको दाबी नै किन त ?

तपाईले ठिक प्रश्न सोध्नु भयो । मजस्तै अरु समुदायका साथीहरुले पनि अध्यक्षका लागि दाबी गर्न सक्ने छन् । र, हाम्रो संस्था आदिवासी जनजातिहरुको साझा छाता संगठन पनि हो ।

देशमा रहेका १८ लाख मगरदेखि थोरै संंख्या रहेका राउटे, कुसुन्डा साथीहरुले समेत आफूलाई योग्य नेतृत्यका रुपमा उठाउन सक्ने हाम्रो संरचना रहेको छ ।

एक जाति एक मत र एक उमेद्वार हाम्रो प्रणाली हो । जहाँसम्म अध्यक्ष पदका लागि मेरो उमेद्वारी नै किन भन्ने सवाल छ—

पहिलो हो, इमानदारितापूर्वक आदिवासी जनजातिको भावनाको नेतृत्व गर्न, दोस्रोे हो, छिन्नभिन्न बनाइएको यो आन्दोलनलाई पुनः एक ढिक्का बनाई सशक्त आन्दोलन उठाउन, तेस्रो हो, देशभरका सबै आदिवासी जनजाति मार्फत् प्राप्त संवैधानिक उपलब्धिलाई लिएर अझै अघि बढ्न,

चौथो, आदिवासी जनजातिसँग विगतमा गिरिजाप्रसाद कोइरालादेखि पुष्पकमल दाहाल सरकार सम्म गरिएका पटक पटकका सम्झौताको अक्षरशः कार्यान्वयन गराउन, प्रदेशहरुमा जातीय पहिचान सहितको विशेषाधिकार अवस्था ग्यारेन्टी गराउन मैले मेरो अध्यक्ष पदमा उमेद्वारी दिने घोषणा गरेको हुँ ।

आदिवासी जनजाति खासमा के हो ? र खास चाहना के हो ?

वास्तवमा आदिवासी जनजाति समुदायमा आधारित एक आन्दोलनको नाम हो । यसले सदीयौंदेखिको आफ्नो उत्पीडनको मूल्य खोजेको छ ।

त्यसैले आफ्नो पहिचानका लागि यो समुदाय आन्दोलित भएको हो ।

पहिचानले मात्रै अवसर प्रदान गर्ला र ?

वास्तवमै पहिचान भनेको राज्यको मूलधारमा आउनु, त्यसका लागि सबै सरहको समता र समानतामा आधारित समावेशी पूर्ण समानुपातिक हिस्सेदारी भयो भने त अवसर पनि त पाइन्छ नि ।

नाम मात्रै दिइने तर स्थानीय ठाउँमा स्रोत र साधनमाथि आत्मनिर्णयको अधिकार नहुने हो भने त यो पनि कागजको सम्झौता सरह मात्रै हुने हुन्छ ।

त्यसैले हामी जनसंख्या र भुगोलको नाउँमा आफ्नो जातीय पहिचान गुम्न दिन हुँदैन भन्ने पक्षमा छौं ।

तपाईलाई के लाग्छ, जातीय र क्षेत्रीय रुपमा विभाजित भएर देश, समाज र समुदायको हित हुन्छ र ?

वास्तवमा हाम्रो यही कुरा अरुले नबुझ्नु नै यो आन्दोलनको दुर्भाग्य बनेको छ । आदिवासी जनजातिको आन्दोलन अन्ततः मूलधारमै समावेश हुने चाहना हो । वास्तवमा हामीले मूलधारकै राजनीतिक नेतृत्वलाई सपोर्ट नै गर्ने हो । छुट्टै हो भन्ने अर्थ नलागोस् ।

मूलधारका राजनीति दलहरु अर्थात् राज्यसत्ताले यो माग सम्बोधन गरोस् भन्ने नै हाम्रो पनि चाहना हो । जातीय समुदायलाई सबल बनाउँदै राष्ट्रिय मूलधारमा ल्याउने भन्ने कुरा जति सकारात्मक छ, त्यति नै यो कुरा मूलधारका राजनीतिक दलहरुले सही अर्थमा नबुझ्नाले यो आन्दोलन पनि मधेसवादी क्षेत्रीय आन्दोलन हो कि भन्ने भ्रम पैदा भएको छ ।

म के भन्न चाहन्छु भने, जातीय समुदाय अन्ततः राष्ट्रकै एकाइ हुन् । यिनलाई सही ढंगले बुझ्ने र सही अर्थमा प्रयोग गर्नु पर्ने ठाउँमा कतै आन्दोलनमै लागेकाहरुको उग्रता र कतै आन्दोलनबाट बाहिर रहेकाहरुको स्वार्थका कारण यो आन्दोलन पनि सिकार बन्न पुगेको हो ।

जातीय घेरामा रहेर सानो हुदै जाने भन्ने नभएर सानो घेरादेखि नै सबल बन्दै राष्ट्रिय रुपमा नेतृत्व गर्ने, अवसरको बाँढफाँड गर्ने भन्ने नै हो ।

स्रोत साधनमा आत्मनिर्णयको अधिकार भनिरहँदा, पूर्वको कोसी र पश्चिमको महाकाली नदीलाई तारगेट गर्दै अहिले जसरी भातरले नेपालको संघीयतलाई नै अस्तव्यस्त बनाउने गरी भित्रभित्र नराम्रो चाल चल्दै छ भन्ने आएको छ, पछि स–साना राज्यहरु बन्न पुग्यो भने तत्कालीन ५०—६० भन्दा बढी टुक्रा रहेको कमजोर भारतलाई बलियो ब्रिटेनले निलेजस्तै नेपाललाई नै खतरा नहोला भन्ने के ग्यारेन्टी छ त ?

वास्तवमा यो डर पैदा हुनु र यसलाई आदिवासी जनजाति आन्दोलनले पनि चिर्न नसक्नु आहिलेको कमजोरी हो । हामी नेपाल कमजोर बनाउन नभई पुनःबलियो बनाउने अभियानमा लागेका हौं भन्ने सबैले बुझ्न नसक्ता सायद कोही अभियन्ताहरु पनि यस्तै कसै न कसैबाट परिचालित भएका पनि होलान् ।

तर, समग्रमा हामी देशलाई पहिलेको जमानाको जस्तो फुट र कमजोर तिर हैन, जुट र एकतातिर उचाल्दै छौं भन्ने मेरो बुझाइ छ ।

जहाँसम्म स्थानीय स्रोत साधनको आत्मनिर्णको कुरा छ, राष्ट्रिय स्वार्थका हकमा केन्द्रीय नेतृत्वले लिने निर्णायक अधिकार बाहेक स्थानीय स्रोतमा सबैभन्दा पहिले त्यही स्थानका जनताको अधिकारलाई स्थापित गर्नु पर्छ भन्ने हाम्रो कुरा हो ।

तपाई र मधेसवादी दलहरुमा भिन्नता चाहिँ के छ त ?

वास्तवमै भिन्नता देखिदै आएको छ अहिले । उहाँहरु भुगोल र टाउको गन्दै कसैको गोटी बन्दै हुनुहुन्छ भन्ने आरोप लागिसकेको छ । तर हामी त्यही मधेसमा पनि उत्पीडित जनता छन् । तिनको अधिकार मधेसवादी केही नेताहरुले यो पाराले उठाइरहेको देख्दा मलाई चैं अचम्म लागेको छ ।

मधेस त भुगोल हो तर उहाँहरु त्यहाँ जातीय अल्पसंख्यकहरु नै छैनन्, जातीय उत्पीडन नै छैन जस्तो गरी दौडनु भएको छ । यदि हो मधेस पनि अवसरबाट वञ्चित भयो भन्ने अर्थमा आन्दोलनको सहकार्य गरिएका पनि होलान्, तर उहाँहरु सतहमा हुनुहन्छ, हामी गहिराइबाटै समस्या सम्बोधन हुनु पर्ने दिशातिर छौं।

त्यसैले फरक छ ।


.........

आइतबार २६ मंसिर, ०७३ 

 

प्रतिक्रिया

Related