कस्ले बजाउँछ अब मुरली, रहेनन् गायक पन्नाकाजी

निर्माण सञ्चार, काठमाडौं|| पुराना तथा चर्चित गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा आज विहान निधन भएको छ ।

उनको बिहान साढे ५ बजे ताहाचलस्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको ‘तिरिरी मुरली बज्यो वनैमा' गीत निकै चर्चित हो ।

शरदकुमार शाक्यको शब्द रहेको गीतमा पन्नाकाजी आफैंले संगीत र स्वर दिएका थिए । विसं १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । २००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाएका उनले ०४० सालसम्म काम गरे ।

रेडियो नेपालले ०२२ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए भने पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए ।

उनले ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् ।

आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् । पन्नाकाजीका चार छोरा र एक छोरी छन् ।

दुई पुत्र प्रवेशमान शाक्य र पवित्रमान शाक्य गायन क्षेत्रमै क्रियाशील छन् ।

 

.......

आइतबार, १२ माघ, ०७३

प्रतिक्रिया

Related