यसरी जन्मियो नेपालमा सूर्य प्लाइ–उड, जसले क्वालिटीमा कहिलै कम्प्रोमाइज गरेन— सरावगी

निर्माण सञ्चार, काठमाडौं || प्लाइ–उड इन्डस्ट्रिजमा ‘पायनिर’ का रुपमा स्थापित छ सूर्य प्लाइ–उड । सूर्य प्लाइ–उडलाई प्लाइ–उड इन्डस्ट्रिजमा छुट्टै पहिचान दिलाउन सफल व्यक्तित्व हुन् देव आनन्द सरावगी । जसको जन्म झापाको भद्रपुरमा भएको थियो ।

एउटा गाउँबाट सहरमा आएर, एउटा स्वपनील युवा व्यवसायीले बजारमा कसैले नगरेको कामलाई लिएर स्थापित गरेको ब्रान्ड हो सूर्य प्लाइ–उड, जसका लागि उनी गर्व गर्छन् आज । यो ‘ब्रान्ड’ नाम स्थापित हुनुमा सरावगीले कुन त्यस्तो ‘चिज’को लगानी गरे ? उनको सिङ्गो जिन्दगी त यसका लागि खर्च भएको छ नै, त्यसमा उनको लामो सङ्घर्ष, लगाव र मेहनत, त्यो भन्दा पनि नयाँ ‘भिजन’ साँच्चै नै सराहनीय छ ।

‘विनर डु नट डु दि थिङ्स डिफरेन्ट, बट दे डु दि थिङ्क्स डिफरेन्ट्ली’ भनेजस्तै सरावगी नेपालमा सूर्य प्लाइलाई स्थापित गर्ने फरक अगुवा नै हुन् भन्नुमा अतिशयोक्ति हुँदैन । व्यवसाय मात्र नभई, व्यवसायलाई नै समाज सेवाका रुपमा जोड्न सक्ने उनको सोच नै आजका युवा र व्यवसायीका लागि फरकपन हो । विगत तिन दशकदेखि सुरु गरिएको यो कर्म नै आज इन्डस्ट्रिजका रुपमा विकास भएको हो ।

प्लाइउड म्यानुफ्याक्चर्स एसोसिएसनका संस्थापक अध्यक्ष समेत रहेका सरावगीसँग नेपालको प्लाइउड इन्डस्ट्रिजका सफलता, समस्या, बजार र उपभोक्ताको चासो र च्वाइस जस्ता विषयमा रहेर निर्माण सञ्चारले गरेको कुराकानीको संपादित अंश—

यही पेसालाई चै किन छान्नु भयो ?

जब मैले औपचारिक शिक्षा सकेँ, मेरा अगाडि के गर्ने भन्ने प्रश्न खडा भयो । र, मैले यो व्यवसाय रोजेँ । किनकि मलाई नेपाली व्यवसायिक बजारमा केही नयाँ काम गर्ने इच्छा थियो । मैले नेपालमा अत्यधिक सम्भावना भएको काठको कामलाई नै प्राथमिकता दिने सोच बनाएँ ।

कहिलेबाट सुरु गर्नुभयो ?

सायद, २०४० सालतिर होला, मैले व्यवसाय सुरु गरेँ । नेपालमा काठ छन् । तर मानिसहरुमा सदुपयोग गर्ने चेतना नरहेको मैले पाएँ । त्यसैले काठको सदुपयोग यसरी पनि गर्न सकिन्छ भनेर काठकै इन्डस्ट्रिजका रुपमा व्यवसायको सुरुआत गरेको हुँ ।

त्यसबेला नेपालमा काठको पनि व्यवसाय हुन्छ भन्ने सोच थिएन र ?

अहँ साँच्चिकै अनौठो थियो त्यतिबेलाका मानिसहरुमा सोच । काठको व्यवसायबारे कमै मानिसलाई थाह थियो । त्यस समयमा नेपालमा प्लाइउडको कन्सेप्ट आएकै थिएन ।

त्यसैले मेरो मार्केट नेपालभन्दा पनि भारत थियो । त्यो समयमा हामीले नेपालबाट प्लाइउडका लागि आवश्यक कच्चा पदार्थ भारत निर्यात गथ्र्यौं ।

सूर्य प्लाइउड नै चाँहि कसरी जन्मियो त ?

प्लाइउडका लागि आवश्यक कच्चा पदार्थ निर्यात गरिरहँदा देशमै पनि एउटा घटना घट्यो । हामी काममै व्यस्त हुन्थ्यौं ।

अचानक २०४५ सालमा नेपालमा भारतले नाकाबन्दी लगायो । यसले गर्दा सामान आयात निर्यातमा समस्या भयो । हाम्रो व्यवसायमा पनि प्रत्यक्ष असर पार्यो ।

त्यसपछि हामीले नेपालमा नै कच्चा पदार्थको कसरी सदुपयोग गर्न सकिन्छ भन्ने उपायको खोजी गर्न थाल्यौं । अनि नाम के राख्ने भनेर सोच्दै जाँदा ‘सूर्य प्लाइ–उड’ को जन्म भयो ।

हिजोको त्यो बेलाको बजार र आज दुई दशक पछिको नेपालको बजारमा कस्तो भिन्नता पाउनु भएको छ त ?

त्यो दिनमा काठको नयाँ नयाँ प्रयोगबारे उपभोक्तामा कमै चेतना थियो । यतिबेला उपभोक्तामा चेतना र उपभोग गर्नसक्ने क्षमतामा वृद्धि आएको छ ।

त्यसैले पनि विगतका तुलनामा नेपालमा प्लाइउडको मार्केट पनि दिनानुदिन बढ्दै गएको मैले पाएको छु । यसले गर्दा उपभोक्ताले आफ्नो च्वाइस अनुसारको सामान खरिद गर्न सक्ने अवस्था बन्दै गएको छ ।

यसबिचमा सूर्य प्लाइउडको पनि गुणस्तर, कार्यक्षमता र उत्पादनमा पनि त विकास भएकोे होला नि ?

पक्कै पनि । हिजोका दिनमा भन्दा आज हामीमा कामको दक्षता, सीपमा कुशलता र सामानमा गुणस्तरीयता अवश्य पनि बढेको छ ।

समय अनुसार एक व्यवसायीले आफ्नो सेवा सुविधालाई पनि उपभोक्तामाँझ विस्तार गर्नै पर्छ जुन हामीले पनि गरेका छौं ।

हाल सूर्य प्लाइउडमा प्रत्यक्ष रुपमा उपभोक्तालाई सेवा दिन दैनिक ३०० बढी जनशक्तिले काम गरिरहेका छन् भने देशका विभिन्न क्षेत्रमा सूर्य प्लाइउडका डिलरहरु रहेका छन् ।

त्यसो भए अहिलेको सूर्य प्लाइउडको मार्केट सेयर चाँहि कति हो त ?

हाम्रो उत्पादनलाई हामीले सुरुका दिनदेखि नै क्वालिटी–कम्प्रोमाइज गरेनौं । यसमा उत्पादनका लागि आवश्यक विभिन्न प्राविधिक प्यारामिटरलाई हामीले अत्यन्त सूक्ष्म रुपमा ध्यान दिँदै आएका छौं । त्यसैले हामी अहिलेसम्म बढी सेल्स कसरी हुन्छ भन्दा पनि हाम्रा उपभोक्तामा नै सूर्य प्लाइउडको विश्वसनीयता कसरी बढाउन सकिन्छ भन्नेमा केन्द्रित छौं ।

त्यसैले हामी सेल्सका हिसाबले भन्दा पनि ब्रान्डका हिसाबले अगाडि छौं ।

आफ्ना उपभोक्ता आफूसँगै कन्भिन्स छन् भन्ने दाबी गर्न सक्नु हुन्छ ?

अवश्य सक्छु । हाम्रा ग्राहकहरु जब हामीसँग सम्पर्कमा आउनु हुन्छ, हामी सामान बिकाउने नभई सेवा र गुणस्तरलाई बुझाउन थाल्छौं र त आज सूर्य प्लाइ–उड ब्रान्ड बनेको हो नि ।

जो उपभोक्ताले हाम्रो उत्पादन एकपल्ट उपभोग गर्नुहुन्छ उहाँहरु सधैं नै हामी सँगै रहने हामीले बनाउन सक्छौं । यो दाबी नै हो । हामी उपभोक्ता र व्यवसायीको सम्बन्ध दीर्घकालीन हुनुपर्छ भन्नेमा विश्वास राख्छौं ।

त्यसो त फर्निचरमा किरा लाग्ने, बाङ्गिने तथा पसाङ्गिने समस्याबारे उपभोक्ताको गुनासो पनि त छ नि ?

हो, तपाईंले काठको सामग्री खरिद गर्दा पनि त्यो कुन स्तरको हो भन्ने जान्न जरुरी छ । त्यसमा गरिने लगानी कतिको दार्घकालीन हुन्छ र तपाईंको लगानीको सामान उपयुक्त छ या छैन भनेर हेर्ने काम उपभोक्ताको हो । तपाईको मेहेनतको कमाइ खर्च गर्दा त्यसको क्वालिटीमा ध्यान दिनुहोस् ।

बजारमा तपाईंले प्लाइउड तथा प्लाइउडबाट बनेका सामान खरिद गर्दा त्यसमा रहेको कच्चा पदार्थदेखि उत्पादनमा प्रयोग गरिने प्रविधिले पनि त्यसको क्वालिटीमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

हामी सस्तोमा सामान खरिद गर्न चाहन्छौं र त्यसको क्वालिटीमा बेवास्ता गर्छौं भने तपाईले भन्नुभए जस्तो काठ तथा प्लाइउड निर्मित फर्निचरमा यी समस्या नआउला भन्न सकिदैन । तर म तपाईलाई यो कुरामा विश्वस्त गराउन चाहन्छु कि सूर्य प्लाइउड किरा नलाग्ने र नबाङ्गिने प्लाइउड हो ।

केके सेवा छन् त उपभोक्ताका लागि सूर्य प्लाइउडका ?

हामीले प्लाइउडमा उपभोक्तालाई चार किसिमले सेवा दिइरहेका छौं । जसमा कमर्सियल प्लाइउड, वाटर फ्रुफ प्लाइउड, डेकोरेटिभ प्लाइउड तथा रेडिमेड डोर रहेका छन् । हामीसँग उपलब्ध सेवाका लागि तपाई नेपालको जुनसुकै कुनाबाट जोडिन सक्नुहुनेछ ।

 

...............

प्रस्तुति— गंगा चौलागाईं
 
तस्वीर— ऋषि
 
 
 
 
 

०००

सोमबार, १७ माघ, ०७३

 

प्रतिक्रिया

Related