बैंकहरुलाई सहकारीले थेग्दै !

निर्माण सञ्चार, काठमाडौं|| लगानीयोग्य पुँजी (तरलता)को अभाव भएपछि निजी क्षेत्रका वैंक तथा वित्तीय संस्था सहकारीबाट निक्षेप तान्ने प्रतिस्पर्धामा उत्रेका छन् ।

बैंकहरूले ठूला सहकारीलाई फोन गरेर आकर्षक व्याजदरसहित निक्षेप राख्न अनुरोध गरिरहेको सहकारी सञ्चालकहरू बताउँछन् । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून)का संचालक कृष्ण पौडेल सहकारीको संस्थागत र सदस्यहरूबाट बचत लिन बैंकहरूले प्रतिस्पर्धा गरिरहेको बताउँछन् ।

‘बैंकहरूले सहकारीको संस्थागत तथा व्यक्तिगत निक्षेप तान्नका लागि प्रतिस्पर्धा गरिरहेका छन्,’ उनले भने, ‘बैंकहरूले नै ११\१२ प्रतिशत व्याज दिन थालेपछि सहकारीलाई पनि अब गाह्रो हुन थालेको छ ।’ संचालकहरूका अनुसार सहकारी क्षेत्रमा पनि अहिले तरलताको अभाव हुँदै  गएको छ ।

तर यस क्षेत्रमा बैंकहरूमा जस्तै कर्जा लगानी नै बन्द गर्नुपर्ने अवस्था भने आइ नसकेको पौडेलले जानकारी दिए । ‘बैंकहरूजस्तो कर्जा बन्दै गर्नुपर्ने अवस्था त आएको छैन,’ उनले भने, ‘बैंकले नै सहकारीसरह व्याज दिन थालेपछि भने हामीलाई गाह्रो भएको छ ।’

केही महिनायता बैंकहरूमा तरलता (लगानीयोग्य पुँजी) अभाव भएपछि बैंकहरू निक्षेप खोज्दै भौंतारिन थालेका हुन् । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी वृद्धि भएकाले पनि निक्षेप तथा कर्जा बढाउनुपर्ने दबाब बैंकहरूलाई छ ।

बैंकहरूले बढाएको कर्जाको अनुपातमा निक्षेप वृद्धि नहुँदा तरलताको अभाव भएको हो । तरलता अभाव भएपछि बैंकहरूबीच निक्षेप तान्ने प्रतिस्पर्धा भइरहेको छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र नयाँ निक्षेप नथपिएको र पुरानै निक्षेप एक बैंकबाट अर्को बैंकमा सार्न प्रतिस्पर्धा चलिरहेको बताउँछन् ।

‘पुससम्म बाणिज्य बैंकलाई मात्र तरलताको समस्या थियो, माघबाट विकास बैंक र फाइनान्समा पनि यो रोग सर्यो,’ मिश्रले भने, ‘नयाँ निक्षेप खोज्नुभन्दा पनि एउटा कम्पनीबाट अर्को कम्पनीमा निक्षेप तानातान गरिरहेका छौं ।’ ललितपुरको सुमेरु सेभिङ एन्ड क्रेडिटका प्रबन्ध संचालक हेमराज दाहाल निक्षेप राख्न आग्रह गर्दै बैंकहरूको फोन आइरहेको बताउँछन् ।

‘निक्षेपका लागि बैंकहरूबाट एकैदमै दवाव आइरहेको छ’ उनले भने । सहकारीले घरदैलोमा पुगेर सर्वसाधारणबाट बचत संकलन गर्ने भएकाले बैंकहरूले ठूला सहकारीलाई जोड दिएका छन् । सहकारी विभागको तथ्यांकअनुसार हाल देशभरका सहकारीमा करिब २ खर्ब भन्दा बढी बचत छ ।

त्यसमध्ये काठमाडौंमा मात्रै १ खर्बभन्दा बढी रहेको डिभिजन सहकारी कार्यालय काठमाडौंले जनाएको छ । सर्वसाधारणको रकम आकर्षित गर्न बैंकहरूले निक्षेपको ब्याजदरसमेत बढाएका छन् । एक महिनायता निक्षेपको ब्याज बढेर १२ प्रतिशत हाराहारीमा पुगिसकेको छ ।

संस्थागत निक्षेपकर्तालाई भने योभन्दा बढी ब्याज दिने गरेका छन् ।

कारोबारबाट

.........

मंगलबार, ३ फागुन, ०७३

प्रतिक्रिया

Related