पूर्वाधारको विकासले मात्रै चाहेको समृद्धि सम्भव छ, यसका लागि सबै एकजुट हुनुको विकल्प छैन— वीरेन्द्रराज पाण्डे

यो समिटमा हामी आउँदो नेपालको एउटा मार्गचित्र कोर्ने प्रयत्न गर्ने छौं
निर्माण सञ्चार, काठमाडौं || फेब्रुअरी १९ र २० अर्थात् फागुन ८ र ९ गते नेपाल उद्योग परिसंघको अगुवाइ र युवा निर्माण व्यवसायी तथा नेपाल सरकारको सहकार्यमा नेपालमा दोस्रो पूर्वाधार शिखर सम्मेलन हुदै छ । सम्मेलनको तयारी पूरा गरिसकेको सिएनआई यतिबेला सम्मेलनको महत्त्व र आवश्यकताबारे विचार प्रवाह गरिरहेको छ ।

अध्यक्ष हरिभक्त शर्मादेखि युवा निर्माण व्यवसायी वीरेन्द्रराज पाण्डेसम्म सैद्धान्तिक र वस्तुगत पक्षहरु बुझाउँदै सञ्चार क्षेत्रमा उपस्थित जनाइरहेका छन् । पूर्वाधार क्षेत्रमा संलग्न मात्र नभई आफ्नो शैक्षिक योग्यता समेत सम्बन्धित क्षेत्रमै भएका कमै युवाहरु मध्ये एक हुन् पाण्डे । नेपालमा निर्माण व्यवसायमा यस्तो थोरै युवाहरु छन्, जसले आफूले अँगालेको पेसाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्व पनि सँगसँगै बुझेर काम गर्ने गर्छन् ।

सैद्धान्तिक ज्ञान र व्यावहारिक संलग्नताको अभाव रहने नेपालको निर्माण क्षेत्रमा यो दुवै पक्ष सम्मिलित रहेका पाण्डे नेपालमा पूर्वाधार विकास विना समृद्धिको सपना असम्भव देख्दछन् । प्रस्तुत छ, पूर्वाधार सम्मेलनमा अहोरात्र लागिरहेका पाण्डेसँग निर्माण सञ्चारले गरेको छलफलको सम्पादित अंश—

पूर्वाधार शिखर सम्मेलनको तयारी कहाँ पुग्यो ?

तयारी अन्तिम चरणमै पुगेको छ । हामी आयोजकहरु त त्यही दिनको प्रतीक्षामा मात्रै छौं ।

युवा निर्माण व्यवसायी र आफ्नो क्षेत्रको विज्ञताको नाताले तपाईं नेपालमा यो पूर्वाधार सम्मेलनको महत्त्वबारे आमयुवालाई कसरी बुझाउनु हुन्छ ?

अत्यन्त सान्दर्भिक प्रश्न गर्नुभयो, यसका लागि धन्यवाद पनि छ । देशको समृद्धिको कुरा गर्ने हाम्रो नेतृत्वदेखि समृद्धिको सपना देख्ने हामी नेपाली र युवाहरुले बुझ्नु पर्ने भनौं, अथवा धेरैलाई थाहै पनि हुनसक्छ, समृद्धि भनेको रातारात र एक्लैले सम्भव छैन । त्यसमा पनि देशको समृद्धि पूर्वाधारको विकास विना सम्भवै छैन ।

आजका विश्वका समृद्ध राष्ट्रहरुले कसरी यो तहको विकास र समृद्धि हासिल गरे भनेर फर्केर हेर्ने हो भने हामीले पाउँछौं, ती देशहरुले समृद्धिको पाइलाका रुपमा पूर्वाधारकै विकास गरेका हुन् ।

त्यो पूर्वाधार विकासका लागि सरकार एक्लै मात्र संलग्न पनि छैन, निजी क्षेत्र र सामुदायिक विभिन्न तह र तप्काको त्यतिकै ठुलो लगानी, मेहनत र सीप लागेको छ ।

त्यसैले, जसरी एउटा घरका लागि पूर्व आधार अर्थात् पहिलो सर्त जग भन्ने हामी बुझ्छौं, त्यसरी नै देशको चौतर्फी विकासका लागि पूर्वाधारको विकास अपरिहार्य छ ।

यस सम्मेलनले निर्धारण गरेको पूर्वाधारका क्षेत्रहरु चाहिँ कुन कुन रहेका छन् त ?

यस भन्दा अघिल्लो पटक सन् २०१४ मा पनि हामीले पूर्वाधार शिखर सम्मेलन सम्पन्न गरेका थियौं । त्यसमा पनि हामीले पूर्वाधार विकासका लागि प्राथमिकताका क्षेत्रहरु निर्धारण गरेका थियौं । र, सोही अनुरुप सम्मेलनका निष्कर्षहरु तय गरेका थियौं ।

ठिक अहिले पनि हामीले पूर्वाधारका लागि पाँचवटा प्रमुख क्षेत्रहरु निर्धारण गरेका छौं । तिनमा— यातायात पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन र सहरी विकास पूर्वाधार गरी वर्गीकरण गरेका छौं ।

तिनमा पनि अत्यावश्यक पक्षहरुलाई ठम्याएर प्राथमिकता पहिचान गरेका छौं । जस्तै, यदि सहरी पूर्वाधारको कुरा गर्ने हो भने, सबैभन्दा अपरिहार्य पक्ष कुन हो जुन विना सहरीकरण पूरा हुन सक्तैन भन्ने कुरालाई हामीले औंल्याएका छौं ।

यस हकमा भन्ने हो भने, घर वा भवनहरुको बनोट/निर्माण, पानी र सरसफाइ तथा सहरी यातायात र सञ्चार व्यवस्थाबारे हामीले ध्यान दिनै पर्छ जस्तो लाग्छ ।

त्यस्तै, कृषिका हकमा कुरा गर्ने हो भने, सिँचाइ त प्रमुख नै हो । त्योसँगै बिऊवीजन, मलखाद, सीपयुक्त दक्ष कृषक पर्दछन् । एवंरीतले उक्त पाँचै पक्षहरुका प्राथमिक कुराहरुलाई पहिचान गरी तिनको क्रमशः विकास, एकअर्काेसँग परिपूरक विकास अर्थात् समानुपातिक विकास कसरी सम्भव छ भन्ने कुरा हामी यस समिटमा खोजी गर्न चाहन्छौं ।

यो समिटबाट दिन चाहेको कुरा पनि यही हो ।

जलऊर्जाका सवालमा धेरै बहस भए, के छ नयाँ कुरा यहाँहरुले दिन चाहेको ?

सही कुरा । वास्तवमै नेपालमा हाइड्रो क्षेत्र विकास पूर्वाधारको अत्यन्त सम्भावना रहेको इनर्जी हो । क्लिन इनर्जी जसको पुनरप्रयोग पनि छ ।

त्यही जल विद्युत् मात्रै उत्पादन गर्दैन, सिँचाईदेखि सरसफाइ, खानेपिउनेसम्म नै प्रयोग हुन्छ । यसको महत्त्वबारे धेरै चर्चा तर कम उपलब्धि हासिल गर्ने देश पनि नेपालै भएको छ ।

हामीले ऊर्जाका हकमा जलविद्युत्, वायु ऊर्जा, प्राकृतिक ग्यास, सौर्य ऊर्जा र जियोथर्मल जस्ता पक्षहरुमा नयाँ कुरा दिन चाहिरहेका छौं । जुन यो समिटको अर्काे महत्त्वपूर्ण पक्ष हो ।

पर्यटन र पूर्वाधार विकासमा जोडिएर थप नयाँ केही सोच अघि सार्न सकिन्छ ?

अवश्य पनि सकिन्छ । हामीले यस समिटमा पर्यटन पूर्वाधारका हकमा दीगो तथा दीर्घकालीन निर्माणको अवधारणालाई अघि सार्नु पर्छ कि भन्ने सन्देश दिन चाहेका छौं । जस्तो कि, पर्यटन भन्ने बित्तिकै, त्यहाँ रहेको मौलिक रीतिथिति अभिन्न रुपले जोडिएर आउँछ ।

सम्पदा न पर्यटनका लागि सबैभन्दा पहिलो सर्त हो जस्तो लाग्छ । त्यसैले, पर्यटनका लागि सम्पदा संरक्षण, वातावरणीय पूर्वाधार निर्माण, सत्कार, पुनर्सिजनायोग्य पूर्वाधारहरु हामीले पहिचानका लागि अघि सारेका पक्षहरु हुन् ।

यो सम्मेलनको मुख्य उद्देश्यलाई सर्वसाधारणले पनि बुझ्ने गरी भनिदिनुस् न !

वास्तवमै हरेक कामको उद्देश्य त रहन्छ नै । त्यसमा पनि देशलाई कायाकल्प गर्छु भन्ने विभिन्न तह हामीकहाँ खाँचो छैन । तर काम नभइरहेको अथाव भएपनि चाहेजस्तो नभइरहेको अवस्था हो ।

सबैले बुझ्ने गरी भन्नुपर्दा, हामी सबैलाई चाहिएको छ समृद्धि । र त्यसको आधार के हो त भन्दा विकास । विकास कसरी सम्भव छ त भन्दा, प्रथमिकताका क्षेत्रहरुको पहिचान गरी तिनमा योजनाबद्ध विकास र तिनमा धेरै भन्दा धेरै जनता वा निजी क्षेत्रको पनि सहभागिता र त्यो पूर्वाधारको विकासद्वारा जीवन चक्रमै परिवर्तन ल्याउनु हो ।

यसरी सरल रुपमा भन्नु पर्दा पूर्वाधारको विकासले अन्ततः राष्ट्रिय उत्पादनमा वृद्धि ल्याउँछ, अवसरहरुको सिर्जना गर्छ, रोजगारी र सीपहरु प्रसस्तै सिर्जजना हुन्छन् । त्यसले कुल गार्हस्थ उत्पादन बढ्ने र जनताको जीवस्तर नै सुधार्ने कुरा सबैलाई थाहै भएको कुरा हो ।

त्यसैले यो समिटबाट हामी नेपालमा पहिचान गरिएका पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लागनीमा आकर्षण कसरी बढाउन सकिन्छ, कसरी ती क्षेत्रमा विदेशी लगानी भित्राउन सकिन्छ, कसरी यी विकासहरु दीगो र दीर्घकालीन, मानव र वातावरणमैत्री हुन सक्छन् भन्ने जस्ता पक्षहरुमा समेत अत्यन्त मेहनत गरेर लागिरहेका छौं ।  

त्यसैले विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका र महत्त्वलाई उजागर गर्न पनि हामी यो सम्मेलनमा सफल हुनेछौं भन्ने लाग्छ ।

यस्तो शिखर सम्मेलन निजी क्षेत्रको अगुवाइमा हुँदै छ, सरकारले किन यस्तो कामको अगुवाइ नगरेको हो त ?

यो प्रश्नको जवाफ प्रायः सबैलाई थाहै छ । किनकि नेपालमा आजसम्म बनेका सरकारहरुको प्राथमिकता नै पूर्वाधार र विकास बन्न सकेका छैनन् ।

खाली सराकर र फेरि पनि सरकार नै यहाँको लोकतन्त्रको प्रथमिकता रहेको हो कि जस्तो दलीय राजनीति देखिएको छ । सायद, अबका दिनमा चाहिँ दलहरुले, सरोकारवालाहरुले यस्तो पूर्वाधार विकासबारे राज्यले नै इनिसियटिभ लिनु पर्छ कि भन्ने बोध पनि होला ।

तर, सरकारले नै नगरेको भन्ने पनि होइन । हामी यसमा सहकार्य गरिरहेका छौं ।

यो सम्मेलनको ढाँचा कस्तो रहेको छ त ?

यो दुई दिन चल्ने छ । यसमा ब्रजिलदेखि बंगलादेश, एसिउन डिभालपमेन्ट बैंकका प्रतिनिधि, विभिन्न योजनाविद्हरु, मित्रराष्ट्र भारतबाट रेलवे मन्त्री समेत सहभागी हुँदै छन् ।

त्यस्तै, नेपाल भित्र रहेको विभिन्न संघ संस्थाहरु, लगानीकर्ताहरु समेत सहभागी हुने छन् । नितान्त इनडोर कार्यक्रमहरु रहेका छन् ।

विभिन्न विषयमा किनोट स्पिचहरु प्रस्तुत हुने र तिनमा सम्बन्धित क्षेत्रका विज्ञहरुले समेत थप विचार दिने छन् । त्यसको हामीले रेकर्डिङ सहित अन्तिममा सारांश प्रस्तुत गर्ने छौं ।

 

सरकारका मन्त्रीदेखि विभिन्न क्षेत्रका विज्ञहरु एकै ठाउँमा भएर दुई दिनसम्म हामीले नेपालको पूर्वाधार क्षेत्रको विकास र सम्भावना मात्र होइन कि, त्यसलाई अब कसरी व्यवहारमा उतार्न सकिन्छ भनेर नयाँ बाटो नै पहिल्याउन प्रयत्न गरिने छ ।

हामी सकेसम्म राम्रो गर्न प्रयत्न गर्ने छौं ।

नेपालको विकासको मोडालिटी कस्तो हुन सक्छ होला ?

यसबारे बोल्न त्यति सजिलो त छैन । तर राज्यले लिएको नीतिले पनि हामीलाई पब्लिक, प्राइभेट र सरकारी तिनै तहको संलग्नतामा अघि बढ्ने गाइडलाइन दिएको छ ।

र, हामीहरु यो पिपिपी मोडेलबारे निकै अघिदेखि काम गर्दै आइरहेको छौं । यसबारे राष्ट्रिय योजना आयोगमा यससम्बन्धी एउटा पिपिपी सेन्टर रहने भन्ने तयारी नै भइसकेको छ ।

अर्थमन्त्रालयबाट पनि एउटा समिति बन्ने भन्ने छ । यसले एउटा ब्रोडर गाइडलाइन दिने छ र नेपालमा निजी क्षेत्र सहित सरकारले विकास र समृद्धिका दिशामा नयाँ उचाइ लिन्छ कि भन्ने आशा गर्न सकिन्छ । धेरै देशहरुले पनि यसरी आफूलाई समृद्ध बनाएका छन् । हामी यस समिटमा पनि यसबारे केही न केही गर्ने छौं ।

यो समिटमा हामी आउँदो नेपालको एउटा मार्गचित्र कोर्ने प्रयत्न गर्ने छौं भन्नेमा म तपाईको सम्मानित सञ्चारबाट सन्देश प्रवाह गर्न चाहन्छ ।

धन्यवाद !

 

=========

कार्यक्रम तालिका तथा विषयबारे अन्तर्वार्ताको अंगका रुपमा राखिएको -

 

........

प्रस्तुति:: नवराज खतिवडा/गंगा चौलागाईं

तस्वीर– एनआरके / निर्माण सञ्चार । 

 

............

शुक्रबार, ६ फागुन, ०७३

 

प्रतिक्रिया

Related