‘वार्षिक २२ अर्बको कारोबार गर्ने आल्मुनियम क्षेत्रका बारेमा राज्य बेखबर’

दर्ता भएका फेब्रिकेटर्सबाट मात्र काम गराउन आम उपभोक्तालाई अल्फानको अपील
निर्माण सञ्चार, काठमाडौ|| नेपालीको बदलिंदो जीवनशैली सँगै बानी, व्यवहार र आहार विहारमा समेत परिवर्तन आएको छ ।

२०४६ सालको राजनैतिक परिवर्तन र नेपालले अपनाएको उदारीकरणका कारण पनि अहिले नेपाली बजारमा विभिन्न किसिमका निर्माण सामाग्री भित्रिने क्रम बढ्दो छ ।

अझ पछिल्लो घटना ०७२ सालको वैशाख १२ को भूकम्पले त झन निर्माण समाग्री र यसको गुणस्तरका विषयमा विभिन्न बहस अझ तीब्र बन्दै गएको छ ।

नेपाली जनता सुरक्षित घर र बलियो घरमा बस्न चाहन्छन् । घर बलियो हुनका लागि त्यसमा प्रयोग गरिने निर्माण सामाग्री गुणस्तरयुक्त र काम गर्ने कामदार पनि तालिमप्राप्त हुन अत्यन्तै जरुरी छ तबमात्र हाम्रो घर सुरक्षित र बलियो बन्न सक्छ ।

बजारमा विभिन्न किसिमका निर्माण सामाग्री पाइन्छन् । ती निर्माण सामाग्रीको पनि गुणस्तर कस्तो छ भन्ने विषयमा अब उपभोक्ता सचेत बन्नै पर्छ ।

यसै प्रसंगमा नेपालमा आल्मुनियम व्यवसाय, यसका चुनौती र अल्फानको गतिविधिका बारेमा आल्मुनियम तथा फेब्रिकेटर्स एसोसियसनका अध्यक्ष तेज राईसँग निर्माण सञ्चारले गरेको कुराकानीको अंश-

कस्तो छ अहिले आल्मुनियमको माग ?

समयको परिवर्तन सँगै अहिले नेपालमा आल्मुनियमको माग पनि दिनानुदिन बढ्दै गएको छ । विशेष गरेर शहरी क्षेत्रमा आल्मुनियम बढी रुचाइएको हामीले पाएका छौं ।

हिजोआज प्राय घरहरु तथा कर्पोरेट अफिसमा आल्मुनियमको प्रयोग बढ्दै गएको छ । यसले दिनप्रति दिन उपभोक्तामा आल्मुनियमको माग बढ्दै गएको छ भन्न सकिन्छ ।  

आल्मुनियममा पनि त फरक फरक गुणस्तर होला । गुणस्तर अनुसार मूल्य पनि त फरक होला नि ?

हो, अन्य सामाग्रीमा झैं आल्मुनियममा पनि विभिन्न गुणस्तर छ । यसमा विशेषतः आल्मुनियमको थिकनेस हेरिन्छ ।

अहिले बजारमा १ एमएम भन्दा पनि न्यून गुणस्तरका आल्मुनियम पनि भित्रिएका छन् । त्यसैले हामीले उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकार र नीजि क्षेत्रबाट कसरी सहकार्य गर्न सकिन्छ र उपभोक्तालाई गुणस्तरीय आल्मुनियम दिन सकिन्छ भनेर लागिरहेका छौं ।

कम्तीमा पनि १.२ एमएम भन्दा कम गुणस्तरका आल्मुनियम प्रयोगमा ल्याउँदा आफ्नो लगानी सुरक्षित नहुने र ती सामाग्रीले सुरक्षित आवासमा टेवा नपुुग्ने हुँदा सबै उपभोक्ताले कस्तो आल्मुनियम किन्दै छु भनेर जानकारी राख्नुपर्ने हुन्छ ।  

बजारमा विभिन्न खालका व्यवसायीहरु छन् । सबैले आफ्नो सामान राम्रै भनेका हुन्छन् त्यसको ग्योरन्टी लिने निकाय कुन हो त ?

अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । अझ भन्ने हो भने त यो क्षेत्र नयाँ भएकाले उपभोक्तालाई पनि त्यति जानकारी छैन ।

त्यसैले म यो तपाईंको सम्मानित मिडियाबाट सम्पूर्ण उपभोक्तालाई तपाईंले काम गर्न लाग्नुभएको व्यवसायी अल्फानमा आवद्ध हुनुहुन्छ कि हुनुहुन्न सोध्न आग्रह गर्न चाहन्छु ।

अल्फानमा आवद्ध व्यवसायीले न्यून गुणस्तरको आल्मुनियम विक्री वितरण गरेको रै’छ भने अल्फानले ती व्यवसायीलाई कारबाही गर्छ र उपभोक्तालाई ठगिनबाट बचाउँछ ।  

त्यसो त धेरै व्यवसायीले दर्ता विना नै पनि काम गरिरहेका छन् नि ?

हो, हामीले पनि पाएका छौं त्यस्ता व्यवसायी साथीहरु । दर्ता गर्ने प्रक्रियाका बारेमा व्यवसायीलाई राम्रो ज्ञान नभएको कारणले पनि यस्तो हुन गएको हो ।

हामीले हाम्रो सम्पर्कमा आएका व्यवसायीलाई दर्ता तथा कर प्रक्रियाका बारेमा जानकारी दिँदै आएका छौं ।  

कुनै नयाँ व्यवसायी अल्फानमा आवद्ध हुन चाहेमा के गर्नुपर्छ त ?

अल्फानमा फेब्रिकेसन गरेर हिँड्ने कम्पनी मात्र सदस्य बन्न पाउने प्रावधान छ । त्यसैले फेब्रिकेसनमा लागेका साथीहरुलाई अल्फानमा स्वागत छ ।

सबैभन्दा पहिला त सम्बन्धित कम्पनीले कानुनी अधिकार पाएको हुनुपर्छ अर्थात् कम्पनी दर्ता भएको हुनुपर्छ । त्यस्तै कम्पनीले प्यानको माध्यमबाट कारोबार गरेको हुनुपर्छ ।

अल्फानले सदस्यका लागि न्यूनतम रकम तोकेको छ । दर्ताका कागपत्रसँगै १६०० रुपियाँ तिरेर वार्षिक सदस्य बन्न सकिन्छ र व्यवसायीक सुरक्षाका बारेमा जानकारी लिँदै अघि बढ्न सकिन्छ ।  

अन्त्यमा उपभोक्तालाई केही भन्नु छ कि ?

आल्मुनियमको खरिद गर्दै हुनुहुन्छ वा घर बनाउँदै हुनुहुन्छ भने तपाईले एक पल्ट आल्मुनियमका बारेमा राम्ररी बुझ्नु होला । जसले तपाईंको लगानी खेर जानबाट बचाउँछ । कम्तीमा पनि १.२ एमएमभन्दा कम गुणस्तरका आल्मुनियम प्रयोग नगर्नुहोला ।

काम गराउँदा व्यवसायीक र दर्ता भएर काम गरेका फेब्रिकेटर्स कम्पनीलाई लगाउनु होला जसले तपाइंको घर सुरक्षित बनाउन सहयोग गर्नेछन् ।

 

...

बुधबार, ३ जेठ ०७३

प्रतिक्रिया

Related