‘राष्ट्रपतीय चुनावमा संसद् र सरकारलाई बन्दी बनाउने षड्यन्त्र हुँदै छ’— ईश्वर पोखरेल

३० असोज, निर्माण सञ्चार । काठमाडौं ।

प्रायः मिडियामा आउन कमै रुचाउने तर राष्ट्रिय राजनीतिका कुनै पनि विषयमा गम्भीर मत प्रवाह गर्ने एमाले महासचिव ईश्वर पोखरेलले राष्ट्रपतीय निर्वाचनको मुखमा गम्भीर खाले षडयन्त्र हुन लागेको बताए ।

नेपाल ट्रेकिङ तथा ट्राभल व्यवसायीहरुको संस्था टानका नवनिर्वाचित सदस्यहरुलाई बधाई दिने कार्यक्रमका अवसरमा एमाले पार्टी कार्यालय धुम्बाराहीमा उनले आगामी राष्ट्रपतीय चुनावलाई संकेत गर्दै सो कुरा बताएका हुन् ।

एमाले महासचिव पोखरेलले भने- हिजो जुन जुन शक्तिहरु संविधान रोक्न लागेका थिए, तिनीहरु अब संसदलाई कमजोर बनाउने र सरकार तथा संसदबाट भएका निर्णयलाई प्रभावित पार्ने उद्देश्यले संवैधानिक निकायको चुनावमा चलखेल गर्न अग्रसर भएका छन् । उनले संसदलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई काम गर्न नदिने गरी संवैधानिक अंगलाई प्रभावित बनाउने खेल शुरु भएको बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख सूर्य थापाले पर्यटन क्षेत्रमा पहिलोपटक एमाले र साहसी शेर्पा आरोहीहरुको सहकार्यले जित हासिल गरेको बताए । कार्यक्रमा टानका नवनिर्वाचित अध्यक्ष चन्द्र रिजालले एमालेसहितका वाम व्यवसायी र शेर्पा व्यवसायीको सहकार्यबाट जिते पनि अब मुलुकको पर्यटन उद्योगलाई बलियो बनाउन आफूहरु लाग्ने बताए ।

प्रतिक्रिया

Related