भारत सरकारलाई अर्काे झट्का— दार्जिलिङमा स्रष्टाहरुले फर्काए सरकारको सम्मान

स्वतन्त्र गोर्खाल्यान्ड आन्दोलनलाई दमन गर्ने भारतीय रणनीति जारी, आन्दोलन पनि चर्कदै
निर्माण सञ्चार, एजेन्सी । चालू दार्जिलिङ आन्दोलनले उचाइ लिने क्रमसँगै भारतीय राज्य सरकारले दिएका सम्मानहरु स्रष्टाहरुले फिर्ता गर्ने आन्दोलन सुरु भएको छ ।

शुक्रबार एक सार्वजनिक विरोध कार्यक्रम गर्दै दार्जिलिङका विभिन्न स्रष्टाले पश्चिम बंगाल सरकारले दिएको सम्मान फिर्ता गरेका हुन्।

दार्जिलिङमा एक महिना भन्दा बढी समयदेखि नेपाली भाषीहरुको आमहड्ताल जारी छ । पश्चिम बंगाल सरकारले पटक पटक दमन गर्दै २ दर्जन बढी मानिसको ज्यान लिइसकेको छ भने दार्जिलिङ क्षेत्रमा समाचार सेवा, इन्टरनेट सेवा समेत अवरुद्ध गरिएको छ ।

नेपाली भाषी भारतीय गोर्खालीलाई राज्य सरकारको चरम दमन विरुद्ध स्वतन्त्र गोर्खाल्यान्डलाई समर्थन गर्दै उनीहरुले सम्मान फिर्ता गरेको बताएका छन् ।

सम्मान फिर्ता गर्ने स्रष्टाहरुमा वरिष्ठ संगीतकार कर्म योञ्जन, साहित्यकार कृष्णसिंह मोक्तान र शिक्षक डा प्रभात प्रधान रहेका छन् भने कालिम्पोङका शिक्षाविद डा नवरत्न प्रधानले पनि राज्य सरकारले दिएको शिक्षा रत्न पुरस्कार फिर्ता गरेका छन् ।

सन् २०१६ मा राज्य सरकारकी मुख्यमन्त्री ममता बेनर्जीबाट संगीतकार कर्म योञ्जनले संगीत पुरस्कार पाएका थिए । त्यस्तै, सन् २००४ मा साहित्यकार कृष्णसिंह मोक्तानले राज्य सरकारकै तर्फबाट भानुभक्त स्मृति पुरस्कार पाएका थिए भने उनलाई राज्य सरकारले नै सन् २०१४ मा बंगरत्न पुरस्कार पनि दिएको थियो।

डा प्रभात प्रधानले सन् २०१५ मा राज्य सरकारको तर्फबाट शिक्षारत्न पुरस्कार पाएका थिए । सन् २०१५ मै नवरत्न प्रधानले पाएको शिक्षारत्न पुरस्कार फिर्ता गरेका छन् ।

कार्यक्रममा बोल्दै संगीतकार योञ्जनले भने, ‘राज्य सरकारले नेपाली भाषी गोर्खालीको संवैधानिक मागलाई लिएर गरेको दमनका विरुद्धमा हामीले सक्ने विद्रोह गरेका हौं, ‘हामी प्रत्येक गोर्खालीलाई गोर्खाल्यान्ड चाहिएको छ ।’

गोर्खाल्याण्ड आन्दोलनमा अहिले विमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चा, मन घिसिङ नेतृत्वको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, भारतीय तामाङ नेतृत्वको अखिल भारतीय गोर्खा लिग, दावा पाख्रिन नेतृत्वको गोर्खा राज्य निर्माण मोर्चा, हर्कबहादुर क्षेत्रीको जनआन्दोलन पार्टी, आर वि राई नेतृत्वको क्रान्तिकारी माक्र्सवादी कम्युनिष्ट पार्टी लगायतका दल र अन्य सामाजिक संगठनहरुले आन्दोलनको अगुवाइ गरिरहेका छन् ।

यसैबिच जिएमसीसीका संयोजक कल्याण देवानले आन्दोलनलाई राष्ट्रिय रुप दिन भन्दै केही दिनबाट गरिने भनिएको आमरण अनसन रोकेको जानकारी र्दिका छन् ।

देवानले आन्दोलनका अन्य कार्यक्रम जारी रहने भन्दै साउन ३ गते बस्ने जिएमसिसिको बैठकले अनशनको अर्को मिति तय गर्ने बताएका हुन् ।

एक महिनादेखि जारी आम हड्तालको क्रममा शुक्रबार पनि पहाडभर प्रदर्शन भएका छन् । मुख्यमन्त्री ममता बेनर्जीको सरकारले सिलिगुडीबाट दार्जिलिङसहितका पहाडी क्षेत्रमा ल्याउने खाद्यान्नमा रोक लगाएपछि मजदुर र विपन्न समुदायमा भोकमरी सुरु भएको छ ।

दार्जिलिङका विभिन्न क्षेत्रमा नेपालबाट खाद्यान्न लगिएका छन् ।

 

 

...

बुधबार, २८ असार, ०७४

 

प्रतिक्रिया

Related