मोदी–क्यामरुन भेटमा अघोषित ‘नाकाबन्दी’ फोकस गर्न बेलायती सांसद वीरेन्द्र शर्माको आग्रह

निर्माण सञ्चार, काठमाडौं ।

मोदी–क्यामरुन भेटमा ‘अघोषित नाकाबन्दी’ फोकस गर्न बेलायती सांसद वीरेन्द्र शर्माको आग्रह बिना कारण नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको मोदी सरकारमाथि विश्वस्तरबाटै प्रेसर परिरहेको बेला भारतीय मूलका बेलायती सांसद तथा सर्वदलीय संसदीय समितिका नेपाल हेर्ने अध्यक्ष वीरेन्द्र शर्माले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई नेपालको नाकाबन्दी समस्या समाधानको पहल गरिदिन आग्रह गरेका छन् ।

बेलाइती प्रधानमन्त्री क्यामरुनलाई पत्र पठाउँदै शर्माले उनका भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटमा सो कुरा राख्न आग्रह गरेका हुन् ।

भारतका प्रधानमन्त्री मोदीको १२ नोभेम्बरमा हुने बेलायत भ्रमणका अवसरमा नेपालको अघोषित नाकाबन्दीलाई मुख्य एजेन्डा बनाएर समस्या समाधान गरिदिन शर्माले पत्रमा उल्लेख गरेका छन् । मोदी तीन दिने बेलायत भ्रमणका लागि आगामी १२ नोभेम्बरका दिन लन्डन जाने कार्यक्रम रहेको छ।

शर्माको पत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री क्यामरुनले ‘पत्र प्राप्त गरिसकेको’ जवाफ दिएको सांसद शर्माले एक कार्यक्रममा बताए । शर्माले आफ्नो पत्रमा नेपालसँगको पुरानो र ऐतिहासिक सम्बन्ध नबिगार्न पनि अनुरोध गरेको बताए ।

भारतबाट बेलायत गई बसेका र नेपालीसँगको सम्बन्धमा विशेष उचाइ लिएका बेलायती सांसद शर्माले मंगलबार साँझ लन्डनस्थित नेपाली दूतावासमा आयोजित एउटा पर्यटन प्रवद्र्धन कार्यक्रममा नयाँ संविधान जारी भएकामा नेपाललाई बधाई समेत दिएका छन् ।

उनले लामो समयको छलफलपछि नयाँ संविधान जारी हुनु देशको ठूलो उपलब्धि भएकोमा सरहाना समेत गरेका छन् ।

मोदीविरुद्ध बेलायतमा प्रदर्शन हुने

बेलायतका लागि तीन दिने भ्रमण तय गरिसकेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले पनि विरोध प्रदर्शन गर्ने भएका छन् ।

भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएकामा आक्रोशित नेपालीले मोदी विरुद्ध १२ नोभेम्बर दिउँसो १२ बजे बेलायती संसद भवन अगाडि विरोध प्रदर्शन गर्न लागेका हुन् ।

कांग्रेस सम्वद्ध नेपाली जनसम्पर्क समिति, बेलायतले प्रदर्शनको नेतृत्व गर्ने जनाएको छ ।

भारतको अघोषित नाकाबन्दीबारे विश्व समुदायसमक्ष जानकारी दिन कार्यक्रम तय गरिएको पनि उक्त समितिले जनाएको छ । समितिले बेलायतवासी सम्पूर्ण नेपालीलाई प्रदर्शनमा साथ दिएर ऐक्यबद्धता जनाउन समेत आग्रह गरेको छ ।

बेलायतस्थित नेपाली विद्यार्थीहरुले पनि मोदीविरुद्ध प्रदर्शन सफल बनाउन अभियान गरिरहेका छन् । फेसबुक पेजमा विरोध कार्यक्रमबारे जानकारी दिंदै ति युवाले भारतलाई नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् ।

मोदीको बेलायत भ्रमणका अवसरमा भारत र ब्रिटेनबीच व्यापार तथा आर्थिक विकासबारे सम्झौता हुने अपेक्षा गरिएको छ । मोदीले बेलायती संसदमा सम्वोधन गर्ने कार्यक्रम रहेको अखवारहरुले जनाएका छन् ।

उनले बेलायती समकक्षी डेभिड क्यामरुनसँग भेटवार्ता र रात्रीभोज गर्नुका साथै बेलायती महारानी एलिजावेथसंग दिवा भोज गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

Related