होसियार पुरानै ‘रुट’मा चलाउँदा समाउला प्रहरीले– अब काठमाडौंमा नयाँ ‘वान-वे’

यस्ता ठाउँहरुमा दायाँ मोड्दा परिएला प्रहरीको फन्दामा, राष्ट्रपति कार्यालय तिर ट्रक प्रतिबन्ध
निर्माण सञ्चार, काठमाडौं । अब काठमाडौं उपत्यकाका लागि ट्राफिक प्रहरीले नयाँ नियम ल्याएको छ । नयाँ नियम अनुसार विभिन्न स्थानमा दायाँ मोड्न नपाइने भएको छ ।

नयाँ ट्राफिक नियमले लेन अनुशासनलाई थप कडाइ गर्ने भएको छ । सवारीलाई जथाभावी दायाँतर्फ मोड्न बन्द गर्ने सोच अनुसार ट्राफिक प्रहरीले यस्तो निर्णय गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी मिङमार लामाले बताए ।

अब दायाँ मोड्न प्रतिबन्ध, यस्तो छ नयाँ नियम ?

सवारी गइरहेको साइडभन्दा पारिपट्टिको बाटो प्रयोग गर्न विपरीत लेन हुँदै सवारी क्रस गरेर जाने प्रचलन हिजोआज व्यापक छ ।

र, सवारी फर्काउन पनि विपरीत लेनमा जथाभावी दायाँ मोड्ने गरिएको ट्राफिक प्रहरी बताउँछ । तर, अब नयाँ नियमले यसलाई पूरै रोक लगाउने छ ।

सवारीहरुले ट्राफिक आइल्यान्डबाट मात्रै राइटसाइड मोड्न सक्नेछन् । नत्र सक्ने छैनन् । जथाभावी दायाँ मोड्न दिँदा सवारी जाम बढेको ट्राफिक प्रहरीको भनाइ छ ।

याद गर्नुहोस्, अब ट्राफिक आइल्यान्ड नभएका क्रसिङ बाटोमा राइट मोडेर विपरीत दिशाको सडकतर्फ जान पाइने छैन । मोड्नकै लागि काठमाडौंका सडकहरुमा विभिन्न स्थानहरु नै तोकिएका छन् ।

दायाँ मोड्न नपाइने नयाँ स्थानहरु

नयाँ स्थानहरुमा त्रिपुरेश्वर(कालिमाटी सडकको कनक पेट्रोल पम्प र नयाँ बाटोमा दायाँ मोड्न निषेध गरेको ट्राफिकले बतायो ।

त्यस्तै, माइतिघर-कृष्णपाउरोटी सडकको कुमारी मोड र शंकरदेव मोडमा दाया मोड्न नपाइने भएको छ । नयाँबानेश्वरतर्फबाट जाँदा पुरानोबानेश्वर सडकबाट भिमसेनगोला जान निषेध गरिएको छ ।

कान्तिपथको ज्याथा गल्ली, हनुमानस्थान, इनारमोड, कानदेवतास्थान, बखुन्डोल, दमकल मोडमा दायाँ मोड्न नपाइने भएको छ ।

त्यस्तै, छातेगणेश, न्यूरोड पिपलबोट, अमृत साइन्स क्याम्पस, सोह्रखुट्टे ओरालो, बाँसघारी, कुमारी मन्दिर र ज्ञानेश्वर ओरालोमा दायाँतर्फ मोड्न नपाइने भएको छ ।

ट्राफिक प्रहरी महाशाखाले बताए अनुसार अब एयरपोर्टबाट आएको सवारीले सिनामंगलमा राउन्ड लिनेछन् ।

थप वान–वे कुन कुन हुन् त ?

ट्राफिक प्रहरी महाशाखा अनुसार काठमाडौं उपत्यकामा थप वान-वे तय गरिएको छ । सडकमा एकतर्फमात्रै जान पाइने गरी थप वान-वे तय भएको हो ।

ख्याल रहोस्, अब राष्ट्रपति कार्यालय पर्खाल भएर हेभी सवारी भित्र जान पाइने छैन । मैतीदेवी चोकबाट मन्दिरतर्फ जान पनि निषेध गरिएको छ भने स्वयम्भू चोकबाट आनन्दकुटी, भगवानपाउ किमडोल हुँदै जान पाइने गरी स्वयम्भू चोकबाट किमडोल भएर छाउनीतर्फ आउन नपाइने व्यवस्था गरिएको छ ।

त्यस्तै, बाटुलेघर हुँदै चारखालतर्फ जान पाइने छैन । यसस्थानलाई वान-वे गरिएको छ । कृष्णपाउरोटी चोकबाट बैंक अफ काठमाण्डुतिर जान गल्लीको नयाँ बाटो खुलाइएको छ । 

खिचापोखरीबाट एभरेष्ट बैंकतर्फ जान नपाइने भएको छ । सातदोबाटोबाट चापागाउँ मोडतिर जान पनि निषेध गरिएको छ ।

 

...

आइतबार, १८ असार, ०७३

 

प्रतिक्रिया

Related