भारतीय हस्तक्षेपविरुद्ध युवा संघको राष्ट्रव्यापी हस्ताक्षर अभियान— आम युवालाई अपिल

युवा संघ नेपालले भारतीय हस्तक्षेप र उसको अवाञ्च्छित ‘अघोषित नाकाबन्दी’ विरुद्ध राष्ट्रव्यापी हस्ताक्षर आन्दोलन सुरु गरेको छ ।

अहिलेसम्म ५ लाखको हस्ताक्षर संकनल गरिसकेको र भोलि कात्तिक १६ गते १० बजे संघको कार्यालय बुद्ध नगरमा भेला भई नेपाल सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापामार्फत् संयुक्त राष्ट्र संघको ध्यानाकर्षण गराउँदै छ ।

अभियानका लागि देशव्यापी हस्ताक्षर संकलन गरिरहेको युवा संघले यो आन्दोलनलाई राष्ट्रिय स्वाभिमानका लागि क्षेत्रीय हेजेमोनी विरुद्धको एकता भन्ने नाम दिएको भारतीय हस्तक्षेप विरुद्ध स्वाभीमान आन्दोलनका लागि हस्ताक्षर अभियानका संयोजक तथा युवा संघ नेपालका उपाध्यक्ष रमेश पौडेलले निर्माण सञ्चारलाई बताए ।

नेपाल विरुद्ध भारतले अहिले छद्म युद्ध लडिरहेको भन्दै उपाध्यक्ष पौडेलले भने, ‘विभिन्न मिडियामार्फत् अहिले पनि तराईको आन्दोलन रोकिँदैन भन्ने भारत को हो ? नेपाल र नेपालीको स्वाभिमान विरुद्ध अघोषित नाकाबन्दी गर्ने र उसका मिडियामार्फत् नेपालको तराई टुक्रिनेसम्मको प्रचारबाजी गर्ने उसको हर्कत अन्तर्राष्ट्रिय कानुन, भूपरिवेष्ठित राष्ट्र सम्बन्धी पारवाहन हक–अधिकार, पञ्चशील तथा सार्क राष्ट्रको मर्म विरुद्ध छ,’ भन्दै हस्ताक्षर अभियानका संयोजक पौडेलले यस अभियानमा सबै नेपालीहरुलाई हातेमालो गर्न समेत आह्वान गरे ।

उनले थपे— ‘पौराणिक कालदेखि नै स्वतन्त्र, अविभाज्य, अखण्ड रहँदै आएको सार्वभौमसत्ता सम्पन्न मुलुक नेपालमाथि भारतले गरेको नाङ्गो हस्तक्षेप र यो क्षेत्रीय दादागिरी विरुद्ध अब हामी विश्वव्यापी आन्दोलनको अगुवाइ गर्दै छौँं, सो आन्दोलनमा सहभागी हुन सम्पूर्ण देशभक्त युवा तथा आमादिदीबहिनी दाजुभाइहरुमा हार्दिक अपिल पनि गर्न चाहन्छौँ ।’ यो कार्यक्रम देशका प्रत्येक जिल्लामा चालु छ ।

हरेक जिल्लाका सिडिओमार्फतबाट नेपाल सरकार र काठमाडौंमा उपप्रधान तथा परराष्ट्रमन्त्रीमार्फत् संयुक्त राष्ट्र संघमा बुझाउने कार्यक्रम रहेको संघले बताएको छ ।

प्रतिक्रिया

Related