स्वामी रामानन्द गिरी, जसलाई राज्यले चिनेन, ब्रह्मलीन पछि आजै जलसमाधि सम्पन्न

इतिहास, संस्कृति र सभ्यताप्रति अन्धो बनेको राज्यले आफ्नो संस्कृति रक्षा कसरी गर्ला ?
निर्माण सञ्चार, काठमाडौं । १००८ श्री डा स्वामी रामानन्द गिरीजी महाराज ब्रह्मलीन हुनुभएको छ ।

लामो समयदेखि निमोनियाको रोगी स्वामीजीको उपचारका क्रममा ग्र्यान्डी अस्पतालमा साँढे ७ बजे देहान्त भएको थियो । लगत्तै शनिबार साँझ पशुपतिनाथस्थित शंकराचार्य मठमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । साँढे ११ बजे उहाँको शवलाई देवघाट लगिएको थियो ।

स्वामीजीकै इच्छा अनुसार उहाँको पार्थिव शरीरलाई आज दिउसो १ बजे देवघाटमा जलसमाधि गरिएको छ ।

१००८ डा स्वामी ज्ञानानन्द महाराज, कृष्णानन्द स्वामी, डा गुरुप्रसाद सुवेदी जस्ता साधुहरुले स्वामीजीको अन्तिम समाधि दिने कार्यक्रम रहेको थियो ।

७१ वर्षको उमेरमा परमगति प्राप्त स्वामीजी अद्वैत वेदान्तका प्रखर तथा धुरन्धर विद्वान् हुनुहुन्छ । स्वामीजी नेपालका लागि ज्ञान धरोहरका रुपमा लिइन्छ ।

उहाँको निधनले मुलुकले धर्म, संस्कृति, संस्कृत शिक्षा, दर्शनका क्षेत्रमा अपूरणीय क्षति व्यहोरेको बताइन्छ ।

‘नेपालमा धर्म, संस्कृतिको क्षेत्रमा चौतर्फी प्रहार भइरहेको बेला देवघाटबाट पूर्वीय संस्कृतिको नयाँ क्षितिज खोलेर उहाँले अनुकरणीय यात्राको थालनी गर्नुभयो ।

अब त्यसको संरक्षण कसरी गर्ने भन्नेबारे समेत सोच्नु पर्ने बेला आएको छ । जहाँ बालबालिकाहरु आवासीय सुविधा सहित गुरुकुलीय परम्परामा शिक्षा आर्जन गर्न सक्छन् ।

उहाँ बोली र व्यवहारमा खरो उत्रने नेपालकै नम्बर एक सन्यासी हुनुहुन्थ्यो । तर राज्यले उहाँलाई उचित सम्मान भने दिएका देखिदैन ।

उहाँले शिक्षा, धर्म संस्कृति प्रति जुन योगदान दिनु भएको छ, त्यसप्रति राज्यको उदासीनता साँच्चिकै खेदजन्य छ,’ निर्माण सञ्चारसँग कुरा गर्दै नेपाल संस्कृत विश्विद्यालयका उपकुलपति डा कुलप्रसाद कोइरालाले बताए ।

उपकुलपति डा कोइरालाले राज्यले नयाँ नीति बनाएरै भएपनि महेश गुरुकुल जतिको शैक्षिक निकेतनको संरक्षण गर्नु पर्ने बताए । उनले भने, ‘यसो भएमा मात्र उहाँप्रतिको सच्च श्रद्धाञ्जली हुने छ ।’

डा रामानन्द गिरी : संक्षेपमा

नेपालमा योगी नरहरिनाथ पछिका अब्बल स्तरका योगीका रुपमा चिनिनुहुने स्वामीजी २००३ सालमा धादिङको केबलपुरमा जन्मिनुभएको थियो ।

१० वर्षकै उमेरमै माता–पिता गुमाएको स्वामीजीले विभिन्न सहयोगमा शिक्षा ग्रहण गर्दै त्रिभुवन विश्वविद्यालयबाट जनक दर्शनमा २०४१ सालमा विद्यावारिधि हासिल गर्नुभएको थियो ।

नारसबाट संस्कृत शिक्षा अध्ययन सम्पन्न गरी नेपालबाटै पिएडी धारण गर्नुभएका स्वामीजीले ०४७ सालमा १००८ स्वामी महामण्डलेश्वर महेषानन्द गिरीजी महाराजबाट सन्यास धारण गर्नुभएको थियो ।

उच्च गुणस्तरीय संस्कृत शिक्षाका लागि वनारस नै जानु पर्ने नेपालको बाध्यतालाई हटाउँदै आजीवन शिक्षा र अद्वैत दर्शनको सेवामा स्वामीजी लाग्नुभएको दिखिन्छ ।

आफ्नै एकल प्रयासबाट ०५० सालदेखि देवघाटमा महेश संस्कृत गुरुकुलको सञ्चालन गर्नुभयो । जहाँ कक्षा ६ देखि आचार्यसम्म पूर्वीय वाङमय अन्तर्गतका विभिन्न विधाहरु— भाषा, साहित्य, दर्शन, व्याकरण, इतिहासपुराण आदि विषयमा अध्ययन अध्यापन गराइन्छ ।

पछिल्ला दिनमा नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन लिएर अघि बढेको महेश गुरुकुल संस्कृत शिक्षा पठनपाठनमा नेपालकै सर्वाेत्कृष्ट विद्यापीठ अन्तर्गत पर्दछ ।

जहाँबाट उत्पादित विद्यार्थीहरु नै नेपाली भाषा, साहित्य र दर्शनका क्षेत्रमा त्रिभुवन विश्वविद्यालयमा समेत उत्कृट साबित भएको विज्ञहरु बताउँछन् ।

देवघाट अतिरिक्त पोखरा, तनहु, काठमाडौं, बनेपा, लगाउत स्थानमा गुरुकुलहरु सञ्चालनमा छन् ।

विद्यार्थीलाई निःशुल्क आवास र भोजन सहितको गुरुकुलीय शिक्षा दिएर स्वामीजीले नेपालमै गुणस्तरीय शिक्षा कसरी दिलाउन सकिन्छ ? शिक्षामा नैतिक शिक्षाको महत्त्व के हो ? आचारण र व्यवहारमा शिक्षा कसरी उतार्ने, गुरुकुलीय शिक्षाहरुलाई कसरी सञ्चालन गर्नुपर्छ भन्ने गतिलो उदाहरण दिन सफल व्यक्तिका रुपमा स्वामीजीलाई चित्रित गर्छन्, शिक्षाविद् डा विद्यानाथ कोइराला ।

स्वामीजीका २० भन्दा बढी ग्रन्थ प्रकाशन छन् । ८ खण्डमा विभक्त ५ हजार पृष्ठ भएको श्रीमद्भावगत महापुराणको भावानुवाद उहाँको विशेष कृतिका रुपमा लिइन्छ ।

‘उहाँको जीवन नै शांकर वेदान्तमा समर्पित जीवन हो । पछिल्ला दिनमा स्वामीजी अमेरिका, युरोप लगायत देशहरुमा गएर पनि अंग्रेजी भाषाबाट समते प्रखर प्रवचन दिन सक्नुहुन्थ्यो, उहाँको प्रवचन, व्यवहार र आचारणबिचको खरोपन, बुझाइ र देशको प्रगतिप्रतिको चिन्तनलाई सायद नेपाल सरकारले पनि बेवास्ता गरेको छ । उहाँको स्वर्गारोहण अपूरणीय क्षति हो,’ साहित्यकार डा मुकुन्द लामिछाने बताउँछन् ।

उहाँबारे श्रद्धाञ्जली दिदै सामाजिक सञ्जालहरुमा ‘अन्तर्राष्ट्रिय र राष्ट्रिय महत्त्वका स्वामी’, राष्ट्रवादी, त्यागी र शिक्षासेवी स्वामी,’ का रुपमा चित्रण गरेको देखिन्छ ।

भारतीय पिछलग्गू प्रवृत्तिका साधुहरुलाई मात्र साधु ठान्ने प्रवृत्ति भएका कारण राष्ट्रको धरोहर डा रामानन्द गिरीप्रति सरकारले समेत उपेक्षा गरिएको धारणा व्यक्त छन् । नेपाली समाजमा नेपालकै सन्त र साधुहरु स्थापित गर्ने संस्कारको अभाव रहेको देखिन्छ । 

 

पशुपतिनाथस्थित शंकराचार्य मठमा शनिबार साँझ श्रद्धाञ्जलीका लागि राखिएको स्वामीजीको पार्थिव शरीर र भिडियो

 

...

आइतबार, २५ असार, ०७४

 

प्रतिक्रिया

Related