सेमेष्टरमा झुटको खेतीः नाम नयाँ प्रणाली पुरानै

प्रोजेक्टर त के, सेमेष्टर सकिँदा पनि शैक्षिक क्यालेण्डर निस्किएन
निर्माण सञ्चार, काठमाडौं | त्रिभुवन विश्वविद्यालयले यस बर्षदेखि सेमेष्टर सिस्टम लागु गरेपनि कार्यान्वयन भने प्रभावकारी हुन सकेको छैन ।

विश्वविद्यालयले काठमाडौं उपत्यकाका सबै क्याम्पसमा यस शैक्षिक सत्रदेखि सेमेष्टर सिस्टम लागु गरेको छ ।

विद्यार्थीहरुको गुणात्मक क्षमता बढाउन र विद्यार्थी केन्द्रीत शिक्षण पद्दतिको धारणा विकास गरी अन्तर्राष्ट्रिय बजारमा बिकाउ शिक्षा प्रदान गर्न भनी सेमेष्टर प्रणाली लागु गरेपनि कार्यान्वयनमा चुनौती देखिएको छ ।

यद्यपी, सेमेष्टर सिस्टम नयाँ मानिए पनि पद्धति परम्परागत अघि बढिरहेकाे छ ।

सेमेष्टरमा प्रत्येक ६/६ महिनामा परीक्षा हुनुपर्ने, पाठ्यक्रम समयानुकूल हुनुपर्ने, दैनिक हाजिर हुनुपर्ने, विद्यार्थीलाई असाइनमेन्ट दिनुपर्ने, भौतिक पूर्वाधार उपयुक्त हुनुपर्ने प्रावधान रहेपनि अधिकांश लागु हुन सकेको छैन ।

जसले गर्दा हजारौं विद्यार्थीहरु अन्योलमा परेका छन् । प्राध्यापकहरुले हाजिर नै नगराइ वार्षिक परीक्षा प्रणाली अनुसार नै अध्यापन गराएको विद्यार्थीको आरोप छ ।

प्रत्येक सेमेष्टरमा ८० प्रतिशत हाजिरी हुनुपर्ने भनिएपनि प्राध्यापकहरुले एकैचोटी सबैको हाजिरी गराइदिने आश्वासन दिएको महेन्द्ररत्न क्याम्पस ताहचलमा अध्ययनरत विद्यार्थी रामराज मैनालीले बताए ।

उनले भने,– ‘सरहरुले हाजिर नै गर्नुहुन्न । जसले गर्दा हामी नियमित आउने विद्यार्थीलाई मर्का पर्छ ।

कोर्स अफ स्टडी त छ । तर, त्यसमा अतिरिक्त कृयाकलाप पनि समेटिएका छन् । त्यसो पनि गर्नुभएको छैन । प्रोजेक्टर अनुसार पढाउने कुरा त कहाँ हो कहाँ ? ’

यस्तै वैशाखदेखि पढाई सुरु भएपनि मंसिर लागि सक्दासमेत परीक्षा हुन नसकेको विद्यार्थीले बताएका छन् । स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययन गर्दै गरेका विद्यार्थी तुलक पुलामीले भने,– ‘हामीले सोचेंका थियौं सेमेष्टरमा सिस्टम अनुसार सबै कुरा हुन्छ ।

तर, भौतिक पुर्वाधार तयार बिना सेमेष्टर चलाउँदा सरहरु समेत अलमल पर्नुभएको छ । विश्वविद्यालयले तयारी बिना नै सेमेष्टर सञ्चालन गरेको रहेछ ।

यसले हामी जस्ता विद्यार्थीहरु थप द्विविधामा परेका छौं ।’ प्राध्यापकहरुले भने बिस्तारै प्रणालीमा सुधार आउने भन्दै नआत्तिन आग्रह गर्दै आएका छन् ।

शैक्षिक क्यालेण्डर समयमा आउन नसक्दा परीक्षा कहिले हुने भन्ने बारेमा अन्योल भएको महेन्द्ररत्न क्याम्पस काठमाडौं ताहचल स्नातकोत्तर प्रथम सेमेष्टर गणित संकायमा अध्ययनरत विद्यार्थी कृष्ण दवाडीले बताए ।

उनले भने,– ‘वैशाखमा पहिलो सेमेष्टरमा भर्ना भएको हुँ । अहिलेसम्म परिक्षाको टुगों छैन । ६ महिनामा परीक्षा हुने त भनेको छ । नियमअनुसार असोजमा हुनुपर्ने हो । प्राध्यापकहरुलाई समेत सेमेष्टरको बारेमा केही थाह नभएको पाइयाे ।’

केही प्राध्यापकहरुले विद्यार्थीहरुलाई नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको पुस्तकको विषयमासमेत अंग्रेजी माध्यमबाटै परिक्षा दिन दबाब दिएको समेत बुझिन आएको छ ।

विद्यार्थीहरुले भने आफुहरुले नेपाली माध्यमबाट परिक्षा दिनु आफ्नो मौलिक हक रहेको बताउँछन् ।

सेमेष्टर सिस्टमलाई सोचे अनुरुप बनाउन प्रत्येक क्याम्पसले छुट्टै योजना बनाउन आवश्यक रहेको विद्यार्थीहरुको तर्क छ ।

असोज मसान्तसम्म परीक्षा भइसक्नुपर्ने भएपनि अहिलेसम्म त्रिभुवन विश्वविद्यालयले केही शंकायको परिक्षा तालिका समेत सार्वजनिक गर्न सकेको छैन ।

विद्यार्थी संगठनहरुले सेमेष्टर प्रणाली त्रिभुवन विश्वविद्यालयका पदाधिकारीका कारण असफल भएको बताउँछन् ।

विप्लब निकट अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कमल बढुवालले भने, –‘भौतिक संरचना, परिमार्जित पाठ्यक्रम लगायतका तयारी बिना त्रिविले जसरी समेष्टर प्रणाली लागु गरेको छ । यसले समग्रतया विद्यार्थीका भविष्यमाथी खेलवाड गरेको छ ।

तसर्थ समयानुकल र व्यवहारीक शिक्षा दिनु भन्नेतर्फ त्रिभुवन विश्वविद्यालय पटक्कै लागेको छैन । अहिले टियूमा राजनीतिशास्त्र, भुगोल, इतिहास लगायतका विषयमा विद्यार्थीको संख्या निकै कम छ ।

सेमेष्टर चलेपछि त विद्यार्थि आकर्षित हुुनुपर्ने होईन र ?  सेमेष्टर प्रणाली लागु भएपनि कहिलेबाट परीक्षा गराउने भन्ने बारे त्रिभुवन विश्वविद्यालय नै जानकार छैन ।

विश्वविद्यालयका मानविकी शास्त्रका डिन शिवलाल भुषालले भने,– ‘पाठ्यक्रम हतारहतारमा बनाइयो ।

शैक्षिक क्यालेण्डर पुससम्म बनाउछौं । वार्षिक परीक्षा प्रणालीको अझै झन्झट हट्न नसक्दा केही चुनौतीहरु देखिएका छन् । चुनौति छिचोल्दै जाने हो । विश्वविद्यालय नै यस्तै छ । बिस्तारै सुधार होला ।’ 

...

बिहीबार ३० कात्तिक ०७४ 

प्रतिक्रिया

Related