पश्चिम सेतीमा संयुक्त लगानी गर्न प्राधिकरण र चिनियाँ थ्री गर्जेजबीच अन्तिम सम्झौता

निर्माण सञ्चार, काठमाडौँ | नेपाल विद्युत प्राधिकरण र चीनको थ्रि गर्जेजबीच ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि संयुक्त लगानी गर्नेसम्बन्धी सम्झौता (जेभीए) भएको छ ।

रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा बिहीबार (कात्तिक ३०) दुई कम्पनीबीच सम्झौता भएको हो ।

चिनियाँ टोली बिहीबार नै जेभीए गर्ने गरी काठमाडौं आएको थियो ।

सम्भौतामा प्रारम्भिक हस्ताक्षर भएको १० महिनापछि मात्रै अन्तिम रुप दिएर फाइनल सम्झौता भएको छ ।

थ्रि गर्जेजको बोर्डले प्रारम्भिक सम्झौतालाई लामो समय पास गरेको थिएन । सोहीकारण आयोजना निर्माणको प्रक्रिया अघि बढ्न ढिला भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच गत ३ माघमा पश्चिम सेती आयोजना निर्माणका लागि प्रारम्भिक जेभीए भएको थियो ।

जेभीए भएको २ दिनपछि नै प्राधिकरणले त्यस सम्झौतालाई अनुमोदन गरेपनि थ्रि गर्जेजले भने ढिलाई गरेको थियो ।

उक्त चिनियाँ कम्पनि थ्रि गर्जेज सन् १९९३ मा स्थापना भएको थियो ।

थ्रि गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनियाँ कम्पनी हो । यस कम्पनीले चीनमा विश्वकै ठूलो २२ हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ ।

केही दिन अघि मात्रै बुढिगण्डकी आयोजना निर्माणको लागि चिनियाँ कम्पनी गेजुवासँग गरिएको सम्झौता खारेज भएपछि तत्काल चिनीयाँ कम्पनी नआउने हो कि भन्ने धेरैको आशंका थियो ।

तर, बिहीबार थ्रि गर्जेजको टोली काठमाडौं आएर सम्झौता गरेसँगै उक्त आशंका हटेको छ ।

...

बिहीबार, ३० कात्तिक ०७४ 

प्रतिक्रिया

Related