‘कञ्चनजंघा स्पाइस गार्डेन टुरिजम ट्रेल’ नामक पदमार्ग र मोबाइल एप सार्वजनिक

अलैँचीको व्यावसायीक प्रवद्धनसँगै जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने
निमार्ण सञ्चार, काठमाडौं । पर्यटकीय जिल्ला ताप्लेजुङको अलैँची, कञ्चनजंघा हिमाल र पाथीभारा मन्दिरको पर्यटन प्रवर्द्धनको उद्देश्य अनुरुप ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा ‘कञ्चनजंघा स्पाइस गार्डेन टुरिजम ट्रेल’ नामक पदमार्ग र उक्त स्थानको पर्यटन तथा अलैँची खेतीको जानकारी लिनका लागि ‘मोबाइल एप’ शुक्रबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक भएकाे छ ।

विश्वको तेस्रो अग्लो (८५८६ मिटर) कञ्चनजंघा हिमाल र पाथीभारा मन्दिर र ताप्लेजुङको अलैँची खेतीसँग जोडेर पर्यटनको बसाई लम्ब्याउने उद्देश्य अनुरुप उक्त पदमार्ग र मोबाइल एप सार्वजनिक गरिएको हो ।

मोबाइल एपमा ताप्जेजुङको पर्यटन सम्बन्धी सम्पूर्ण कुराको जानकारीका साथै त्यहाँको अलैँची खेतीका बारेमा सम्पूर्ण जानकारी दिने उद्देश्य लिइएको छ ।

यस कार्यक्रमलाई नेपाल पर्यटन बोर्डको प्रवर्द्धानात्मक सहयोग प्राप्त भएको छ । छिमेकी जिल्ला इलाममा चिया र त्यहाँको चिया बगानलाई पर्यटकीय गन्तव्यको लागि उत्तिकै लोकप्रिय बनेको उदाहरणबाट प्रेरित भइ यस्तो योजना बनाइएको टानका पूर्व प्रथम उपाध्यक्ष एवम् पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।

कञ्चनजंघा र पाथीभरा जाने पर्यटकको बसाइँ लम्ब्याइ अलैँची पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग सुरु गरिएको टानका महासचिव कर्णबहादुर लामाले बताए ।

उनका अनुसार फुङ्लिङ बास बस्न मात्र आउने पर्यटकलाई यहाँका रमणीय अलैँची बगैँचा र स्थानीय संस्कृतिका बारेमा जानकारी गराइ एकदुई दिन भए पनि बसाइँ अवधि लम्बिने उद्देश्य लिइएको छ ।

यस पदमार्गमा हराभरा अलैँची खेतीसहित गुम्बा, मठमन्दिर तथा दृश्यावलोकनका साथै स्थानीय रहनसहन र संस्कृति बुझ्नको लागि उपयुक्त स्थान मानिएको छ ।

प्राकृतिक सम्पदा र भौगोलिक विविधतायुक्त ताप्लेजुङलाई राष्ट्रिय–अन्तरराष्ट्रिय पर्यटकीय प्रवद्धनको सामग्रीका रूपमा लैजान अलैँची पदमार्ग रोजिएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए ।

ताप्लेजुङमा हाल कञ्चनजङ्घा सर्किट ट्रेक र पाथीभरा ट्रेकिङ ट्रेल सञ्चालनमा छन् ।

जहाँ आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढेको छ ।

ताप्लेजुङ सामुदायीक गुम्बाडाँडा होमस्टे (घरबास कार्यक्रम) की सञ्चालक हिमा गुरुङले सदरमुकाममा आउने पाहुनालाई अलैँची पदमार्ग घुमेर बास बस्न र स्थानीय परिकारको स्वाद लिन व्यावसायीक होमस्टे पनि शुरु गरिएको बताइन ।

यी पदमार्गभित्र फुङ्लिङ गार्डेन, फुरम्बु गार्डेन र सिकाइचा गार्डेनको रमणीय दृश्यावलोकन गर्न सकिने तथा यसबाहेक हिमाली दृश्यावलोकन, स्थानीय प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदालाई समेत पदमार्गले समेटिएको टानले बताएको छ ।

अलैँचीको व्यावसायीक प्रवद्धनसँगै जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम ल्याइने फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले बताए ।

ताप्लेजुङमा अलैँची खेतीको प्रवर्द्धनका लागि इसिमोडले ‘हिमालिका’ नामक परियोजना तथा सोही परियोजनामार्फत व्यवस्थित रूपमा सञ्चालित गार्डेनलाई समेटेर पदमार्गको परिकल्पना गरिएको हो ।

उक्त पदमार्गको नक्सा र मोबाइल ‘एप’ समेत सार्वजनिक गरिएको थियो ।

ताप्लेजुङ जिल्लाको प्रमुख उत्पादनका रूपमा रहेको अलैँची खेतीलाई पर्यटनको माध्यमबाट थप पर्यटक आकर्षण गर्नका लागि पदमार्ग उपयोगी हुने अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका उपाध्यक्ष तेज भट्टराईले बताए ।

अलैँची व्यवसायी सङ्घका अनुसार जिल्लामा ६० प्रतिशतभन्दा बढी कृषक अलैँची खेतीमा आवद्ध छन् ।

...

आइतबार ३, मंसिर ०७४

प्रतिक्रिया

Related