अन्तिम चरणमा पुग्यो चमेलियाबाट बिजुली बाल्ने काम

प्रशारण लाइनमा विद्युत् चार्ज गरिँदै
निर्माण सञ्चार, काठमाडौँ | ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाबाट बिजुली बाल्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजनाले बिजुली बाल्नुपूर्व १३२ केभी प्रसारण लाइन निर्माण गरिसकेको छ । ४१२ वटा टावर रहेको उक्त प्रसारण लाइनमा आगामी बिहीबारदेखि विद्युत प्रवाह (चार्ज) गर्दैछ ।

प्रशारण लाइन भने दार्चुलाको शैल्य शिखर नगरपालिका वडा नम्बर १ बलाँचदेखि बैतडी, डडेलधुरा, डोटी हुँदै कैलालीको अत्तरियासम्म निर्माण गरिएको छ ।

त्यस प्रशारण लाइनमा विद्युत प्रवाह गर्नुअघि आयोजनाले सार्वजनिक सूचना नै निकालेर टावर, तार वा अन्य संरचना छुने वा चढ्ने काम नगर्न आग्रह गरेको छ ।

जारी सूचनामा यस्ता आग्रह गर्दागर्दै पनि कसैले टावर, तारमा छोएर वा टावर चढेर कुनै किसिमका दुर्घटना भएमा आयोजना जिम्मेवार नहुने उल्लेख गरिएको छ ।

उक्त आयोजनाको प्रशारण लाइन बनिसकेकाले विद्युत् चार्ज गर्न लागिएको चमेलिया जलविद्युत् आयोजनाका प्रमुख अजय कुमार दाहालले बताए ।

उनले भने,‘डिसेम्बर १२ मा वेट टेस्ट गर्ने प्लान छ र कुनै समस्या नदेखिएमा तत्कालै चमेलियाबाट बिजुली बल्ने निश्चित छ ।’

‘यसअघि नोभेम्बर ४ देखि नै वेटटेस्ट शुरु गर्ने प्लान थियो’, दाहालले भने,‘ हेडवरक्सको काममा समस्या देखिएकाले बिजुली बाल्ने काम पछि सरेको हो ।’

आयोजना प्रमुख दाहलले सिभिल तर्फ अहिले हेड वर्कसको मर्मतको काम र टनेलमा पानी भर्ने काम भइरहेको जानकारी दिए ।

उनले टनेलमा पानी भर्ने काम २९ कात्तिकदेखि शुरु गरेको र आज (मंसिर ४) पानी भरिसकिने बताए ।

निर्माणधिन आयोजनाको बाहिरबाट कतै लिकेज नदेखिएमा बिजुली बाल्न तयारी अवस्थामा हुने दाहलले जानकारी गराए ।

नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा निर्माणधिन यस आयोजनाको निर्माणकार्य चाइना गेजुवा गुर्प पावर कम्पनी (सीजीजीसी) ले गरिरहेको छ ।

यसैगरी, यस आयोजनाका लागि दक्षिण कोरिया सरकारले भने ऋण सहयोग गरेको छ ।

यस्तो छ सूचना –

...

सोमबार, ४ मंसिर ०७४ 

प्रतिक्रिया

Related