कतारले विदेशी कामदारका लागि न्यूनतम तलब निर्धारण

नेपाल सरकारले कतारमा काम गर्न जानेहरुका लागि ९ सय रियल पाउने अवस्थामा मात्र श्रम स्वीकृति दिँदै आएको
निर्माण सञ्चार, काठमाडौँ | कतारले विदेशी कामदारका लागि न्यूनतम तलब निर्धारण गरेको छ ।

अब विदेशी कामदारको मासिक तलब ७५० (करिब २ सय डलर) रियल हुने कतारको श्रम मन्त्रालयले निर्धारण गरेको छ ।

कतारलाई अप्रवासी कामदारमाथि शोषण भएको आरोप लागिरहेका अवस्थामा कतार सरकारले विदेशी कामदारको न्यूनतम पारिश्रमिक तोकेको हो ।

न्युनतम पारिश्रमिकको घोषणा कतारका विकास प्रशासन, श्रम तथा सामाजिक मामिलामन्त्री इसा अल नउमीले विदेशी कुटनीतिज्ञ सामु गरेका हुन् ।

इसा अल नउमीले अब रोजगार सम्झौताअनुसार विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० भन्दा कम नहुने बताए ।

‘कोहीले त्योभन्दा कम मूल्यमा सम्झौता गरेमा हामी त्यसलाई स्वीकृत गर्दैनौँ’ उनले भने, ‘सबै सम्झौताहरु अब मन्त्रालयले नै स्वीकृत गर्नेछ’ ।

उनले यो तलब अस्थायी भएको र आगामी दिनमा यसलाई समीक्षा गरी सुधार गर्ने बताए ।

नयाँ नियमअनुसार विदेशी कामदारले अब निःशुल्क आवास, खाना र स्वास्थ्य सेवासम्बन्धी सुविधा पनि पाउने कतार न्युज एजेन्सी (क्युएनए)ले जानकारी दिएको छ ।

यसअघि कतारले सन् २०१५ को फेब्रुअरीमा तलब समीक्षा गर्दै मुख्य सुधार कार्यक्रम ल्याएको थियो ।

त्यस नियमले कामदारले मासिक तलब १५ दिन अथवा महिना दिनमा इलेक्ट्रोनिक रुपमा पाउने निश्चित गरेको थियो ।

सन् २०२२ को विश्वकप आयोजना गर्ने तयारीमा रहेको कतारले हाल रंगशाला निर्माणका लागि नेपालीसहितका विदेशी कामदार प्रयोग गर्दै आइरहेको छ ।

कतारमाथि विदेशी कामदारलाई अमानवीय अवस्थामा काम लगाएको, थोरै तलब दिएको, न्यूनतम मानवअधिकारको उल्लंघन गरेको आरोप लाग्दै आएको छ ।

भर्खरै कतारले कार्यान्वयनमा ल्याएको ७५० रियल न्युनतम पारिश्रमिक नेपाली कामदारका लागि भने अत्यन्त थोरै हो ।

कतारमा काम गर्न जानेहरुका लागि नेपाल सरकारले ९ सय रियल तथा खानेबस्ने सुविधाबापतको ३ रियल पाउने अवस्थामा मात्र श्रम स्वीकृति दिँदै आएको छ ।

...

मंगलबार, ५ मंसिर ०७४ 

प्रतिक्रिया

Related