मेलम्चीको दोस्रो परियोजनाको डीपीआर अन्तिम चरण

पहिलो चरणको भन्दा दाेब्बर बढी पानी ल्याउने लक्ष्य
निमार्ण सञ्चार, काठमाडौं । सरकारी योजनाअनुसार काम गरी वैशाख ०७५ सम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइ सकिने छ । पहिलो चरणको पानी काठमाडौंमा ल्याएपछि दोस्रो परियोजना मार्फत काठमाडौंमा पानी थप्नको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अन्तिम चरणमा पुगेको छ ।

पहिलो परियोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने छ । दोस्रो परियोजना सम्पन्न भएपछि काठमाडौंको पानी अभाव समाप्त हुने दाबी आयोजनाको छ ।

तीन महिनाभित्र डीपीआर तयार गर्ने र त्यस पश्चात दोस्रो आयोजनाको प्रकृया अगाडि बढाइने आयोजना प्रमुख रामचन्द्र देवकोटाले जानकारी दिए ।

परियाेजना पश्चात ५१ करोड लिटर पानी अाउने

मेलम्चीको पानीमा अन्य दुईवटा खोलाको पानी मिसाएर निर्माणाधीन मेलम्चीबाट आउने पानीको मात्रलाई बढाएर तेब्बर बनाउने सरकारी योजना छ । पहिलो योजनाको दैनिक १७ करोडको क्षमतालाई विस्तार गरी तेब्बर बनाइने छ ।

दोस्रो योजनामा सिन्धुपाल्चोककै याङ्री र लार्के खोलाको पानीलाई मेलम्चीमा मिसेपछि मेलम्चीको दैनिक १७ करोड क्षमताबाट बढेर ५१ करोड लिटर पुग्नेछ ।

पहिलो चरणमा आउने १७ करोड लिटरले काठमाडौंको सम्पूर्ण माग थेग्न नसक्ने भएकाले मेलम्चीमै अन्य दुई खोलाको पानी पनि थप्ने योजना रहेको देवकोटाले बताए ।

एडीबीले चासो देखायो

दोस्रो आयोजनाका लागि करिब ३० करोड डलर अर्थात् ३१ अर्ब २० करोड रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान खानेपानी तथा सरसफाइ मन्त्रालयले गरेको छ ।

दोस्रो परियोजनाका लागि एसियाली विकास बैंक (एडीबी)ले पनि मेलम्चीको दोस्रो परियोजनामा लगानी गर्न चासो देखाएको छ ।

सरकारले मेलम्चीमा थप लगानी गरेर काठमाडौंको पानी अभाव हटाउने घोषणा अघिल्लो वर्षको बजेटमार्फत् गरिसकेको छ । सोही आधारमा परामर्शदाता छनोट गरेर आयोजनाको डीपीआर तयार भइरहेको छ ।

दोस्रो परियोजनाका लागि ११ किलोमिटर लामो सुरुङ खन्नुपर्छ । याङ्रीको मुहानसम्म पहुँच मार्गको ट्रयाक तयार भइसकेको छ ।

यो योजनाको काम पाँच वर्षमा सकिने

उक्त आयोजनाकाे कार्य पाँच वर्षमा सक्ने सरकारी योजना छ । डीपीआर तयार भएपछि हेडवक्र्स र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरिने आयोजनाले जनाएको छ ।

थप पानी काठमाडौं भित्र्याउन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गर्ने तयारी भइरहेको छ ।

...

बुधबार ६, मंसिर ०७४

प्रतिक्रिया

Related