गौचन हत्या विरुद्ध उठ्यो निजी क्षेत्र– एफक्यानको आन्दोलनमा ‘ऐक्यबद्धता’

नेपाल इन्जिनियर्स एसोसिएसन, स्काफ, हेभिइक्विप्मेन्ट व्यवसायी महासंघ, एफएनसिएसआई, डिन, ग्रिल तथा स्टिल्स व्यवसायी महासंघ, अल्फान, इँटा व्यवसायी महासंघ, माइक्रो हाइड्रो डिभालप्मेन्ट एसोसिएसनबाट वक्तव्य सहित
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) का अध्यक्ष शरद् कुमार गौचनको सोमबार अपराह्न काठमाडौं–बानेश्वरमा गोली हानी गरिएको हत्या विरुद्ध निजी क्षेत्र आन्दोलित भएको छ ।

एफक्यानद्वारा जारी आन्दोलनमा समेत ऐक्यबद्धता जनाउँदै निर्माण क्षेत्र सम्बद्ध सबै क्षेत्रहरुले हत्याको घोर भत्र्सना गरेका छन् ।

हत्या भएको २ दिन बितिसक्ता पनि सरकार र प्रहरी सेवाले कुनै ठोस उपलब्धि हासिल नगरेकोमा निर्माण व्यवसायी आक्रोसित छन् भने निजी क्षेत्रले दोषीलाई तुरुन्त पत्ता लगाई अविलम्ब कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् ।

निजी क्षेत्र र निर्माण उद्योगमा शान्ति, सुरक्षाको ग्यारेन्टी गर्न ती संस्थाहरुले सरकार समक्ष जोडदार माग गरेका छन् ।

निर्माण व्यवसायी महासंघको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हत्या विरुद्ध भत्र्सना गर्ने निजी संस्थाहरुमा नेपाल इन्जिनियर्स एसोसिएसन, सोसाइटी अफ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस् (स्काफ), डिप्लोमा इन्जिनियर्स एसोसिएसन (डिन), हेभी इक्विप्मेन्ट व्यवसायी महासंघ तथा काठमाडौं संघ, नेपाल आल्मुनियम एसोसिएसन (अल्फान), ग्रिल तथा स्टिल्स व्यवसायी महासंघ, एफएन सिएसआई, नेपाल इँटा उत्पादक व्यवसायी महासंघ, माइक्रो हाइड्रो डिभालप्मेन्ट एसोसिएसन लगायत व्यावसायिक संस्थाहरुले हत्या विरुद्ध भत्र्सना सहित महासंघको आन्दोलनमा ऐक्यबद्धता जारी गरेका हुन् ।

कतिपय निजी संस्थाले औपचारिक विज्ञप्ति जारी गरेका छन् भने कतिपय संस्थाका पदाधिकारीले निर्माण सञ्चारसँग सम्पर्क नै गरेर यस्तो विपद्को घडीमा परिवार जन तथा आफन्तजनमा समवेदना समेत प्रकट गरेको जनाएका छन् ।

एनइएको भत्र्सना, अपराधीलाई तत्काल कारबाही गर– उमाशंकर शाह कार्यवाहक अध्यक्ष

निर्माण सञ्चारसँगको टेली संवादमा बोल्दै कार्यवाहक अध्यक्ष उमाशंकर शाहले गौचन हत्याको संस्थागत विरोध गरेका हुन् । उनले नेपालको निर्माण क्षेत्रमा यस्तो जघन्य अपराध घट्नुलाई अत्यन्त निन्दनीय र दुखद रहेको बताए ।

‘नेपाल इन्जिनियर एसोसियसन यस्तो आपराधिक घटनाको घोर भत्र्सना गर्छ’ भन्दै ‘हत्यामा संलग्न दोषीलाई अविलम्ब पक्राउ गरी कारबाही गर्न सरकार समक्ष माग गरेको’ वरिष्ठा उपाध्यक्ष समेत रहेका शाहले जनाए ।

‘सोच्तै नसोचेको अशोभनिय घटनाले संगठित अपराधीहरु देशको शान्ति सुरक्षाको तरलताबाट अवाञ्छित फाइदा लिई हत्या सम्मको निच कर्म गर्न उत्रिएको भन्दै निर्माण क्षेत्र जस्तो देशकै निर्माण गर्ने अगुवा संस्थाको अध्यक्ष माथि गरिएको यस खाले अपारधको एनइए घोर भत्र्सना गर्दछ,’ उनले भने ।

उनले सरकारी सुरक्षा संयन्त्रले मानिसको स्वतन्त्रता पूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्न नसकेको भन्दै खेद व्यक्त समेत गरेका छन् ।

जघन्य अपराधलाई सरकारले किन बेवास्ता गरिरहेको छ ? स्काफ, महासचिव, कृष्ण सापकोटा

महासंघ अध्यक्ष गौचन हत्याको विरोध गर्दै सोसाइटी अफ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्मस्ले पनि राज्यसँग शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग गरेको छ ।

निर्माण सञ्चारसँगको टेली संवादमा बोल्दै स्काफ महासचिव सापकोटाले भने, ‘यस्तो घटनाको जति नै भत्र्सना गरे पनि कम हुन्छ ।

तर सरकार र सुरक्षा निकायले व्यवसायीको बाँच्न पाउने अधिकार समेत ग्यारेन्टी गर्न नसक्नु झनै निन्दनीय छ ।’ स्काफले महासंघद्वारा जारी विरोध कार्यक्रममा ऐक्यबद्धता जनाउँदै शोक सन्तप्त परिवारजनमा समवेदना समेत व्यक्त गरेको छ ।

स्काफले यस घटनालाई ‘जघन्य अपराध’को संज्ञा दिदै हत्यारालाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याउन सम्बन्धित निकाय समक्ष जोडदार माग गरेको छ ।

सुरक्षाको साँचो कस्तो हातमा हो सरकार ?– ताराबहादुर कुंवर, अध्यक्ष एफहिन

गौचन हत्याको विरोधमा सडक प्रदर्शनमा समेत निस्किएका एफहिनका अध्यक्ष तारा बहादुर कुँवर महासंघका सबै आन्दोलनमा हेभी इक्विप्मेन्ट व्यवसायीहरुको ऐक्यबद्धता रहेको बताउँछन् ।

हत्याको विरोधमा विज्ञप्ति नै जारी गरेको एफहिनले दोषीलाई कानुनी कटघरामा ल्याउन सरकारले गरेको ढिलाइमाथि आशंका समेत गरेको छ ।

निर्माण सञ्चारसँग बोल्दै अध्यक्ष ताराबहादुर कँुवरले सरकारी सुरक्षाको साँचो अमानवीय आततायीहरुकै हातमा छ कि के हो भनी सरकार सँग प्रश्न गरे ।

गौचन हत्याले निर्माण क्षेत्र स्तब्ध भएको बताउँद एफहिनले भत्र्सना गरेको हो । ‘जघन्य अपराधको दोषीलाई छिटो भन्दा छिटो सजाय दिलाएर निर्माण क्षेत्रमा सुरक्षा दिन हेभी इक्वीप्मेन्ट व्यवसायी महासंघले सरकारसँग जोडदार माग गरेको छ ।’

निन्दनीय अपराधलाई उन्मुक्ति दिइयो भने झनै ठुलो अपराध हुन्छ– मोहन कटुवाल

नेपाल ग्रील तथा स्टिल व्यवसायी महासंघले पनि गौचनको हत्याले आफूहरु स्तब्ध भएको बताउँदै दोषीलाई कारबाही नभए झनै ठुलो अपराध हुने बताएको छ ।

अध्यक्ष कटुवालले निर्माण क्षेत्रका लागि अति नै दुःखद् घटना रहेको बताउँदै सरकार समक्ष सुरक्षाको प्रत्याभूति दिलाउने जोडदार माग गरेका हुन् ।

राजधानीमा दिनदाहाडै एउटा संगठित संस्थाको अध्यक्षको गोली हानी हत्या हुँदा यसले नेपालको सुरक्षा संयन्त्रको औचित्य माथि नै प्रश्न उठेको उनको भनाइ छ ।

उनले भने, ‘कुनै पनि यस्ता घटना हुँदा नीतिगत रुपमा घटना घटेको ५ मिनेट भित्र सुरक्षा निकाय घटनास्थलमा पुगिसक्नु पर्नेमा तर नजिकै रहेको प्रहरी बिट आफू क्यारेम्बोर्ड खेल्न लाग्ने हो कि सुरक्षा दिन लाग्ने हो भन्नेमा आशंका देखियो ?’

अध्यक्ष कटुवालले भने ।

घटना घटिसकेको आधा घन्टा बितिसक्दा पनि उक्त प्रहरी घटनास्थलमा पुग्न नसकेको भन्दै स्थानीय जनताले समेत आक्रोश व्यक्त गरेका छन् ।

नेपालको निर्माण जगत् दलाल र गुण्डाहरुकै मुट्ठीमा भएको र यस्ता घटना घट्नुमा राजनीतिक दलहरु पनि बढी जिम्मेवार रहेको उनको दाबी छ ।

नयाँ बानेश्वरमा भएको प्रदर्शनीमा समेत उपस्थित रहेका कटुवालले महासंघको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताए ।

उनले संस्थाका तर्फबाट दोषीलाई छिटो भन्दा छिटो कडा कारबाहीको माग गरेका छन् ।

सरकार र गृह प्रशासनले सुरक्षा दिन सकेन– श्याम गिरी, अध्यक्ष एफएनसिएस आई

गौचन हत्याको विरोधमा नेपाल घरेलु तथा साना उद्योग महासंघले पनि सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै यस्ता घटनाले वैदेशिक लगानी प्रभवित हुने र देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने समेत उल्लेख गरेको छ ।

विज्ञप्ति मार्फत् धारणा सार्वजनिक गर्दै एफएन सिएसआईका अध्यक्ष श्याम गिरीले भनेका छन्, ‘राष्ट्रिय चाडबाडको सेरोफेरोमा विशेष सुरक्षा व्यवस्था लागु गरिएको भन्ने सुरक्षा निकायहरुको दाबीका बिचमा यस्तो घट्ना हुनुले सुरक्षा विश्वस्त हुने स्थिति नरहेको महासंघको ठहर छ ।’

महासंघले भनेको छ, ‘तसर्थ, देशको अर्थतन्त्रलाई टेवा पुर्याउने उद्योगी तथा व्यवसायीहरुको पूर्ण सुरक्षाको प्रत्याभूति गर्न विशेष सुरक्षा व्यवस्था लागु गर्न महासंघ सरकार समक्ष जोडदार माग गर्दछ ।

देशभित्र उद्योगी व्यवसायीको सुरक्षा नहुँदा वैदेशिक लगानी समेत प्रभावित हुने र देशको आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने अवस्था देखापर्ने सम्भावना रहेकोले सुरक्षा व्यवस्था प्रति गम्भीर हुन पनि महासंघले सरकारलाई आग्रह गर्दछ ।’

महासंघले गौचनको स्वर्गीय आत्माको चीर शान्तिके कामना गरेको छ । हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन र सिङ्गो निर्माण व्यवसाय क्षेत्र प्रति गहिरो समवेदना व्यक्त गरेको उल्लेख छ ।

लेनदेनको बार्गेनिङ गर्ने थलो बन्न हुँदैन निर्माण क्षेत्र– चित्रकार, अध्यक्ष, इँटा उत्पादक महासंघ

गौचन हत्याको भत्र्सना गर्दै नेपाल इँटा उत्पादक व्यवसायी महासंघका अध्यक्ष महेन्द्र बहादुर चित्राकारले निर्माण क्षेत्र लेनदेनको बार्गेनिङ गर्ने थलोका रुपमा विकास हुनु दुखद रहेको बताए ।

निर्माण सञ्चारसँग बोल्दै अध्यक्ष चित्राकारले भने, ‘स्वच्छ र स्वतन्त्र रुपले निर्माण व्यवसाय गर्न नपाइने अवस्था किन बन्दै गइरहेको छ ?

महासंघ सहित निजी क्षेत्रले यसलाई गम्भीर रुपमा लिनु पर्छ र संयुक्त आन्दोलन गरेर व्यावसायिक हितहरुको रक्षा गर्नै पर्छ ।’

लोकतन्त्र आए पनि निर्माण क्षेत्रमा पछिल्ला दिनमा गुण्डाराज हाबी भएको भन्दै सरकार समक्ष सुरक्षाको ग्यारेन्टी गर्न इँटा उत्पादक व्यवसायी संघको माग रहेको बताए ।

चन्दा आतंककै अर्काे रुप हो गौचनको मृत्यु, तेज राई, अध्यक्ष अल्फान यसै बिच गौचन हत्याको भत्र्सना गर्दै नेपाल आल्मुनियम व्यवसायी संघले चन्दा आतंक नरोकेसम्म निर्माण क्षेत्र सुरक्षित नहुने बताएका छन् ।

बर्बर र अमानवीय घटनाको भत्र्सना गरेको संघले आफूहरुले पनि आफ्नो औकता भन्दा आँट्नै नसक्ने चन्दा आतंकको सिकार हुनु परेको दुखेसो समेत गरेका छन् ।

सरकारले पर्वहरुमा सुरक्षा दिन विशेष योजना बनाएको भनिएको कथित योजना उदांगो भएको समेत आलोचना गरे ।

देशको शान्ति सुरक्षा कायम गर्न वर्तमान सरकार असफल रहेको पनि उनको भनाइ छ । दोषी माथि कारबाहीको माग गर्दै अल्फानले गौतम हत्या भित्र निर्माण क्षेत्रमा हुने गरेको चन्दा आतंक नै प्रमुख दोषी रहेको जिकिर गरेका छन् ।

घटना घटेकै दिन नयाँ बानेश्वर स्थित विरोध कार्यक्रममा सहभागी अल्फानका महासचिव होम डाँगीले निर्माण व्यवसायी महासंघका विरोध कार्यक्रममा अल्फानको समेत ऐक्यबद्धता रहेको बताए ।

व्यवसायी मित्रहरु एक होऔं, आतंकको विरोध गरौं– उत्तम बिस्ट

नेपालको निजी तथा औद्योगिक क्षेत्रमा पहिलेदेखि नै सुरक्षा थ्रेट रहेको तर सरकारी निकाय पहिलेदेखि नै गम्भीर नदेखिएको काठमाडौं हेभी इक्वीप्मेन्ट व्यवसायी संघका अध्यक्ष उत्तम बिस्टको भनाइ छ ।

नले सम्पूर्ण निजी क्षेत्र तथा निर्माण जगत् एक भएर आतंककारी गतिविधि विरुद्ध निरन्तर लाग्नु पर्ने तर्क समेत राखेका छन् ।

उनले भने, ‘देशको विकासको मेरुदण्ड हो निर्माण उद्योग तर यसलाई लैनो गाई सम्झनेहरुकै पापी र लोभी प्रवृत्तिले गर्दा यो क्षेत्रमा दिनानुदिन चुनौती छ ।

अबका दिनमा त झन् सुरक्षा चुनौती झनै चुलिदै गएको ज्वलन्त उदाहरण बन्यो यो घटना । हामी सबै व्यवसायीहरु एकजुट भएर सामना नगरे यसबाट कसैले पनि मुक्ति पाउला जस्तो लाग्दैन ।’

व्यक्तिको बाँच्न पाउने हक समेत हनन हुँदा सरकार कहाँ गयो ? देवकोटा, अध्यक्ष, माइक्रो हाइड्रो

गौचन हत्याको विरोधमा माइक्रो हाइड्रो डेभ्लप्मेन्ट एसोसिएसनले समेत विरोध गरेको छ ।

संविधानमा अधिकार लेख्ने तर कार्यान्वयनमा ध्यानै नदिने सरकारी रबैयाले नै अपराधीहरुलाई यस्तो गतिविधि गर्ने अवसर दिएको अध्यक्ष, कृष्णप्रसाद देवकोटाको भनाइ छ ।

देवकोटाले भने, ‘के यो देशमा उद्यमीहरु बाँच्न नपाउने हो ? व्यक्तिको बाँच्न पाउने हक समेत हनन हुँदा सरकार कहाँ गयो ?’

उनले उक्त् घटनालाई नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षको हत्याका रुपमा मात्र नभई निजी क्षेत्रमाथिको ठाडो आक्रमणको संज्ञा दिएका छन् ।

उक्त घटनाको भत्र्सना गर्दै नेपाल माइक्रो हाइड्रो डेभ्लप्मेन्ट एसोसिएसनले सरकार समक्ष दोषीलाई कडा भन्दा कडा कारबाहीको माग गरेको बताए ।

कसको संलग्नता हो, पहिचान गरी तुरुन्त कारवाही होस्– कामेश्वर सिंह, अध्यक्ष, डिन

गौचन हत्यामा संलग्नलाई पहिचान गरी तुरुन्त कारवाही गर्न डिप्लोमा इन्जिनियर एसोसिएसन अफ नेपालले माग गरेको छ ।

घटना घटेको ३ दिनसम्म प्रहरीले कुनै तथ्य बाहिर ल्याउन नसक्नुले नेपाल सरकारको सुरक्षा व्यवस्था माथि पनि प्रश्न उठेको भन्दै एसोसिएसनका अध्यक्ष कामेश्वर सिंहले दोषीलाई कानुनको कठघरमा ल्याउन सम्बन्धित पक्षसँग आपिल गरेका छन् ।

उनले भने, ‘नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या अत्यन्त निन्दनीय छ । अविलम्ब अपराधी पहिचान गरी कडा कारबाही होस् भन्ने सरकार र गृह प्रशासनसँग हाम्रो माग छ ।

देशको शान्ति सुरक्षाको स्थिति हेर्दा स्वतन्त्रतापूर्वक बाँची र व्यवसाय गरेर पनि खान नदिने अवस्था जन्मियो । यो गम्भीर अवस्था हो ।’

विभिन्न निजी संस्थाका विज्ञप्तिहरु–

 

 

 

 

...

बुधबार, २५ असोज २०७४

 

प्रतिक्रिया

Related