गौचन हत्या विरुद्ध आन्दोलन सशक्त पार्दै महासंघ– हत्यारा नसमाते निर्माण कार्य ठप्प पार्ने चेतावनी

गृहमन्त्रीलाई ज्ञापन दिने, आजै माइतीघर मण्डला, थापाथली र कोठेश्वरमा एक घण्टा धर्ना
निर्माण सञ्चार, काठमाडौं । आफ्नो अध्यक्षको हत्या भएको तेस्रो दिन भइसक्ता पनि सरकार तथा गृह प्रशासनले कानमा तेल हालेको भन्दै निर्माण व्यवसायी महासंघले चेतावनी दिएको छ ।

आन्दोलनका कार्यक्रमहरु थप सशक्त पार्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) ले हत्यारा नपक्रने हो भने देशैभरका सम्पूर्ण निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएको हो ।

अध्यक्ष गौचनको यही असोज २३ गते अपराह्न साँढे २ बजेतिर शान्ति नगर प्रयाग मार्ग, काठमाडौंमा मुखमा मास्क लगाएका अपिरिचित दुई व्यक्तिले गोली हानी हत्या गरेका थिए

आफ्नै निवास भन्दा करिब ५५ मिटर पर गाडीमा इँटा प्रहार गरे लगत्तै ३ गोली हानेर फरार भएका अभियुक्तबारे अझैसम्म पनि कुनै तथ्य सार्वजनिक नहुँदा महासंघ रिसिएको महासचिव रामशरण देउजाले बताए ।

देशमा कर्पाेरेट सेक्युरिटी नभएको भन्दै सरकार र गृह प्रशासनले कतै गुन्डागर्दीको मलजल त गरेको छैन भन्ने आशंकालाई बल पुग्न लागेको महासंघका अधिकारीहरु बताउँछन् ।

आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक, आजै गृहमन्त्रीलाई ज्ञापन दिने

त्यस्तै, आन्दोलनका कार्यक्रमहरु नै फितलो भएको भन्दै उपत्याका निर्माण व्यवसायी संघ तथा युवा निर्माण व्यवसायीहरुका चरम आक्रोश पछि आन्दोलनलाई कडा रुप दिएको महासंघले बुधबार गृह मन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र दिने निर्णय गरेको छ ।

त्यस्तै बुधबार विहान ९ बजेदेखि १० बजेसम्म माइतीघर मण्डलामा धर्ना तथा प्लेकार्ड प्रदर्शन गरेको छ ।

अध्यक्ष शरदकुमार गौचनको हत्याको विरोधमा महासंघले आफ्नो विरोध कार्यक्रम अन्तर्गत बिहीबार राजधानीको माइतीघर मण्डला, थापाथली पुल, कोटेश्वर चोकमा एक घण्टा धर्ना दिने भएको छ ।

हत्यारालाई पक्राउ नगरे निर्माण कार्य ठप्प पार्ने चेतावनी

यसै बिच महासचिव देउजाले अध्यक्ष गौचनका हत्यारालाई सरकारले तत्काल पक्राउ गरी सार्वजनिक नगरे मुलुकभर विकास निर्माणका काम बन्द गर्ने चेतावनी दिएका छन् ।

महासचिव देउजाले बुधबार साँझसम्म हत्यारालाई पक्राउ गर्न सरकारलाई समय दिएको बताए । उनले हत्यामा संलग्नलाई पक्राउ नगरिएसम्म त्रिवि शिक्षण अस्पतालमा राखिएको गौचनको शव पनि नबुझने बताए ।

धम्की जारी छ, सुरक्षा देऊ सरकार !

हत्या लगत्तै तारन्तार ‘अन्नन् आइडी’बाट फोन गर्ने, फिरौती माग्ने र धम्क्याउने काम जारी रहेको भन्दै महासचिव देउजाले निर्माण व्यवसायी र पदाधिकारीहरुको सुरक्षाका लागि सरकारसँग अपिल गरेका छन् ।

यसै बिच मंगलबार विहान महाराजगन्ज शिक्षण अस्पताल परिसरमा महासंघ सहित गौचनका आफन्त, शुभचिन्तक तथा शेरचना र थकाली समाजले ब्यानर सहित हत्यारा पक्राउ गर्न दबाब जुलुस निकालेका थिए ।

निजी क्षेत्रबाट भत्र्सना जारी

यसैबीच नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनका हत्यारालाई जतिसक्दो छिटो पक्राउ गर्न सरकारसँग माग गरेकी छिन् ।

‘सरकारले तत्काल हत्यारालाई पक्राउ गरी कारबाही गर्ने र व्यवसायीलाई गरिखाने वातावरण तयार गर्नुपर्छ,’ निर्माण सञ्चारसँग बोलदै अध्यक्ष राणाले भनिन्, ‘महासंघलगायत सम्पूर्ण निजी क्षेत्र हत्याको विरोधमा एकबद्ध छ ।’

राणाले सरकारी अधिकारीले चुस्त सुरक्षा प्रबन्ध मिलाएको दाबी गरेको राजधानी सहरमा दिनदहाडै एउटा व्यवसायीको हत्या हुनुबाट भनाइ र गराइमा मेल नखाएको बताइन ।

निजी क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाले पनि निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या घटनाको विरोध गरेका छन् ।

नेपाल इन्जिनियर्स एसोसिएसन, स्काफ, हेभिइक्विप्मेन्ट व्यवसायी महासंघ, एफएनसिएसआई, डिन, ग्रिल तथा स्टिल्स व्यवसायी महासंघ, अल्फान, इँटा व्यवसायी महासंघ, माइक्रो हाइड्रो डिभालप्मेन्ट एसोसिएसनबाट वक्तव्य सहित हत्याको विरोध गरेका छन् ।

उनीहरूले हत्यारालाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

यसै बिच नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले पनि विज्ञप्तिमार्फत निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या घटनाको विरोध गरेको छ ।

एसोसियसनले गौतमको हत्या सिंगो निजी क्षेत्रमाथिको सांघातिक हमला भएको ठहर गरेको छ ।

‘मुलुकमा विस्तारै बन्दै गएको लगानीको वातावरणमा समेत यो घटनाले असर पुर्याएको छ । र व्यवसायीहरू पनि असुरक्षित भएका छन्,’ विज्ञप्तिमा उल्लेख छ ।

एसोसिएसनले पनि हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले पनि हत्याको विरोध गर्दै यस्ता घटनाले निजी क्षेत्रका उद्यमी व्यवसायी भयभित हुनपुगेको जनाएको छ ।

यस किसिमको दुःखद घटना दोहोरिन नदिन एवं हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न महासंघले माग गरेको छ ।

प्रधानमन्त्री भेट, सहिद घोषणा गर्न माग

महासंघले आफ्नो आन्दोलन अघि बढाउँदै अध्यक्ष गौचनलाई सहिद घोषणा गर्न माग गरेको छ ।

यसै बिच महासंघ पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर गौचनलाई सहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीलाई सुरक्षा प्रत्याभूति दिन माग गरेका छन् ।

भेटमा प्रधानमन्त्री देउवाले निर्माण व्यवसायीलाई सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन आग्रह गरेको जानकारी महासचिव देउजाले बताए ।

एफक्यान पदाधिकारी मिटिङ पछि बोल्दै कार्यवाहक अध्यक्ष विष्णु भाई श्रेष्ठले देशै भरका निर्माण व्यवसायीहरुले आ–आफ्नो ठाउँबाट जति सकेको आन्दोलन गर्न समेत अपिल गरेका छन् ।

यसै अन्तर्गत मंगलबार राजधानी काठमाडौंमा नारा जुलुस सहित महासंघले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ भने देशैभरका विभिन्न जिल्लाका जिल्ला संघहरुले पनि जिल्ला प्रशासन समक्षा ज्ञापन पत्र बुझाएको जानकारी प्राप्त भएका छन् ।

 

...

बुधबार, २५ असोज २०७४

 

प्रतिक्रिया

Related