भूकम्पबाट क्षतिग्रस्त चाँगुनारायण मन्दिरको जिर्णोद्वार सम्पन्न

‘विश्वसम्पदा सूचीमा सूचीकृत यस मन्दिरको जिर्णोद्वारको काम डेढ वर्ष अघिबाट सुरु’
निर्माण सञ्चार, काठमाडौं | ०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त भएको भक्तपुरस्थित चाँगुनारायण मन्दिरको जिर्णोद्वार सकिएको छ ।

विश्वसम्पदा सूचीमा सूचीकृत यो मन्दिरको जिर्णोद्वारको काम डेढ वर्ष अघिबाट सुरु भएको थियो ।

पुरातत्व विभागका इञ्जिनियर सम्पत घिमिरेका अनुसार मन्दिरको जिर्णोद्वार सकेर मन्दिरलाई पुरानै अवस्थामा फर्काइएको छ ।

यस मन्दिरको पुननिर्माणको काम पुरातत्व विभाग अन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले गरेको हो ।

मन्दिरको जिर्णोद्वारका लागि कुल ९४ लाख ६५ हजार ८४८ मा ठेक्का दिइएको थियो ।

महाभूकम्पपछि तयार पारिएको प्रतिवेदनमा मन्दिरको माथिल्लो एक भागको मुठल ८ इञ्च ढल्केको उल्लेख गरिएको थियो ।

त्यसैगरी, माथिल्लो भागकै गारो ३ इन्चसम्म बाहिरिएको थियो । इञ्जिनियर घिमिरेले मन्दिरलाई नभत्काई रेट्रोफिट गरी जिर्णोद्वार गरिएको बताए ।

उनले भने, ‘अब मन्दिरको पुरै काम सकियो, मन्दिरलाई रेट्रोफिट गरेर पुरतात्विक अवस्थामा नै पुर्नस्थापित गरेका छौं ।’

बढी क्षतिग्रस्त भएको मन्दिरको माथिल्लो छानासम्म भत्काएर मन्दिर जिर्णोद्वार गरिएको हो । त्यस्तै, मन्दिरभित्रको प्रथम प्रदक्षीण, गर्भको प्रदक्षीणासहित तलाको भण्डारमा रहेको पुरातात्विक वस्तुहरु निकालेर जिर्णोद्वार गरिएको छ ।

विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार जिर्णोदारका समयमा अर्को घरमा भण्डारण गरिएका मन्दिरको पुरात्विक देवदेवीको मूर्ति, हातहतियार गरगहना र वस्तुहरु पुन मन्दिरमै राखिन्छ ।

स्थानीयबासीले भने यस मन्दिरको केही पुरातात्विक सामग्री हनुमानढोकामा भण्डारण गरिएको बताए ।

उक्त मन्दिर परिसरको किलेश्वर महादेव मन्दिर दातृ संस्था हेरिटेज एण्ड इन्भाइरोमेन्ट कन्जरभेजन फाउन्डेसन नेपालले पुननिर्माण गरेर विभागलाई जिम्मा लगाइसकेको छ ।

चाँगुनारायण वरपरका पुराना सम्पदाको पुननिर्माणको जिम्मा विभिन्न विदेशी दातृ निकायलाई दिने तयारी भएतापनि निर्णय हुन भने बाँकी रहेको महानिर्देशक दाहलले जानकारी दिए ।

उक्त मन्दिर परिसरमा चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर, शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर लगायत पुननिर्माण गर्नुपर्ने अवस्थामा छन् ।

पछिल्लो समयमा पुरतात्विक सम्पदाको पुननिर्माणले थप गति लिएको विभागले दावि गर्यो ।

तर, महत्वपूर्ण सम्पादाका रुपमा रहेका काष्ठमण्डप, रानीपोखरी, धरहरा लगायतको जिम्मा लिएका काठमाडौं महानगर लगायतले भने निर्माणकार्यमा वेवास्ता गरेको देखिन्छ ।

....

बुधबार, २५ असोज ०७४ 

प्रतिक्रिया

Related