गौचन हत्याको विरोधमा उत्रिए जिल्ला संघ– अपराधीलाई कठघरामा ल्याउन माग

वाइसिएनसीको विरोध, मोरङ, भक्तपुर, नुवाकोट, कास्की, ताप्लेजुङ, कपिलवस्तु लगायत विभिन्न जिल्लामा विरोध र्याली सहित कोण सभा
निर्माण सञ्चार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याको विरोधमा निर्माण व्यवसायी महासंघ अन्तर्गत रहेका विभिन्न जिल्ला संघ तथा अन्य विभिन्न निर्माण सम्बद्ध संस्थाहरुले विरोध जनाएका छन् ।

राज्य आतंक नै सिर्जना गर्ने आपराधिक योजना सहित गरिएको हत्यामा सरकारले तिन दिन बितिसक्दा पनि सरकारले अपराधीलाई पक्राउ नगरेको र कुनै पनि ठोस तथ्या दिन नसकेको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गत रहेका विभिन्न जिल्ला संघहरुले विरोध गरेका हुन् ।

महासंघले जारी गरेको शोक तथा विरोध कार्यक्रम अन्तर्गत रही मोरङ निर्माण व्यवसायी संघको आयोजनामा बुधबार दिउसो विरोध र्याली सहित कोण सभा सम्पन्न भएको थियो ।

महासंघका पूर्व उपाध्यक्ष केशव प्रसाद गौतम र बरिष्ठ सल्लाहकार अशोक मिश्रको अगुवाइमा महासंघका केन्द्रीय व्यवसायी, विभिन्न तहमा रही भूमिका खेलेका निर्माण व्यवसायी, स्थानीय व्यवसायी र बुद्धिजीवी सहितको विरोध जुलुस निकालिएको मोरङबाट निर्माण व्यवसायीहरुले जानकारी दिए ।

पढौं यो पनि– 

गौचन हत्या विरुद्ध आन्दोलन सशक्त पार्दै महासंघ– हत्यारा नसमाते निर्माण कार्य ठप्प पार्ने चेतावनी

‘शान्ति सुरक्षा कायम गर, गुण्डाहरुलाई राजनैतिक संरक्षण दिन बन्द गर, व्यावसायिक एकता जिन्दावाद’ जस्ता नारा घन्काउदै विराटनगर बारागाछीबाट सुरु भएको विरोध जुलुसले नगर परिक्रमा गरेको थियो ।

हातमा कालो ब्यानर सहित विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेको उक्त जुलुुसले महेन्द्र चोक पुगी मेनारोड हुदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको मोरङ निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष सागर बानियाले निर्माण सञ्चारलाई बताए ।

आफ्ना मागहरु पूरा नगरिए जस्तो सुकै कदम चाल्न आफूहरु बाध्य हुनु पर्ने भन्दै व्यवसायीहरुले जिल्ला अधिकारीलाई चेतावनी समेत दिएका छन् ।

००

त्यस्तै, निर्माण इन्डस्ट्रिजलाई अपूरणीय क्षति हुने गरी भएको विभत्स हत्याले निर्माण जगत्ले ठूलो मूल्य चुकाउनु पर्ने बताउँछन् युवा निर्माण व्यवसायीहरुको संघ वाइसिएनसीका अध्यक्ष वीरेन्द्रराज पाण्डे

हत्यारालाई कुनै पनि हालतमा कानुनी कठघरामा ल्याई सर्वस्व सहित कैद गर्नु पर्ने धारणा विभिन्न निर्माण व्यवसायीले बताइरहेकै बेला औपचारिक विज्ञप्ति नै सार्वजनिक गरी वाइसिएनसीले पनि आफ्नो धारणा सार्वजनिक गरेको हो ।

निर्माण सञ्चारसँग टेलिसंवाद गर्दै अध्यक्ष पाण्डेले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा इफाप्काका उपाध्यक्ष शरद् कुमार गौचनको हत्याले निर्माण क्षेत्र स्तब्ध भएको बताए ।

निर्माण क्षेत्रमा सधैंजसो चन्दा आतंक रहिरहेको र त्यस्ता आततायीहरु कतै न कतै कुनै न कुनै रुपमा राजनीतिक संरक्षणमा रहेको हुनाले अपराधी पत्ता लगाउन पनि कठिन हुने गरेको उनले बताए ।

‘यस्ता अपराधहरु न्यूनीकरण नगर्ने हो भने नेपालको निर्माण उद्योगले कहिलै पनि उचाइ नलिने र नेपालको पूर्वाधार विकासले पनि गति लिने देखिदैन । यस्तो हत्या त निचताको पनि पाराकाष्ठा हो’, उनले भने ।

गौचनको हत्यारालाई यथाशीघ्र पक्राउ गरी सार्वजनिक गर्न वाइसिएनसीले जोडदार माग गरेको छ ।

विज्ञप्तिमा ‘नेपालको निर्माण क्षेत्रले अभिभावक गुमाएको अवस्थामा सम्पूर्ण नेपालीको समृद्धिको चाहनामा तुषारापात भएको उल्लेख छ ।

००

त्यस्तै, कैलाली निर्माण व्यवसायी संघले धनगढीमा ब्यानर र प्लेकार्ड सहित विरोध र्याली निकालेको छ । नुवाकोट निर्माण व्यवसायी संघले पनि विरोध कार्यक्रम गरेको छ ।

अध्यक्ष गौचनलाई सहिद घोषणा गर्न र अपराधीलाई तुरुन्त सार्वजनिक गर्न माग गर्दै नुवाकोट जिल्ला संघले विरोध कार्यक्रम गरेको अध्यक्ष सुमन अधिकारीले निर्माण सञ्चारलाई जानकारी गराए ।

उनले आफ्ना मागहरु पूरा नभएसम्म नुवाकोटका निर्माण व्यवसायी टेन्डर प्रक्रियामा सहभागी नहुने र जारी निर्माण कार्यहरु पनि ठप्प पार्ने बताएका छन् ।

विरोध कार्यक्रम सहित संघले हत्यारालाई छिटो पक्राउ गर्न, निर्माण क्षेत्रमा सुरक्षाको प्रत्याभूति दिन ५ बुँदे ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको उनको भनाइ छ ।

त्यसै गरी, अध्यक्ष गौचन हत्याको विरोधमा भक्तपुर निर्माण व्यवसायी संघले विज्ञप्ति सहित हत्याको विरोध गरेको छ ।

भक्तपुर निर्माण व्यवसायी संघका महासचिव विजय कुमार देउजाले निर्माण सञ्चारसँग कुराकानी गर्दै असोज २६ गते बिहान भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा र रामेछापका निर्माण व्यवसायीहरु मिलेर विरोध जुलुस निकाल्ने तयारी गरेको बताए ।

बिहान ८ः३० बजे जडिबुटीको मनोहरा पुलपारि भेला भई एक घण्टे चक्काजाम गर्ने भएका छन् ।

००

यसरी गौचन हत्याको विरोधमा निर्माण क्षेत्र सम्बद्ध संस्था युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर, हेभी इक्वीप्मेन्ट व्यवसायी संघ कास्की, निर्माण व्यवसायी संघ नुवाकोट, निर्माण व्यवसायी संघ कैलाली, निर्माण व्यवसायी संघ मोरङ, निर्माण व्यवसायी संघ भक्तपुर लगायत विभिन्न जिल्लाले प्रेस विज्ञप्ति सहित विरोध गरेका छन् ।

त्यस्तै उद्योग वाणिज्य संघ प्रदेश नं ३, उद्योग वाणिज्य संघ नुवाकोट, निर्माण व्यवसायी संघ ताप्लेजुङ, निर्माण व्यवसायी संघ कपिलवस्तु लगायत देशै भरका निर्माण व्यवसायी संघले प्रेस विज्ञप्ति सहित प्रमुख जिल्ला अधिकारी मार्फत् सरकारको ध्यानाकर्षण गराएको समाचार प्राप्त भएका छन् ।

हत्याको विरोधमा विभिन्न संस्थाहरुले निकालेका विज्ञप्तिहरु– 

 

 

...

बुधबार, २५ असोज २०७४

 

 

प्रतिक्रिया

Related