अब मुग्लिङ–नारायणगढ सडकखण्डका सबै पुल नयाँ !

हाल करिब दुई अर्ब ९० करोड सहुलियत ऋणमा दुई लेनको सडक चार लेन बनाइदैं, ६ महिनाभित्रै सम्पन्न
निर्माण सञ्चार, काठमाडौं | पटक–पटक पहिरो गइरहने हुँदा आममानिसले झन्झट बेहोरिरहनुपरेको सडकखण्ड हो, मुग्लिङ–नारायणगढ सडकखण्ड ।

यही सडकखण्डका सबै पुल अब नयाँ बनाइने भएको छ ।

६ महिनाभित्रै सडक विस्तारको काम सम्पन्न हने भएकाले सडक क्षमताअनुसार नयाँ पुल बनाउन लागिएको हो ।

हाल विश्व बैंकको करिब दुई अर्ब ९० करोड रुपियाँ सहुलियत ऋणमा दुई लेनको सडक चार लेन बनाउने काम भइरहेको छ ।

सडक विभागकाअनुसार सडक निर्माण अन्तिम चरणमा पुगेकाले छिटोभन्दा छिटो सक्ने गरी पुल निर्माण गर्न लागिएको छ । यस सडकखण्डका सबै पुल पुराना र जीर्ण हुँदा गएका छन् ।

त्यस्तै, ३५ वर्षभन्दा पुराना यी पुलहरु साँघुरा पनि छन् ।

अहिले विस्तारित अवस्थामा रहेको सडकको क्षमता नथेग्ने पुल नहुँदा नयाँ बनाउनुपर्ने आवश्यकता देखिएको सडक विभागको महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त सडकखण्डमा सानाठूला गरी १८ वटा पुल छन् ।

विश्व बैंकको सहायता र सरकारको बजेटबाट सडक विभागले नयँ पुल बनाउनेछ । यी सबै पुल बनाउनका लागि एक अर्ब रुपियाँभन्दा बढी खर्च लाग्नेछ ।

सो सडकमा रहेका १८ पुलमध्ये तीन वटा भने मर्मत गरी सञ्चालन गर्न सकिने अवस्थाका छन् ।

विभागले चारवटा पुल पहिलो चरणमा निर्माण गर्ने गरी प्रस्ताव आह्वान गरेकोमा सोमबार एउटा पुलको लागि निर्माण कम्पनी छनोट गरेको छ ।

दुईवटा प्याकेज बनाएर आह्वान गरिएको प्रस्तावअन्तर्गत एउटा पुल निर्माण गर्न सडक विभागले सोमबार सुप्रिम रौताहा निर्माण कम्पनी छनोट गरेको हो ।

सो कम्पनीले एउटा पुल १२ करोड रुपैयाँमा बनाउनेछ ।

तीनवटा पुल निर्माणका लागि भने विभागले पस्ताव आह्वान गरी बुधबार निर्माण कम्पनी छनोट गर्नेछ । १४ वटा पुलका लागि अब विभागले आवश्यक कागजात तयार पारी प्रस्ताव आह्वान गर्ने भएको छ ।

श्रेष्ठकाअनुसार यी सबै पुल प्राधिकरणले दिएको लागत र डिजाइनमा निर्माण कम्पनीले बनाउनुपर्ने सर्त राखिएको छ ।

१८ वटै पुलको डिजाइन तथा निर्माण विभागले सम्बन्धित कम्पनीले गर्ने गरी जिम्मा दिने भएको छ ।

तर, यी पुल बनाउँदा भने विभागले तोकेको सर्त र निर्माण कम्पनीलाई दिएको न्यूनतम मापदण्ड भने पूरा गर्नुपर्ने श्रेष्ठले बताए ।

उनले भने,‘पुल निर्माणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्माण कम्पनी सबैले भाग लिन पाउँछन् ।’

सडक विभागले दुई वर्षभित्र सबै पुल निर्माण गरिसक्ने गरी ग्लोबल प्रस्ताव आह्वान गरी निर्माण जिम्मा लगाउने तयारी गरेको छ ।

विस्तारित सडकको काम अपेक्षाअनुसार अगाडि बढिरहेको छ ।

दिएको समयअनुसार सडक निर्माणको काम पूरा गर्न विभागले कम्पनीलाई निर्देशन दिएको छ ।

उक्त सडकको निर्माण ६ महिनाभित्रै सकिने भएकाले पुल निर्माण धमाधम अगाडि बढाउन थालिएको विभागको भनाइ छ । यो सडक विस्तारसँगै पुल निर्माण पनि सकिनुपर्ने हो ।

तर, प्रक्रिया ढिलो गरी सुरु भएकाले पुल निर्माणमा ढिलाइ भएको विभागले जानकारी दियो । निर्माण कम्पनी छनोट भएको दुई वर्षभित्र हरेक पुल बनाइसक्ने गरी विभागले जिम्मेवारी दिन थालिएको हो ।

ठेकेदार कम्पनीले सन् २०१५ को अप्रिलको सम्झौताअनुसार डिसेम्बरभित्र सक्नुपर्ने गरी सडक बनाउन पटकपटक थप गरिएको थियो ।

तर, प्राकृतिक र मानवीय कारण देखाउँदै समय थप गर्दै निर्माण कार्य तन्काइएको ३६ किलोमिटरको उक्त सडक अझै ६ महिना पर धकेलिएको विभागले बतायो ।

....

बिहीबार, २६ असोज ०७४ 

 

प्रतिक्रिया

Related