गौचनलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान, प्रधानमन्त्रीले भने, ‘सहिद घोषणाको प्रक्रिया अघि बढ्यो’ (फोटोफिचर)

जुन कारणले गौचन हत्या भयो, त्यही सत्य बाहिर ल्याउनु नै गौचन प्रतिको सच्चा श्रद्धाञ्जली हो
 निर्माण सञ्चार, काठमाडौं |  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको अन्त्येष्टि आज साँझ पशुपति आर्यघाटमा हुने भएको छ ।

विहान १० बजेदेखि १२ बजेसम्म एफक्यानको प्रांगणमा श्रद्धाञ्जली कार्यक्रम गरिएको एफक्यानले जनाएको छ ।

श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री जनार्दन शर्मा , एफएनसीसीआइ अध्यक्ष भवानी राणा लगायत विशिष्ट व्यक्तिहरुले गौचनको शवलाई पुष्पमालाले अन्तिम विदाइ गरेका छन् । 

आफन्त तथा निर्माण क्षेत्रमा कार्यरत शुभचिन्तकले भावविह्ल हुँदै गौचनको शवको अन्तिम विदाइ गरेका हुन् । 

अहिले शव बालाजुमा रहेको थकाली समाजमा लगिदै छ । एफक्यान स्रोतकाअनुसार स्वर्गीय गौचनको शव आज अपराह्न ४ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने  छ ।

सहिद घोषणाको प्रक्रिया अघि बढ्यो
यसै बिच स्वर्गीय गौचनलाई सहिद घोषणा गर्ने महासंघको माग उपर प्रक्रिया अघि बढिसकेको प्रधानमन्त्री शेरबहादुर देउवाले जानकारी दिए ।
 
प्रधानमन्त्री देउवाले गौचनको शवमा राष्ट्रिय झण्डा ओढाएर राष्ट्रिय सम्मान अर्पण गरेका थिए ।
 
गौचनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन पुगेका प्रधानमन्त्री देउवाले महासंघ प्रतिनिधि,  गौचन पत्नी तथा परिवारजनमा यस्तो सन्देश दिएका हुन् ।
 
त्यस्तै, निवर्तमान अध्यक्ष रहेका गणेश श्रेष्ठले गौचनको पार्थिव शरीरमा निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय संस्था इफाप्काको झन्डा समेत ओढाएर सम्मान गरेका थिए ।
 
उक्त अन्तर्राष्ट्रिय कार्यसमितिमा ३ महिना अघि मात्रै गौचन इफाप्का उपाध्यक्षमा चयन भएका थिए । गौचनलाई श्रद्धाञ्जली दिन अन्तिम समयमा गृहमन्त्री जनार्दन शर्मा पनि पुगेका थिए ।
 
निर्माण व्यवसायी समेत रहेका वनमन्त्री विक्रम पाण्डे, विभिन्न राजनीतिक दलका नेताहरु, प्रतिष्ठित उद्योगी व्यापारी लगायतका सयौंले गौचनको पार्थिव शरीरमा माल्यार्पण गरेका थिए ।
 
आज साँझ ४ बजे पछि गौचनको पार्थिव शरीर पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

जुन कारणले गौचन हत्या भयो, त्यही सत्य बाहिर ल्याउनु नै गौचन प्रतिको सच्चा श्रद्धाञ्जली हो

गौचनको गत सोमबार २३ गते दिनको साँढे २ बजे अज्ञात समूहले गोली हानी हत्या गरेका थिए । उनकै निवास भन्दा ५० मिटर जति पर आफ्नो गाडीबाट महासंघ कार्यालयमा जाँदै गर्दा गाडीमा इँट्टा प्रहार गरी रोक्ने एक जना र सँगसँगै गोली हान्ने अर्काे गरी दुई हत्यारालाई अहिलेसम्म पहिचान हुन सकेको छैन ।

सरकार र गृह प्रशासनले अहिलेसम्ममा गत असोज ९ गते सोमबार निकालिएको हुलाकी राजमार्ग निर्माणको १०  अर्बको ठेक्कामा भागबन्डा नमिल्दा भाग नमिलेको पक्षले नै गुण्डा लगाई हत्या गराइएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
 
भलै गौचनको कुन कारणले हत्या गरियो भन्ने सत्य भोलिका दिनमा खुल्ने नै छ, तर ठेक्का पट्टामा जानाजना गुण्डा प्रयोग गर्ने रोगले नेपालको निर्माण व्यवसाय र ठेक्कापट्टा गर्नेहरुको आगामी दिन भने सहज हुन नसक्ने गरी नेपालको निर्माण क्षेत्रमा गुण्डाराज गोली लिएर प्रवेश गर्न सफल भएको गौचन हत्याले देखाएको छ ।
 
महासंघ नेतृत्व र निर्माण व्यवसायीले यस्तो प्रवृत्तिलाई चिर्न सक्ने वा नसक्ने भन्ने कुराले निर्माण उद्योगको भविष्य निक्र्यौल हुने छ ।
 
गौचनलाई ठेक्कापट्टा विवादमै स्वर्गवासी बनाउने निर्माण व्यवसायी पूर्व तथा वर्तमान नेतृत्वले यो रोगलाई उखलेर फाल्न सक्यो भने गौचनलाई सहिद घोषणा गर्नुको औचित्य पुष्टि हुने छ भने उनलाई सच्चा श्रद्धाञ्जली पनि हुन जाने छ ।
त्यसैमा नेपालको निर्माण उद्योगको भविष्य निहीत पनि हुने छ ।
 
जुन कारणले गौचन हत्या भयो, त्यही सत्य बाहिर ल्याउनु नै गौचन प्रतिको सच्चा श्रद्धाञ्जली हो, गौचनले छाडेको विरासतमा रहेको महासंघ नेतृत्वलाई यो चुनौती स्वर्गीय गौचनले छाडेका छन् ।
 
सक्ला त महासंघ र निर्माण व्यवसायीको भावी पुस्ताले यस हत्याको भित्री रहस्य बाहिर ल्याउन ? परीक्षा पनि यही नै हुने छ ।
 

यो पनि पढौं
नेपालको निर्माण उद्योगमाथि चुनौती, सुरक्षा देऊ सरकार

....

बिहीबार, २६ असोज ०७४

 

 

प्रतिक्रिया

Related