गौतमबुद्ध विमानस्थल यसैवर्ष बनाईसक्न समितिको निर्देशन

‘अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष’
निर्माण सञ्चार, काठमाडौं | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी काममा तीव्रता दिन व्यवस्थापिका संसदको सार्वजनिक समितिले सरकारलाई निर्देशन दिएको छ।

बिहीबार बसेको समितिको बैठकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको निष्कर्ष निकाल्दै तोकिएको मितिमा सम्पन्न हुने गरी काममा तीव्रता दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिका सभापति डोरप्रसाद उपध्यायका अनुसार सम्बन्धित मन्त्रालय, आयोजना प्रमुख र आयोजना स्थलको समेत अनुगमन गरेपछि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको काम समयमै सक्न निर्देशन दिइएको हो ।

आयोजना निर्माणका लागि आवश्यक सामग्रीहरुको सहज आपूर्ति गर्न समितिले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई पनि सचेत गराएको छ ।

त्यस्तै, निर्माणाधीन आयोजनाको जग्गाको मुआब्जा वितरणको काममा देखिएको समस्या समाधान हुनेगरी आवश्यक नीतिगत व्यवस्था गरिदिन समितिले अर्थ मन्त्रालयलाई पनि सचेत गराएको छ ।

बैठकमा आयोजना प्रमुख ओम शर्माले आयोजना निर्माणको जिम्मेवारी पाएको चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एशिएशनले कामै नगरेको भन्दै समितिलाई जानकारी गराएका थिए ।

 यस गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल यसै वर्ष सम्पन्न गरिसक्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको आयोजना हो ।

एशीयाली विकास बैंकले पनि उक्त आयोजना निर्माणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

....

बिहीबार, २६ असोज ०७४

प्रतिक्रिया

Related