अल विदा गौचन ! हत्यारा पत्ता लगाउन सके मात्र हुने छ गौचनप्रति सच्चा श्रद्धाञ्जली !

गौचनको विरासत बोक्न होला त सहज ? सक्ला त हत्यारा पत्तालगाउन महासंघ नेतृत्व ? अब कस्तो होला भविष्य महासंघको ? धेरैले प्रश्न गरिरहेका छन् यतिबेला
निर्माण सञ्चार, काठमाडौ। नेपालको निर्माण उद्योगमको मात्र नभई देशको पूर्वाधार विकासको इतिहास नै ‘स्तब्ध’ हुने गरी गोली हानेर हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको आज पशुपति आर्य घाटमा अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा छोरा संस्कारले दागबत्ती दिएको स्व गौचनका काका ओमकारले जानकारी दिएका हुन् ।

गौचनको शव बिहान १० देखि अपराह्न १ बजेसम्म महासंघको कार्यालय अनामनगर र अपराह्न २ देखि ४ बजेसम्म थकाली सेवा समाजको कार्यालय बालाजुमा श्रद्धाञ्जलिका लागि राखिएको थियो ।

स्वर्गीय गौचनको पार्थिव शरीर मध्याह्न्न थकाली सेवा समाजको कार्यालयबाट पशुपतिसम्म लैजाँदा करिब ५०० मोटरसाइकलले उनलाई पच्छ्याएको ट्राफिक प्रहरीले बतायो ।

बौद्ध धार्मिक परम्परा अनुसार उनको अन्त्येष्टि गरिएको हो ।

गत २३ गते अपराह्न साँढे २ बजेतिर आफ्नै निवासबाट करिब ५० मिटर अगाडि महासंघको कार्यालय आउँदै गर्दा ‘अज्ञात’ समूह (२ जना) द्वारा गोली हानी हत्या गरिएको थियो ।

हत्यामा विभिन्न आततायी समूहको संलग्नता रहेको भन्ने बजार हल्ला भए पनि आजसम्म दोषी पत्ता लागिसकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

स्वर्गीय गौचनलाई प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायत विभिन्न राजनीतिक दल, नेपाल उद्योग वाणिज्य महासंघदेखि विभिन्न उद्योगी व्यवसायी, निर्माण व्यवसायी, सांसद्, निजी क्षेत्रको उल्लेख्य उपस्थितिले अन्तिम श्रद्धाञ्जली दिएको थियो ।

श्रद्धाञ्जली सभा महासंघ परिसरमा बिहान १० बजेदेखि साँढे १२ बजेसम्म भएको थियो ।

श्रद्धाञ्जली सभामा आएका प्रधानमन्त्री देउवाले गौचनलाई सहिद घोषणा गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका थिए ।

त्यस्तै, गृहमन्त्री जनार्दन शर्माले पनि गौचनलाई सहिद घोषणा र व्यवसायीलाई सुरक्षा दिने प्रतिबद्ध रहेको दोहोराएका थिए ।

परिवार तथा आफन्तजनको आग्रहलाई ध्यानमा राख्दै अन्त्येष्टिका लागि तयार भएको महासंघ त्यस अघि स्वर्गीय गौचनलाई ‘सहिद’ घोषणा नगरी शव नबुझ्ने अडानमा थियो ।

आन्दोलन जारी

सरकारले गौचनलाई ‘सहिद’ घोषणा गर्ने वचन दिएसँगै विश्वस्त भएको महासंघ नेतृत्वले आफूहरुले परिवार जनको भावनालाई सम्मान र सरकारले गरेको आग्रहलाई सुनेर अन्त्येष्टिका लागि तयार भएको तर आन्दोलनका कार्यक्रम भने नछाडेको बताएको छ ।

पढौं यो पनि– 

गौचन हत्याले जन्माएका अनगिन्ती आशंका– ‘गुण्डा राज’ले गाँजेको निर्माण उद्योगको सुरक्षा दिने कस्ले ?

बिहीबार साँझ बसेको महासंघको आकस्मिक बैठकले आन्दोलनलाई निरन्तरता दिने भन्दै शुक्रबार बिहान ८ बजे महासंघ कार्यालय अनामनगरमा भेला भई प्लेकार्ड, ब्यानर सहित माइतीघर मण्डलामा पुगी कोण सभा गर्ने निर्णय गरेको छ ।

हत्यारा पत्ता लगाऊ, कानुनी कठघरामा ल्याऊ तब मात्र हुने छ सच्चा श्रद्धाञ्जली

गौचन हत्या सँगै नेपालको निर्माण उद्योगमा अनगिन्ती प्रश्न उठेका छन् । बरु उनलाई सहिद घोषणाका नाउँमा बोक्रे सम्मान दिलाउनु भन्दा अपराधीलाई समाजमा नग्याउन सकियो भने मात्रै वास्तविक अर्थमा स्वर्गीय गौचन माथिको सच्चा श्रद्धाञ्जली हुने छ ।

र, नेपालको निर्माण उद्योगमाथि हाबी हुन लागिरहेको क्यान्सरलाई पनि निस्तेज पार्न सकिन्छ । यतिबेला, सामान्यतः महासंघको भावी यात्रा, कसरी अघि बढ्ला महासंघ ?

अब कसरी अभ्यास गर्ला नेतृत्व शैली र कतातिर लैजाला नेपालको निर्माण उद्योग भन्ने प्रश्न नै अहं प्रश्न बनेका छन् ।

कुरा स्पष्ट के छ भने, हत्यारा मात्रै पत्ता लागेन र कानुनी कठघरामा ल्याइएन भने यसले आगामी दिनमा नेपालको निर्माण उद्योगलाई तहस नहस त गर्ने नै छ, त्यो भन्दा गम्भीर कुरा, नेपाली उखान जस्तै, ‘मानिस मर्यो भन्दा पनि काल पल्केको’ जस्तो खतरनाक चरित्रले संस्थागत रुप लिने छ ।

र, हरेक टेन्डर प्रक्रियामा मेलेसिया बस्नेदेखि भारत र नेपाल भित्रै रहने छोटा ‘डन’हरुकै बोलावाला भित्रिने छ । यसले अघोषित रुपमा हरेक टेन्डरमा आफ्नो ‘पूर्व बन्डा’ को संस्कृति नै सुरु गर्ने छ ।

अहिले भएका ठुला भनिएका ७–१० व्यवसायीले कतै न कतै कुनै न कुनै रुपमा प्रश्रय दिदै आएका यस्ता असामाजिक युवाहरुको जमात जसलाई हामीले नै ‘गुण्डा’ बनाएका छौं, ले– नेपालको निजी क्षेत्र र सिंगो उद्योग क्षेत्रलाई भाइरस जस्तै तहस नहस नपार्ला भन्न सकिन्न ।

महासंघ नेतृत्व र पूर्व नेतृत्वलाई यस कुराको हेक्का होला कि नहोला ? किनकि अपराधीको ‘मोरल डाउन’ गराउन नसक्ता न महासंघ निर्माण उद्योगीहरुको महासंघ रहने छ, न महासंघले नेपालको निर्माण उद्योगको वास्तविक ‘स्प्रिट’ नै बोक्ने छ ।

खुलेआम ठेक्कापट्टा कब्जा गर्न अब यस्तै हतियारधारी ‘गुण्डा’हरु नै उपस्थित हुने छन् र राज्यको विकास बजेट लुटेर खाने दिन सुरु हुने छन् ।

त्यस्तै, महासंघमा गौचनले छाडेको विरासत बोक्न अब त्यति सहज देखिन्न । विधि प्रक्रियाले महासंघ नेतृत्व चयन भएको र यस्तो घटना नै नभएको भए, अवस्था फरक थियो ।

तर, उनको हत्या भित्र लुकेका रहस्यहरु भोलिका दिनमा सतहमा बोलवाला हुँदै जाने निश्चित छ ।

भलै गौचन स्वयम्मा– संस्थागत रुपले चल्ने, नेतृत्वका साथीहरु सित आफ्ना समस्या सञ्चार गर्ने, सामूहित रुपले चल्नु पर्ने ठाउँमा एक्ला–एक्लै हिड्ने जस्ता कमजोरी थिए ।

याबत् कमजोरीले संस्थागत रुपमा फस्टाउन नसकेको निर्माण व्यवसायीहरुको महासंघ आगामी दिनमा धनीहरुको महासंघ र स–साना व्यवसायी अर्थात् गरिबहरुको महासंघ नबन्ला भन्न पनि सकिन्न ।

श्रद्धाञ्जली सभामा आएका विभिन्न पक्षहरु आजसम्म हत्याराबारे कुनै ‘क्लु’ सम्म सरकारले पत्ता नलगाएको भनेपछि सत्य तथ्य पत्ता लाग्ने कुरामा शंका गरिरहेका थिए ।

सत्य तितो के नहोस् भने, यदि हत्यारालाई ठेक्का पट्टा लिनदिनमै कसै न कसैले प्रत्यक्ष वा अप्रत्यक्ष रुपले मलजल गरेको भए, त्यो भन्दा दुखद सत्य त दुनियाँमा अर्काे कुनै हुने छैन ।

सोचौं, जो हुन्छ भला नै हुने छ ! जय निर्माण उद्योग !!

श्रद्धाञ्जलीदेखि अन्त्येष्टिसम्म (फोटो फिचर) 

 

 

 

...

बिहीबार, २६ असोज २०७४

 

प्रतिक्रिया

Related