सोलार प्यानलबाट उत्पादित बिजुली खरिद सुरु, सौर्यऊर्जाको सदुपयोग

‘युनिटको नौ रुपैयाँ ६१ पैसा, मुलुकभरबाट सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा खरिद गर्न सकिने’
निर्माण सञ्चार, काठमाडौं | सरकारले सोलार प्यानलबाट उत्पादित बिजुली खरिद सुरु गरेको छ ।

सर्वसाधारण, संघसंस्था लगाएत विभिन्न कार्यालयमा जडित सोलार प्यानलबाट उत्पादित बिजुली खरिद सुरु गरेको हो ।

यसअन्तर्गत नेपाल विद्युत प्राधिकरणले पहिरो चरणमा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ एसोसिएसन र टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट उत्पादित सौर्य ऊर्जालाई केन्द्रीय प्रसारण लाइनमा जोडिसकेको छ ।

त्यसको साटोमा भने प्राधिकरणले बिजुली उपलब्ध गराएको छ ।

यसैगरी अब सर्वसाधारणले घरमा राखेका सोलार प्यानलबाट उत्पादित ऊर्जा खरिद थाल्नेछ । उक्त सुविधाका लागि सर्वसाधारणले पाँच सय वाटभन्दा बढीको प्यानल जडान गर्नुपर्नेछ ।

सो भन्दा सानो क्षमताका प्यानलबाट उत्पादित बिजुली जोड्दा लागत महँगो पर्ने वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बताउँछ ।

तर, पाँच सय वाटभन्दा ठूलो क्षमताका प्यानल जडान गर्ने व्यक्ति, निकाय र व्यावसायिक र्फम शहरी क्षेत्रमा प्रशस्तै रहेका छन् ।

प्राधिकरणले भने सो कामबाट ऊर्जा संकट निवारणमा सहयोग पुग्ने र खेर गइरहेको सौर्य ऊर्जाको सदुपयोग हुने अपेक्षा राखेको छ । त्यस्तै, विभिन्न संघसंस्था र निकायमा उत्पादन भएर पनि खेर गइरहेको सौर्य ऊर्जा खरिद गरेर राष्ट्रिय प्रसारणमा जोड्न प्राधिकरणले ‘नेट मिटरिङ’ लागू गरेको छ ।

तत्काल दुई मेगावाट राष्ट्रिय प्रसारणमा जोड्न सकिने केन्द्रको अध्ययनमा देखिएको छ ।

 ऊर्जा विक्रि कसरी ?

सौर्य ऊर्जा उत्पादन गर्ने व्यक्ति र निकाय प्राधिकरणको ग्राहक भएमा आफूले उपभोग गर्ने बिजुलीको १० प्रतिशत शुल्क मात्र तिरे हुन्छ ।

उत्पादकले छुट्टै रकम भने पाउँदैनन् । केन्द्रले आफ्नै कार्यालय परिसरमा उत्पादन हुने ४० किलोवाट बिजुली पनि राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ ।

यता त्रिभुवन विश्वविद्यालय, राष्ट्रपति कार्यालय, शिक्षण अस्पताल, धुलिखेल अस्पताल, नेपाल विद्युत प्राधिकरण, माइती नेपाललगायत कार्यालयमा राखिएका सौर्य प्लान्टबाट पनि ‘ग्रिड कनेक्सन’ गर्न सकिने देखिएको केन्द्रले जानकारी दियो ।

केन्द्रको अध्ययनअनुसार उपत्यकाबाहिर पनि धेरै स्थानमा साना प्लान्टहरु रहेकाले त्यसलाई प्रसारण लाइनमा जोड्नुपर्ने निश्कर्ष निस्किएको छ ।

यसका लागि भने सम्बन्धित कार्यालय र संघसंस्थाले प्राधिकरणसँग सम्झौता गर्नुपर्ने केन्द्रका सोलार महाशाखा प्रमुख चैतन्य चौधरिले बताए ।

घरका छत र खाली जग्गामा सोलार प्यानल राखेर सर्वसाधारणले बिजुली उत्पादन गर्न सक्नेछन् । त्यसलाई प्राधिकरणले युनिटको नौ रुपैयाँ ६१ पैसा मा खरिद गर्नेछ ।

प्राधिकरणसँग बिजुली सट्टापट्टाको अवसर पनि सौर्य ऊर्जा उत्पादकले मात्रै पाउने छन् ।

सरकारले ऊर्जा संकटकाल घोषणाका क्रममा पाँच सय वाटभन्दा बढीको सौर्य ऊर्जा राष्ट्रिय प्रसारणमा जोड्ने घोषणा गरेको थियो ।

बढी मात्रामा बिजुली खपत हुने ठूला औद्योगिक, व्यापारिक र अन्य प्रतिष्ठानमा ब्याकअपका रुपमा सोलार राख्न र त्यसबाट बढी हुने बिजुली किन्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारले उक्त योजना ल्याएको हो ।

उक्त योजनाबाट घरमै सोलार राखेर आम्दानी गर्ने बाटो खुलेको छ । डिजेल खर्चेर जेनेरेटर चलाउनुभन्दा सोलार प्यानल सस्तो हुने भएपछि पछिल्ला दिनमा उद्योगहरुमा ठूला प्लान्ट राख्ने क्रम बढेको छ ।

भारतको नाकाबन्दीपछि शहरी क्षेत्रमा विभिन्न व्यावसायिक र्फमले पाँच सय वाटभन्दा माथिका तीन सयभन्दा बढी प्लान्ट जोडेको अधिकारीहरुको भनाइ छ ।

मुलुकभरबाट सय मेगावाटभन्दा बढी सौर्य ऊर्जा खरिद गर्न सकिने अध्ययनले देखाएको छ ।

मूल्यप्रति व्यवसायी असन्तुष्टी

सरकारले निर्धारण गरेको प्रतियुनिट नौ रुपैयाँ ६१ पैसामा भने व्यवसायी असन्तुष्ट देखिएका छन् ।

उनीहरुले लागतअनुसारको मूल्य नतोक्दा व्यावसायिक उत्पादन गर्न नसकिने तर्क दिएका छन् । यस खरिद मूल्यलाई समयसापेक्ष बनाउनुपर्ने भन्दै व्यवसायहरुले माग राखेका छन् ।

खरिद मूल्य बढाउँदा सौर्य ऊर्जाको व्यावसायिक उत्पादन एवं लगानी बढ्ने अपेक्षा ऊर्जा मन्त्रालयको । यसकारण सोही विषयमा मन्त्रालयले पुनरावलोकनको तयारी गरिरहेको छ ।

...

मंगलबार, ३१ असोज ०७४

प्रतिक्रिया

Related